खुमबहादुरका जासुसहरु पुलिसको आइजी बन्दै

नेपाल प्रहरीमा डिआइजी र एसएसपी बढुवा प्रक्रिया शुरु भएको छ । चुनावी आचारसंहिता लागेकाले निर्वाचन आयोगबाट एकमुष्ट अनुमति लिएर उक्त प्रक्रिया अघि बढाइएको हो । यी दुई दर्जामा बढुवा प्रयोजनको लागि सहमति लिनु नपर्ने भनेर आयोगले लेखी पठाएको छ ।

तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) मा भर्ना गरेका सबै अहिले लाइन लागेको स्रोतले बताएको छ । जासुसबाट प्रहरीतिर आउनेमध्ये सिद्धिविक्रम शाह एक नम्बरमा छन् ।

उनी रौतहटका पत्रकारलाई लागुऔषधको नक्कली कारोबारमा फसाएपछि चर्को विवादमा परेर हेडक्वार्टर तानिएका थिए । उनी अहिले पनि एक नम्बर एसएसपीमा बढुवा हुनुपर्ने भन्दै साम,दाम र दण्डभेदको नीतिमा अघि बढेका छन् । अहिले ललितपुर जिप्रकामा कार्यरत छन् ।

रौतहट काण्डमा गठित छानबिन समितिले शाहले पत्रकार फसाउन खोजेको रिपोर्ट दिएकाले उनलाई बढुवा हुन त्यति सहज नभएको अर्काथरिको बुझाइ छ । कारवाहीको सिफारिस गरिएका व्यक्तिलाई बढुवा गरिँदा नियम,कानुनको धज्जी उड्नेतर्फ ध्यान दिन सम्बन्धित अधिकारीहरुले चासो देखाएका छन् ।

दोस्रो नम्बरमा माधव श्रेष्ठ छन् । गुप्तचरबाटै क्याम्प फेरेका सुशीलसिंह राठौर तीन र उमा चतुर्वेदी चौथो नम्बरमा देखिन्छन् । डम्बर बिक,ओम राना,सुरेन्द्र गुरुङ क्रमशः पाँच,छ र सात नम्बरमा छन् । हिमालय श्रेष्ठ आठ,गणेश चन्द नौ र विमल बस्नेत १० नम्बरमा रहेका छन् ।

बिमलले पहिले अख्तियार प्रमुख दिप बस्नेतको भाइ भनेर ब्रम्हलुट गरेको बताइन्छ । उनी भ्रष्टाचार काण्डमा पाँच ग्रेड घटुवा भएका थिए । अदालतबाट हालै मात्र उक्त कारबाही बदर गर्न आदेश ल्याइएको प्रहरी स्रोतको दाबी छ । उनले घुस रकम नियमित आफ्नो खातामा जम्मा गरेका थिए । त्यत्तिको प्रमाण भएको काण्डमा पनि उनलाई अदालतबाट सफाई दिइएकोमा देखी जान्ने धेरैले अचम्म मानेका छन् ।

एक नम्बरमा रहेका डिल्ली बिष्ट कञ्चनपुरमा हुँदा निर्मला पन्त बलात्कार तथा हत्याकाण्डमा बेकार तानिएका थिए । उनीमाथि लागेको निलम्बन फुकुवा भएको छ । गणेश चन्द नेपाल प्रहरीबाट करियर विकास गर्दै गएका अफिसर हुन् । भर्ना र तालिम नेपाल प्रहरीमा गरे पनि उनलाई पछि विशेष प्रहरीमा पठाइएको थियो । बिष्ट र चन्द नेपाल प्रहरीका क्याडेट हुन् भने अरु सबै गुप्तचरबाट सरेका प्रहरी हुन् ।

२०५३ सालमा चुरोटको बट्टा च्यातेर भित्रपट्टी खुमबहादुरले भर्ना गरिदिनु भनी लेखी पठाएको आधारमा गुप्तचरमा भर्ना भएकाहरु अहिले नेपाल प्रहरीको उच्च तहमा जान लाइन लागेका छन् । सोझै प्रहरीमा जाँच दिएर छिरेकाहरु भने तीभन्दा पछाडि देखिन्छन् । अच्युतकृष्ण खरेलको पालामा जाँच दिएर फेल भएपछि चुरोटको बट्टामा नाम टिपाएर अनुसन्धानमा जागिर खाएकाहरु अहिले लिखितवालाभन्दा अगाडि पुग्नुलाई धेरैले शक्तिको लीला भनेका छन् ।

तर नेपाल देश न हो,उनीहरुले प्रहरीको लिखितमा उत्तिर्ण भएकाभन्दा पहिले जागिर खाए । यता पहिलो पटक लोकसेवा आयोगले लिएको लिखित परीक्षाउपर मुद्दा परेकाले नियुक्ति ढिलो भएको थियो भने अनुसन्धान विभागमा भर्ना भएकाले तालिम पनि गर्न परेको थिएन । प्रहरीतर्फकाले भने घाममा पसिना चुहाएर नौ महिने तालिम लिएका थिए ।

गुप्तचरबाट २०५८ सालमा सरेकाहरु नेपाल प्रहरीमा २०५४ मा लिखित परीक्षा उत्तिर्ण गरेकाहरुभन्दा वरिष्ठ बनाइँदाको परिणाम अब नेपाल प्रहरीमा देखिन थालेको त्यहाँका वरिष्ठ अधिकारीहरु बताउँछन् । त्यतिबेला खुमबहादुरको चकचकी हुँदा पावर भिडाएर अनुसन्धान विभागमा छिरे,केही वर्षपछि पावर भिडाएर प्रहरीमा सेवा परिवर्तन गराए,उनीहरुले नै जिल्लामा रजगज समेत गरेका धेरै उदाहरण भएको एक जना पीडित प्रहरी बताउँछन् ।

यिनैमध्येका ओम रानाले कास्की जिल्ला ओगटे । त्यसपछि नेपालगञ्ज र पहिले बौद्धसहित रसुवासमेत बसे । रसुवा छँदा यताबाट रक्तचन्दन पास गराउने र उताबाट सुन ल्याउनेलाई यिनैले बर्षमान पुनको नाता जोडेर दुहुनुसम्म दुहेका हुन् जबकि त्यहि काण्डमा सेनाका एक जना कर्णेलको चाहिँ जागिर गएको थियो ।

बढुवा हुनलाई एसएसपीको रिक्त सिट १२ छ । त्यसमध्ये कम्तिमा आठ जना पूर्वगुप्तचर विभागबाट आएकाहरु पर्ने निश्चित देखिन्छ । बढुवामा डिल्ली बिष्ट एक नम्बर र बाँकी दुई नम्बरदेखि ११ नम्बरसम्म गुप्तचरबाट आएकाहरु छन् । अन्तिम १२ नम्बरमा भने एक जना नेपाल प्रहरीको सेवाबाट आएका छन् ।

क्रमसंख्याको आधारमा बढुवा गर्ने हो भने बढुवा समितिको औचित्य के भन्ने प्रसंग पनि उठेको छ । कार्यसम्पादन मूल्यांकन,उसका गतिविधि केहीको पनि मूल्यांकन नहुने हो भने सबैको नाम कम्प्युटरमा राखेर अटोमेटिक सिष्टम हालिदिए बढुवा समितिको काम नै नपर्ने कतिपयको जिकिर छ ।

१२ जनाभित्र प्रधानमन्त्रीको जिल्लाका दिलिपसिंह देउवा पनि छन् । बारामा केही दिनअघि धेरै रक्सी खाएर बेहोस भएका उनै देउवा तीन दिन आइसीयुमा सुतेका थिए । नाताले उनी प्रधानमन्त्रीको भतिजो हो भनेर प्रहरी संगठनभित्र व्यापक चर्चा छ ।
-जन आस्था

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार