गठबन्धन अनुचित रहेको काँग्रेस महामन्त्रीको दाबी

कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गरेर चुनावी मैदानमा होमिन लागेका बेला नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले फरक मत राखेका छन् । नेपाल विद्यार्थी संघको स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै थापाले काँग्रेसले कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।

उनले नेपालको राजनीतिमा कम्युनिष्टहरुको द्वैध चरित्र बारम्बार देखिएकाले अहिले काँग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु नै अनुचित भएको दाबी गरेका छन् । काँग्रेससँग रहेका ३२ लाख मतदाताभन्दा माथि बढाउन नसक्ने सोचाइ राखेर अघि बढ्ने हो भने हरेक पटक नेपाली काँग्रेस कम्युनिष्टहरुसँग डराएर बस्नुपर्ने बाध्यता सिर्जना भएको थापाको ठहर छ ।

‘सबै क्षेत्रमा काँग्रेस हार्छ भन्ने सोचाइले अघि बढेमा बारम्बार कम्युनिष्ट पार्टीहरुले तर्साउँछन्,’ भन्दै थापाले भने, ‘कुनै पनि ठाउँमा तालमेल गर्ने कि नगर्ने भनेर निर्णय गर्ने हक र अधिकार महानगर र उपमहानगरको सम्बन्धमा केन्द्रीय समितिसँग भएको र बाँकी सबै ठाउँको अधिकार, जिल्ला र त्योभन्दा तलका तहलाई अधिकार दिएको स्मरण गरियोस् ।’

ढिलोचाँडो नेपालका कम्युनिष्टहरू एक हुने आकलन गर्दै महामन्त्री थापाले नेपालका सबै कम्युनिष्टहरू एकै ठाउँमा हुँदा पनि एक्लै चुनाव लड्न सक्ने काँग्रेस बनाउने आफ्नो लक्ष्य बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार