फिल्टर नगरिएको पानी उपभोक्ताको धारामा

तुलसीपुर  । ‘सफा पानी, स्वस्थ जिन्दगानी’ यो सुनिरहने शब्द हो । यद्यपि तुलसीपुर क्षेत्रका नागरिकहरुले पिउने पानीका मुहानहरु हेर्दा यो शब्द नारामा मात्रै सीमित भएको झैं देखिन्छ । यी खानेपानीका मुहानहरु सुरक्षित नभएको उपभोक्ताहरु गुनासो गर्छन् । घुमफिरका लागि काठेखोलीको झरना पुग्नुभएकी तुलसीपुर–१ की धनी धिताल आफूले पिउने पानीको मुहान देख्दा दंग पर्नुभयो । यो झरना पर्यटकीय स्थलमात्रै होइन, तुलसीपुर–१ को तल्लो भेगका दर्जनबढी गाउँका मान्छेले पिउने पानीको मुहान पनि हो । यसको सुरक्षाको अवस्था देख्दा निकै दुःख लागेको धितालले बताउनुभयो ।

‘खानेपानीको मुहानजस्तो संवेदनशील ठाउँमा देखिएको लापरवाहीले चिन्तित छु । झरना हेर्न आउने मान्छेहरु यो खानेपानीको मुहान हो भन्ने हेक्का पाउँदैनन् । उपभोक्ता समितिले मुहान सुरक्षित गर्न सामान्य विधि पनि अपनाएको देखिदैन ।’ उहाँ भन्नुहुन्छ– ‘पातपतिंगरहरु कुहिएका, मुहान वरपर फोहोर उस्तै, त्यही पानीले मान्छेहरु हातखुट्टा धुन्छन् । तल गाउँ पुगेपछि मान्छेहरु यही पानी पिउँछन् । यो त उपभोक्ताले शुद्ध पानी पिउन पाउनुपर्ने अधिकारमाथि खेलवाड भएन र ?’

स्थानीय घनश्याम सापकोटा पनि खानेपानी उपभोक्ता समितिले मुहानको उचित संरक्षण गर्न नसकेको गुनासो गर्नुहुन्छ । ‘हामीले अनुभव गरेअनुसार अन्य मुहानको तुलनामा सबैभन्दा मीठो पानी काठेखोलीकै छ तर सबैभन्दा असुरक्षित र फोहोर पनि यही मुहान छ । यहाँ झरना हेर्न मान्छेहरु बढी आउँछन् तर मुहान सुरक्षित गरिएको छैन । त्यसकारण पनि यो मुहान फोहोर हुने गरेको छ’– उहाँ भन्नुहुन्छ– ‘नेतृत्व लिदा मात्रै मुहानसम्म पुग्ने । त्यसपछि मुहानको अवस्थाबारे वास्तै नगर्ने चलन छ । कैयौं पटक खानेपानीको कार्यालयमै पुगेर मुहानको अवस्थाबारे जानकारी गरायौं, सुनुवाइ नै भएन ।’ तुलसीपुर–१ मा रहेको चुरेघाँटी पहाडको फेदबाट निस्केको पानी करिब तीन किलोमिटर दूरी पार गरेर काठेखोलीमा आइपुग्छ । त्यसपछि यसले नयाँ नाम पाउँछ, काठेखोली झरना । यो तुलसीपुर क्षेत्रका पर्यटकीय स्थलमध्ये एक हो । सँगै खानेपानीको मुहान पनि । झरनाबाट बगेको पानीसहित अन्य दुई मुहानबाट आएको पानी देवीस्थानमारिजर्व गरिन्छ र पवननगर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमार्फत त्यस क्षेत्रका १३ सयबढी धारामा पु¥याइएको छ ।

केही समय नेतृत्वका कारण विवादमा रहेको पवननगर खानेपानीले गत चैत ६ गते सर्वदलीय नयाँ नेतृत्व पाएको छ । जिम्मेवारी पाएसँगै आफूहरु उपभोक्ताबाट आएका गुनासा समाधानतर्फ लागिपरेको समितिका सचिव सन्दीप बस्याल बताउनुहुन्छ । ‘हामीले जिम्मेवारी पाएको एक महिना भयो । कामको गति अघि बढिसकेको छ । समितिले कालापैरा, बाह्रमौजा र काठेखोली गरी तीनवटा मुहानबाट पानी ल्याएको छ । तीमध्ये दुईवटा मुहानलाई सुरक्षित गर्ने काम गरिसकेका छौं । काठेखोलीको मुहान पर्यटकीय स्थल पनि भएकोले यसको सुरक्षा गर्ने सवाल उठेको छ’– उहाँले भन्नुभयो– ‘अहिले काठेखोली क्षेत्रमा बाटो बन्दैछ । बाटो निर्माण हुँदै गर्दा यो मुहान जोखिममा पर्ने देखिएको छ । हामी बाटो निर्माण होस् र मुहान पनि जोगियोस्, भन्नेतर्फ केन्द्रित छौं । त्यसैले केही तत्कालै गर्नुपर्ने काम ओझेलमा परेका छन् । काठेखोली झरनाको पर्यटकीय अस्तित्व पनि जोगिने र मुहान पनि सुरक्षित हुने गरी तत्काल काम शुरु गर्छौंं ।’

पवननगर खानेपानीमा मात्रै होइन आठ हजार दुई सयबढी धारा वितरण गरेको तुलसीपुर खानेपानीमा पनि पानी शुद्धीकरण गरिएको छैन । तुलसीपुर खानेपानीका छवटा प्राकृतिक मुहान, नौवटा डिपबोरिङ र दुईवटा समवेल गरी १७ वटा पानीका मुहान छन् । डिप बोरिङको पानी सिधै उपभोक्ताको धारामा पठाइन्छ भने अन्य छवटा मुहानहरु संरक्षित छैनन् । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कोषाध्यक्ष सीताराम शर्मा भन्नुहुन्छ– ‘प्राकृतिक मुहानहरुबाट ल्याएको पानी रक्षाचौरमा रिजर्व हुन्छ र शुद्धीकरण गरेर पठाउँछौं । समवेलको पनि शुद्धीकरण गर्छौं । डिपबोरिङको पानी चाहिं शुद्धीकरण गर्दैनौं । जमिनको सतहबाट निकालिएको हुँदा शुद्धीकरण गर्नुपर्दैन ।’त्यस्तै बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पाँच वटा मुहान रुन्टिगढीको बगाले, रिप्ले, र गर्वखोला झाँक्रीढुंगामा छन् भने तुलसीपुर–१९ को डाँडीकाट र सुंगुरखोलामा छन् । यी मुहानहरु पनि संरक्षित नभएको तुलसीपुर–१९ बिजौरीका गोविन्द पौडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘रुन्टिगढीको रिप्ले, बगालेमा रहेका मुहान जोखिममा छ । सिमेन्ट उद्योगले चुनढुंगा निकाल्दा मुहान पुरिदै गएको छ, फोहोर पनि उस्तै छ । बर्खामा लेदोसहितको पानी आउँछ, धारामा । अन्य मुहानमा पनि संरक्षण गर्ने काम भएको देखिदैन ।’

यस्तै ३१ सयबढी धारा वितरण गरेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थासँग फिल्टर ट्यांकी छैन । खोलाको पानीसमेत मुहानको रुपमा प्रयोग गर्दै आएको समितिले फिल्टर नगरेको पानी उपभोक्ताको धारामा पठाउने गरेको तुलसीपुर–९ की पुष्पा नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पानीका मुहानहरु असुरक्षित छन् । तारबार छैन । पोहोर साल पानीको मुहानमा कुकुर मरेको भेटिएको थियो । त्यसबेला गाउँका धेरैजनालाई पखाला समेत लाग्यो । यस्तो पानी खान बाध्य छौं, हामी ।’ सहलगानीको पर्खाइमा हालसम्म फिल्टर ट्यांकी निर्माण हुन नसकेकाकारण उपभोक्ताकहाँ पानी अन्य विधिबाट शुद्धीकरण गरेर पठाउने गरेको संस्थाका अध्यक्ष चन्द्रकान्त खरेल बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘अबको केही दिनमा टेण्डर आह्वान हुँदैछ । छिटै फिल्टर ट्यांकी तयार हुन्छ ।’
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार