‘मतपत्र चपाउने’ जोशीलाई पञ्चेश्वरमा मतदान अधिकृतको जिम्मेवारी !

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी भइसके पनि सत्ताको आडमा विभिन्न स्थानमा कर्मचारी फेरबदल गर्ने उपक्रम चलिरहेको देखिन्छ । चुनावी परिणामलाई तलमाथि पार्ने उद्देश्यले गठबन्धनसत्ताको आडमा कतिपयले या आफूअनुकुलका कर्मचारीलाई स्थानान्तरण गराउने गरेका छन् । यसक्रममा बैतडीका दुई पालिकाका मतदान अधिकृत फेरबदल गरिएका छन् ।

जिल्लाको पञ्चेश्वर र डिलाशैनी गाउँपालिकामा यसअघि नियुक्त भएका मतदान अधिकृतका ठाउँमा नयाँ पठाइएका छन् । पञ्चेश्वर गाउँपालिकामा प्रेमकुमार भट्टराईलाई हटाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत धर्मानन्द जोशीलाई नियुक्त गरिएको छ । विवादस्पद छविका अधिकृत जोशीलाई अधिकृत बनाएर खटाइएको सन्दर्भ यतिबेला स्थानीय क्षेत्रमा चर्चा र चासोको विषय बनेको छ ।

जोशी तिनै व्यक्ति हुन् जो २०७० सालको संविधानसभा निर्वाचनमा दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी थिए । स्थानीय महेन्द्र नमुना माविमा मतगणनाको क्रममा कांग्रेसका उम्मेदवार पराजित हुने अवस्थाको आँकलन गरी उनले मतपत्र चपाएको आरोप एमालेले लगाएको थियो ।

त्यो बेला संविधानसभा सदस्य पदका लागि कांग्रेसबाट दिलेन्द्रप्रशाद बडू र एमालेका तर्फबाट गणेशसिंह ठगुन्ना चुनावी मैदानमा थिए । ठगुन्नाले अग्रता बनाउदै गर्दा जोशीले मतपत्र चपाएको आरोप एमालेले लगाएको थियो । जोशीले मतपत्र चपाएपछि निक्कै बेर हंगामा भएको र अर्का एक अधिकृतले मोजाभित्र मतपत्र लुकाएको फेला परेको स्मरण गर्दै त्यतिबेलाका एक प्रत्यक्षदर्शीले भने, ‘ठगुन्ना नै विजयी बनेपछि यसलाई ठूलो विषय बनाइएन ।’

कांग्रेसनिकट मानिने जोशीलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूको दबाबमा पञ्चेश्वर गाउँपालिकाको मतदान अधिकृतमा पठाइएको सुत्रको दाबी छ । पञ्चेश्वरमा २०७४ सालको स्थानीय तह चुनावमा एमालेका गोरखबहादुर चन्द अध्यक्षमा निर्वाचित भएका थिए ।

ज्ञातव्य छ, यसपालिको चुनावमा गठबन्धन भएपनि यो पालिकामा सहजै जित हासिल नहुने निष्कर्ष नेपाली कांग्रेस बैतडीले निकालेको छ । पार्टी सभापति चतुरबहादुर चन्द पनि बडूनिकट भएकाले योजनाबद्ध ढंगले भट्टराईलाई फालेर जोशीलाई निर्वाचन अधिकृत ल्याइएको एक पक्षको दाबी छ । यस मामलामा प्रमुख प्रतिपक्षी एमालेले विरोध जनाएको छ, तर कुनै सुनुवाई भएको छैन ।

यस्तै, डिलाशैनी गाउँपालिकामा लोकबहादुर लोप्चनलाई हटाएर कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कार्यरत बिष्णुदत्त भट्टलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार