काठमाडौं । एकीकृत समाजवादीको सन्दर्भमा एउटा रोचक संयोग देखिएको छ । त्यसले पनि एर्कीकृत समाजवादीको जनमतको हैसियत नराम्रैसँग खस्किने चर्चा हुन थालेको छ । प्रदेश न. १ को मुख्यमन्त्री राजेन्द्र राई एकीकृत समाजवादीका सचिव हुन् । अनि राष्ट्रिय सभा सदस्य जयन्ती राई एकीकृत समाजवादीकै उपाध्यक्ष छिन् । उनीहरुको जिल्ला भोजपुरमा भने गठबन्धन गर्दा एउटा पनि पालिका नपाउने अवस्था रहेको देखियो ।
वैशाख ६ गते मंगलवार साँझ भोजपुरका गठबन्धन दलहरुवीच सहमति जुटेको थियो, पालिका भागबण्डा गर्नेबारेमा । माओवादी र कांग्रेसले पालिका प्रमुखहरु पाउँदा एकीकृत समाजवादीले उपप्रमुखमा चित्त बुझाउनु परेको छ । भोजपुर नगरपालिका र टेम्केमैयुंम गाउँपालिकाको उपप्रमुखमा पाएको छ ।
टेम्केमैयुम गाउँपालिका भने उपाध्यक्ष जयन्ती राईको गाउँ पनि हो । यो पालिकामा एमालेबाट निर्वाचित इन्द्रावती राई एकीकृत समाजवादीतिर लागेकी छिन् । उनैलाई दोहोर्याउने गरी एकीकृत समाजवादीले उपप्रमुख पाएको हो ।
त्यसैगरी, भोजपुर नगरपालिकाकी उपमेयर मनिक राईले पनि एकीकृत समाजवादी रोजेका कारण त्यहाँ उपमेयर पाएको हो । जिल्लाका ११ वटा पालिकामा एउटा पनि एकीकृत समाजवादीले नपाउनु चाहिं आश्चार्य मानिएको छ ।
त्यसमाथि मुख्यमन्त्री र पार्टीको उपाध्यक्षकै जिल्लामा यस्तो दुरावस्था देखिएको छ । यही अवस्था खोटाङमा पनि देखिएको छ । एकीकृत समाजवादीका नेता राजन राई प्रदेश १ को मन्त्री छन् । तर खोटाङका ११ वटा पालिकामध्ये एउटा पनि एकीकृत समाजवादीले पाएको छैन ।
गठबन्धनमा भएको सहमति अनुसार उसले नपाएपछि माओवादी, एकीकृत समाजवादी र जसपावीचको उपगठबन्धन बनेपछि भने केपिलासगढी गाउँपालिकाको प्रमुख समाजवादीले पाएको छ । खोटाङमा २०७९ वैशाख ५ गते सोमवार गबठन्धन दलहरुवीच सहमति भएको हो ।