आईपीएल : पञ्जाबविरुद्ध दिल्लीको सहज जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले आफ्नो छैटौं खेलमा सहज जित दर्ता गरेको छ । हिजो राति मुम्बइमा सम्पन्न खेलमा दिल्लीले पञ्जाब किंग्समाथि ९ विकेटको सहज जित हात पारेको हो ।

पञ्जाबले दिएको ११६ रनको सामान्य लक्ष्य दिल्लीले १०.३ ओभरमा एक विकेट मात्र गुमाएर भेट्टाएको थियो । दिल्लीका लागि ओपनिङमा आएका पृथ्वी श र डेभिड वार्नरले आक्रामक पारी खेले । वार्नरले १० चौका र एक छक्काको मद्दतमा अविजित ६० रनको योगदान गरे भने पृथ्वी शले ७ चौका र एक छक्का प्रहार गर्दै ४१ रनमा आउट भए । पृथ्वी आउट भएपछि आएका सर्फराज खानले अविजित १२ रन बनाएपछि दिल्लीले सजिलै लक्ष्य भेट्टाएको हो । पन्जाबका राहुल चाहरले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले अलआउट हुँदै पूरै २० ओभर खेले पनि ११५ रन मात्र जोड्यो । पञ्जाबका जितेश शर्माले ३२, मायांक अग्रवालले २४, शाहरुख खान र राहुल चाहरले १२/१२ रन जोडे ।

अन्य खेलाडीले दोहोरो अंक जोड्न नसक्दा पञ्जाब सामान्य योगफलमै समेटिएको हो । दिल्लीका ललित यादव, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले २/२ र मुस्ताफिजुर रहमानले एक विकेट लिए । यो जितसँगै ६ खेल खेलेको दिल्ली तीन खेलमा जित र तीन खेलमा पराजित हुँदै अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । ७ खेल खेलिसकेको पञ्जाबले भने ४ हार र तीन जितसहित आठौँ स्थान बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार