बजारमा आकाशियो तरकारीको मूल्य

देउखुरी  । सुख्खा सिजन । हरियो तरकारी उत्पादनको हव मानिने देउखुरीमा यस वर्ष लौका, करेला, भिन्डी भर्खरै फल्न थालेका छन् तर बजारमा उपभोक्ताको माग धान्न नसक्ने अवस्था छ । भारतबाट ल्याइएको तरकारीको बजार मूल्य आकाशिएको छ । जसले गर्दा उपभोक्ता आजित छन् । ‘तरकारीको मूल्य यसरी आकाशिएको छ कि किन्न गएको व्यक्ति रित्तै हात फर्किन बाध्य भएका छन्’– लमहीका उपभोक्ता नारायणी शर्माले भन्नुभयो– ‘तरकारीको मूल्य नघट्ने हो भने त भोकभोकै बस्नुपर्ने हुनसक्छ ।’ बजारमा तरकारी मात्र होइन दैनिक उपभोग्य वस्तुको मूल्य पनि उच्च हुँदै गएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको प्रभाव सबैखाले क्षेत्रमा देखिन थालेको हो ।

बजारमा हरियो तरकारी छोइ नसक्नु छ । सबैभन्दा बढी कागतीको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ । चार सय रुपैयाँ किलो कागती पर्छ भने एक पाउ किन्न पुगेका उपभोक्ता एउटा, दुईवटा पिस किनेर फर्कनुपर्ने अवस्था छ । भारतमा कागतीको मूल्य बढ्यो । यो सिजनमा यहाँ उत्पादन छैन । उपभोक्ता हरिराम खड्का एउटा कागती १५ रुपैयाँमा किनेर फर्किनुप¥यो । ‘औषधिको रुपमा कागती खानुपर्ने अवस्था आयो । मूल्य बढेर आकाश छुन थालिसक्यो’– उपभोक्ता खड्काले भन्नुभयो– ‘अब कसरी बाँच्ने ?’

स्थानीय उत्पादनले बजार नधान्दासम्म तरकारीको मूल्य आकाशिने देखिन्छ । अहिले बजारमा भिन्डी एक सय ४० रुपैयाँ किलोसम्म बिक्री भएको छ । जुन तरकारी भारतबाट आएको हो । बजारमा करेला एक सय रुपैयाँ किलो, बोडी प्रतिकिलो एक सय ३० रुपैयाँ, सिमी एक सय ३० रुपैयाँ किलोमा बिक्री भइरहेको छ । तरकारी भारतबाट आएकाले मूल्य आकाशिएको तरकारी व्यवसायीहरुले बताएका छन् । स्थानीय उत्पादनले बजार र मूल्य दुबै नपाउने तर भारतबाट आयात गरिएको तरकारीको मूल्य भने छोइ नसक्नु छ ।

स्थानीय उत्पादन बढाउन सरकारीस्तरबाट प्रभावकारी कार्यक्रम आवश्यक पर्ने देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेलले बताउनुभयो । मूल्य आकाशिनुमा पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको असर हुन सक्ने उहाँले बताउनुभयो । ‘बजारमा तरकारीको मूल्य उच्च भएको गुनासाहरु आएका छन् । तरकारीमा भएको मूल्यबृद्धिका बारेमा अनुगमन गर्छाैं । अस्वाभाविक भएको भए सच्याउन लगाउँछौं’– उहाँले भन्नुभयो– ‘स्थानीय उत्पादन नबढाउँ दासम्म र हामी स्वदेशी उत्पादनमा आत्मनिर्भर नहुँदासम्म चरम महंगीको सामना गर्नुपर्ने अवस्था आउनसक्छ ।’

खेतीयोग्य जमिन दिनप्रतिदिन घर घडेरीका लागि खण्डिकरण भइरहेको छ । धान, गहुँ फल्ने खेतबारीमा सिमेन्टका घर ठडिएका छन् । उत्पादन घटेको छ । खेतीपातीमा संलग्न हुनुपर्ने व्यक्ति विदेश पलायन भइरहेको अवस्थामा स्थानीय उत्पादन घट्दो छ । जसले गर्दा बजारमा महंगी बढेको छ । सामान्य तरकारीसम्म भारतबाट आयात गर्नुपर्ने अवस्था छ । यस्तो समस्या समाधान गर्न किसानलाई सुविधा र प्रोत्साहन चाहिने देखिएको छ । साना किसान लक्षित कार्यक्रमले प्राथमिकता पाएको छैन । साना किसानलाई समेत कृषि उद्यम र खेतीपातीमा टिकाइ राख्न सरकारी संयन्त्रको ध्यान छैन । नेपालीको भान्सा महंगो भएको छ । खाना पकाउने ग्याँसदेखि दाल, चामल, खाने तेलसम्मको मूल्य बढेको छ ।

भान्सा महंगो हुँदा गरिब, विपन्न परिवार मारमा छन् । बजारमा भएको मूल्यबृद्धिको असर चौतर्फी छ । बजारमा भएको मूल्यबृद्धि नियन्त्रण गर्न सरकारी संयन्त्र सक्रिय हुनुपर्ने उपभोक्ता सञ्जालका केन्द्रीय उपाध्यक्ष केशवकुमार शर्माले बताउनुभयो । ‘मूल्यबृद्धि नियन्त्रण गर्न सरकार असफल देखिन्छ । महंगीले उपभोक्ताको ढाड सेकियो’– उहाँले भन्नुभयो– ‘बजारमा देखिएको मूल्यबृद्धिले चौतर्फी असर गर्न थाल्यो ।’

-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार