नेपाल र श्रीलंकाको अर्थतन्त्रबीच के फरक छ ? (तुलनात्मक विवरण)

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डल र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’बीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको छ ।

भेटमा सिएनआईमा आवद्ध उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्था र विदेशी मुद्राको संचितीमा परेको चापलाई कम गर्ने तथा तरलता संकटलाई माथी उठाउने बिषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रको शुरुवातमै उनले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नु तर्कसंगत नभएको बताए । नेपालको कूल ग्राहस्थ उत्पादन ३३.६५ विलियन डलर र श्रीलंकाको कूल ग्राहस्थ उत्पादन ८०.७ विलियन डलर रहेको तत्थ्य प्रस्तुत गरेका थिए ।

त्यस्तै नेपालको वास्तविक ऋण १४.५६ विलियन डलर र श्रीलंकाको ८९.५ विलियन डलर रहेको, जिडिपीमा वास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलंकाको १११.४२ प्रतिशत रहेको, कूल वैदेशिक मुद्रा सञ्चितितर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलंकाको १.९४ विलियन डलर मात्रै रहेको कार्यपत्रमा उल्लेख थियो ।

त्यस्तै अन्तर्राष्ट्रिय मूल्य श्रृङ्खलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलंकाको २५ प्रतिशत बिन्दुमा पुगेको कार्यपत्रमार्फत जानकारी दिइएको थियो ।

अर्थतन्त्रको परिदृश्य देखाउने मुख्य–मख्य सूचकाङ्कमा नेपालको अर्थतन्त्र श्रीलंकाको भन्दा धेरै मजबुत रहेको अग्रवालले बताए । सो अवसरमा सिएनआई अध्यक्ष बिष्णुकुमार अग्रवालले विदेशी मुद्राको सञ्चितिमा परेको चापबाट माथि उठ्नका लागि आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्नुपर्ने सुझाव दिए । उनले उत्पादन र आयातमा जाने कर्जाको ब्याजदर फरक–फरक बनाउन पनि सुझाव दिएका छन् ।

आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको बताउँदै उनले पूर्वाधार निर्माण र पर्यटकलाई आकर्षित गर्ने प्याकेजहरु धमाधम घोषणा गर्नुपर्ने धारणा राखे । उनले सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिन, गैरआवासिय नेपाालीलाई डलरमा खाता खोल्न आकर्षित गर्नुपर्नेलगायतका सुझाव दिएका छन् ।

अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलनै नुहने कुरा आफुले बारम्बार भन्दै आएको जानकारी दिए । ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्धा पनि बनाएका छन्’ मन्त्री शर्माले भने, ‘यथार्थमा नेपालको अर्थव्यवस्थाा श्रीलंका जस्तो होइन र हामी श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेका छौं ।’
उनले आगामी आर्थिक वर्ष ०७९–८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नजिता देखिने गरी सुधार गर्ने प्रतिवद्धतासमेत जनाए ।

नेपाल र श्रीलंकाको अर्थव्यवस्थाबारे तुलनात्मक विवरण

क्र.स. विवरण नेपालको सुचकाङ्क श्रीलंकाको सूचकाङ्क
१. जिडिपी ३३.६५ बिलियन डलर ८०.७ बिलियन डलर
२. बास्तबिक ऋण १४.५६ बिलियन डलर ८९.५ बिलियन डलर
३. कूल ऋण/जिडिपी ४३ प्रतिशत १११.४२ प्रतिशत
४. कूल बैदेशिक मुद्रा संचिती (सुन र डलर) ९.५८ अर्ब डलर १.९४ बिलियन डलर
५. मूद्रास्फीती ७.१ प्रतिशत २५ प्रतिशत

स्रोत : नेपाल उद्योग परिसंघ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार