चार एआइजीपीहरू आइजीपी बन्ने प्रतिष्पर्धामा : अगाडी को ?

नेपाल प्रहरीको महानिरीक्षक पद रिक्त हुने समय नजिकिँदै गएपछि उक्त पदीय जिम्मेवारी कसले प्राप्त गर्न सक्लान् भन्ने जिज्ञाशा बढ्दै गएको छ । स्थानीय तथा संसदीय निर्वाचन यसै वर्ष २०७९ भित्र सम्पन्न हुँदैछन् र, निर्वाचनमा सूरक्षा चुनौतीको व्यवस्थापन गर्न सक्ने व्यक्तिको पहिचान गर्ने प्रयास सरकारी स्तरबाट भइरहेको बुझिएको छ । यही वैशाख १८ गते बहालवाला महानिरीक्षक शैलेश थापा तीसवर्षे सेवावधिका कारण सेवा निवृत्त हुँदैछन् । उनको निवृत्तिपछि रिक्त हुने आइजीपी पदमा चार एआइजीपीहरूमध्ये एकको चयन हुने निश्चत भए पनि कसले उक्त अवसर प्राप्त गर्न सक्लान् भन्ने अझै अनिश्चित छ ।

वि.सं. २०४९ सालमा इन्स्पेक्टरका रूपमा एकैपटक सेवा प्रवेश गरेका उत्तम सुवेदी, देवेश लोहनी, सहकुल थापा, धीरज प्रताप सिंह, रविन्द्र धानुक र विश्व पोखरेल लगायतलाई योग्यता र क्षमताका दृृष्टिले अब्बल मानिन्छ । क्षमता भएर पनि उत्तम सुवेदी र देवेश लोहनी पछिपरेका या पारिएका छन् भने रविन्द्र धानुक, धीरजप्रताप सिंह, सहकुल थापा र विश्व पोखरेल अतिरिक्त प्रहरी महानिरीक्षकको जिम्मेवारीमा तथा सुवेदी र लोहनी नायव प्रहरी महानिरिक्षकको रूपमा कार्यरत छन् । आइजीपीमा नियुक्ति हुन चार एआइजीपीमध्ये सबै योग्य मानिन्छन् । योग्यता र क्षमता भएकै कारण विश्व पोखरेललाई आइजीपीको एकल प्रतिष्पर्धी बनाउन एमाले नेता ईश्वर पोखरेलले विशेष भूमिका निर्वाह गरेका थिए । एमालेको सरकारले निरन्तरता पाएको भए विश्व पोखरेल आइजीपीको एक्ला उम्मेदवार बन्ने निश्चित थियो । तथापि अहिले पनि विश्व पोखरेल आइजीपीका सबैभन्दा बलिया दाबेदार हुन् । पूर्वसांसद् रामहरि खतिवडाको चल्यो भने पोखरेल नै आइजीपी नियुक्त हुनसक्ने छन् । वरियतामा अगाडि र सबैथरीलाई समन्वय गर्न सक्ने विशिष्ट क्षमताका भएकाले पनि विश्वराज बलिया दाबेदार बन्न सकेका हुन् ।

आइजीपीका अर्का दाबेदार रविन्द्र धानुक राम्रो कमाण्ड क्षमता भएका फिल्ड अफिसरका रूपमा चिनिन्छन् । उनको क्षमता हेरेर माओवादी नेता जनार्दन शर्माले उनलाई एआइजीपी बनाउन निर्णायक भूमिका निर्वाह गरेका थिए । अर्थमन्त्री शर्माको सुनुवाइ भयो भने धानुक नै आइजीपी बन्न सक्नेछन् ।

आइजीपीका अर्का दाबेदार छन् सहकुल थापा । सबैसँग मिल्न र समन्वय गर्न सक्ने सहकुलको क्षमताको प्रहरी सङ्गठनभन्दा बाहिरसम्म चर्चा चल्ने गर्दछ । भक्तपुर घर भएका सहकुलको क्षमताबाट प्रभावित भएर नै भक्तपुरका एमाले नेता महेश बस्नेत र भक्तपुरकै तत्कालिक गृहसचिव महेश्वर न्यौपानेले उनलाई एआइजीपी बनाउन विशेष र निर्णायक भूमिका निर्वाह गरेका थिए । केपी ओली प्रधानमन्त्री रहँदा ईश्वर पोखरेलद्वारा विश्वराज पाखरेललाई एआइजीपी नियुक्त गराउन निर्वाह गरेजस्तै महत्वपूर्ण भूमिका सहकुललाई एआइजीपी चयन गराउन महेश बस्नेतले निर्वाह गरेका थिए ।

आइजीपी पदका अर्का सशक्त दाबेदार हुन् धीरजप्रताप सिंह । अपरेशनमा अब्बल मानिने धीरजलाई समयअनुसार चल्न नखोज्ने अलिक जिद्दी प्रहरी अधिकृतका रूपमा पनि लिइन्छ । ‘घरदैलो कार्यक्रम’मा रुचि नराख्ने गरेकै कारण धीरज सिंह अलिक पछि मात्र एआइजीपीमा बढुवा भएका थिए । सिंहले सङ्गठनमा एउटा राम्रो व्यावसायिक अधिकृतको परिचय बनाएका छन् ।

यस वर्ष हुने तीन तहको निर्वाचनमा सूरक्षा व्यवस्था चुस्त तुल्याउनुपर्ने भएकोले चारैजना एआइजीपी (रविन्द्र धानुक, धीरज प्रताप सिंह, विश्वराज पोखरेल र सहकुल थापा) को ‘ट्र्याक रेकर्ड’बारे सरकारले गहिरो अध्ययन गरिरहेको बुझिएको छ । जो जहिले एआइजीपी चयन भएका भए पनि सबै एकै समयमा सेवा प्रवेश गरेकाले प्रहरी नियमावलीको धारा ४१ लाई केन्द्रमा राखेर सरकारले चारैजना अधिकृतहरूमाथि अध्ययन गरिरहेको बताइन्छ । प्रहरी नियमावलीको दफा ४१ मा ‘जेष्ठता, कार्य क्षमता, कार्यकुशलता, नेतृत्व क्षमता र आफ्नो मातहतलाई उच्च मनोबलका साथ परिचालन गर्न सक्ने सामथ्र्य भएका व्यक्तिलाई प्रहरी महानिरिक्षक नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार