एमालेका उम्मेदवार नै माओवादीमा लागे

नेकपा एमालेबाट वडाध्यक्षका प्रस्तावित उम्मेदवार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेले दोलखाको गौरीशंकर गाउँपालिकाको वडा नम्बर ३ को वडाध्यक्षको उम्मेदवार प्रस्ताव गरिएका अनिलकुमार खड्का माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

खड्कालाई नेकपा माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरुले सदरमुकाम चरिकोटमा पार्टी प्रवेश गराएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज देवी खड्का, बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्का, जिल्ला संयोजक कुलबहादुर बुढाथोकीलगायतका नेताहरुले खड्कालाई पार्टीमा स्वागत गरेका हुन् ।

माओवादी केन्द्रमा प्रवेश गर्दै एमालेका प्रस्तावित वडाध्यक्ष खड्काले केपी ओलीको दम्भ र घमण्डका कारण मुलुकमा कम्युनिष्ट आन्दोलन कमजोर बनेको आरोप लगाउँदै एमालेबाट विकास र समृद्धि सम्भव नभएको दाबी गरे ।

उनले भने, ’जनताले झण्डै दुई तिहाइ मत दिएर पाँच वर्षको लागि बनाएको सरकार ओलीका कारण तीन वर्ष नपुग्दै ढल्यो । मिठा मिठा उखान टुक्का सुनाउँदै ओलीले देशलाई ठूलो घात गरे ।’

खड्का अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट गौरीशंकर–३ को वडाध्यक्षको उम्मेदवार थिए । माओवादी केन्द्रले जितेको उक्त वडामा उनले ३ सय ४५ मतसहित दोस्रो स्थान प्राप्त गरेका थिए । एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा पनि खड्कालाई नैं उम्मेदवार बनाउने तयारी गरेको थियो ।

शालीन व्यक्तित्व र स्थानीयस्तरमा लोकप्रिय नेताको परिचय बनाएका खड्का एमाले नेता तथा पूर्वमन्त्री पार्वत गुरुङ निकट हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार