नास्टले बनाएको विद्युतीय स्कुटर उद्घाटन हुँदै

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर निर्माण गरेको छ । लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा उक्त स्कुटर तयार भएको हो ।

ऊर्जामन्त्री पम्फा भुसाल, शिक्षामन्त्री देवेन्द्र पौडेललगायतले आज सो स्कुटरको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् । पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धि भइरहेका बेला नेपाली माटो सुहाउँदो नमूना स्कुटर निर्माण गरिएको नास्टका प्रविधि संकाय प्रमुख तथा इलेक्ट्रिक स्कुटर निर्माण कार्यक्रमका प्रमुख रवीन्द्र ढकालले बताए । उनका अनुसार स्कुटरमा दुई किलोवाट क्षमताको लिथियम आयन ब्याट्री जडान गरिएको छ । ब्याट्रीको क्षमता बढाउन पनि सकिन्छ । हाल तयार भएको स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटरसम्म गुड्न सक्छ । ब्याट्री र मोटरको क्षमता बढाउँदा ५० किलोमिटर भन्दा पनि बढी गुड्न सक्ने प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक ढकालले जानकारी दिए ।

एउटा नमूना स्कुटर तयार गर्न तीन लाख रुपैयाँ भन्दा बढी खर्च भएको उनको भनाइ छ । ठूलो मात्रामा उत्पादन गर्ने अवस्था आउँदा नेपालभित्रै न्यूनतम एक लाख ५० हजारदेखि दुई लाख रुपैयाँसम्ममा विद्युतीय स्कुटर बनाउन सकिने ढकालको अनुमान छ । यसैबीच, नास्टले नेपालमा नै कारखाना स्थापना गरेर काम गर्दा के–कस्तो प्राविधिक तथा आर्थिक तयारी गर्नुपर्छ भन्नेबारे लुम्बिनी प्रदेश सरकारको सहकार्यमा सम्भाव्यता अध्ययनसमेत सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार