महानगरपालिकामा सहमति, स्थानीय तहमा विमति

काठमाडौं । सत्ता गठबन्धनबीच ६ वटै महानगरपालिकामा भागबण्डामा सहमति भएको छ । कांग्रेस पोखरा महानगरको दाबीबाट पछि हटेसँगै सत्ता गठबन्धनमा ६ वटै महानगरको भागबण्डा टुंगो लागेको छ ।

६ महानगरमध्ये नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको नेतृत्व गर्न पाउने भएको छ । त्यसै गरी माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगन्ज र एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व गर्न पाउने भएको छ ।

सत्ता गठबन्धनको बीचमा पाँचवटा महानगरपालिकामा सहमति जुटे पनि कांग्रेस र समाजवादीले दाबी गरेको कारण पोखरा महानगरपालिकामा कुरा मिल्न सकेको थिएन ।

पोखरा महानगरपालिका आफूले नपाए गठबन्धन नै छोड्ने एकीकृत समाजवादीको चेतावनीसँगै कांग्रेसले पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई छोडेको हो ।

महानगरपालिकाको नेतृत्वको बारेमा सत्ता गठबन्धनको बीचमा सहमति भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए । उनले भने– ‘गठबन्धनको बीचमा सहमति भएको छ, अब उपमहानगरपालिकामा पनि सिट बाँडफाँट चाँडै टुंगो लगाउँछौं ।’

केन्द्रबाट महानगरपालिकामा सिट बाँडफाँट भएपछि स्थानीय तहमा भने नेपाली कांग्रेसभित्र असन्तुष्टि चुलिँदै गएको छ । कांग्रेसभित्र नेता शेखर कोइराला, महामन्त्री गगन थापा लगायतको समूहले गठबन्धनको विपक्षमा आवाज उठाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार