एमालेमा पनि पोखरा महानगरको मेयर काे बन्ने भन्ने गुटगत किचलाे

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धन र सहमति गर्ने दलहरुमध्ये एककीकृत समाजवादीले पाउने भएपछि बढेको किचलोले एमालेलाई फाइदा हुने बताइरहेका बेला एमालेभित्र पनि किचलो बढ्न थालेको खबर छ ।

एमालेभित्रको किचलो, वैमनश्यता र प्रतिस्पर्धाका कारण आउने चुनाव निकै रोचक हुने देखिएको छ । एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेता खगराज अधिकारीवीच बढ्दै गएको तनावले मेयरको चुनावमा प्रभावित हुने एमालेका कस्केली नेताहरु बताउन थालेका छन् ।

कास्कीको राजनीतिमा लामो समयदेखि रजगज गर्दै आएका नेता खगराज अधिकारीको समूहलाई पाखा लगाउँदै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ हावी भएपछि समस्या देखिएको हो । अहिले मेयर र उपमेयरको टिकट वितरणमा पनि त्यो समस्या देखिएको छ ।

मेयरमा आफ्नी सम्धिनी मिना गुरुङको समेत नाम सिफारिश गरेर गुरुङले आफ्नो प्रभाव देखाइरहेका छन् । एमाले नेताहरुले गरेको चर्चा अनुसार मेयर र उपमेयरमा गुरुङ र अधिकारीले भागबण्डा गरेर सहमति जुटाउन सक्छन् । तर, त्यसका लागि पहल भने भएको छैन ।

अहिले जिल्ला नेता, कार्यकर्ताहरु गुरुङलाई भेट्न गए अधिकारी पक्षले किन गएको भनेर सोधखोज गर्छन् अनि अधिकारीलाई भेट्न गए गुरुङ पक्षकाले सोधखोज गर्छन । त्यसैले धेरै कार्यकर्ताहरु अफठ्यारोमा परेका बताउने गरेका छन् ।

मुख्यमन्त्री गुरुङ बनेपछि नेता अधिकारीले असहयोग गरेको दाबी गुरुङ पक्षले गरेको छ । माओवादीसँग मिलेर अधिकारीले मुख्यमन्त्री हुँदा गुरुङलाई असहयोग गरेको भनेर अध्यक्ष केपी ओलीसम्म रिपोर्टिङ गरेका गुरुङ पक्षका नेताहरुले अहिले जसरी पनि अधिकारीलाई साइजमा राख्नुपर्ने भन्दै हिड्न थालेका छन् ।

मुख्यमन्त्री टिकाउनका लागि गुरुङले मनाङका दीपक मनांगेलाई हात लिएका थिए । अन्तिममा भड्काउने अधिकारी पक्ष भएको आरोप पनि गुरुङ पक्षका नेताहरुले बताउने गरेका छन् । त्यसैले अहिले गुरुङ पक्ष अधिकारी समूहलाई उपमेयर पनि नदिने अडानमा रहेको एमालेका नेताहरु बताउँछन् ।

हुनलाई पोखराको मेयरका लािग बलियो दाबेदार पूर्वमेयर तथा प्रदेशसभा सदस्य कृष्ण थापा हुन् । उनी अधिकारी पक्षमा भएका कारण उनले टिकट पाउने संभावना कम रहेको पनि बताइन्छ । टिकटकै लागि प्रदेशसभा सदस्य राजीव पहारी भने गुरुङ खेमामा लागेका छन् ।

एमालेका गुरुङ र अधिकारीवीच मिलाप हुन नसकेको अवस्था भने गठबन्धनमा जति विवाद भएपछि गठबन्धनकै उम्मेदवारले चुनाव जित्ने टिप्पणी एमाले कार्यकर्ताहरुले गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार