प्रचण्ड र रेणु दाहाललाई हराउन विक्रम पाण्डेको साथ खोज्दै महेश बस्नेत

चितवन । नेकपा एमालेका नेता महेश बस्नेतले चितवनमा एमाले र राप्रपा सहकार्यको प्रस्ताव गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकै छोरी रेणु दाहाललाई हराउन नेता बस्नेतले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेलाई सहकार्यको प्रस्ताव गरेका हुन् ।

प्रचण्ड अहिले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य हुन् भने उनकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाकी मेयर हुन् ।

चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन भरतपुर आएका नेता बस्नेतले विमानस्थलमा पत्रकारहरुसँग प्रचण्ड र रेणुलाई हराउन पाण्डेलाई अफर दिएको जनाएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै नेता बस्नेतले रेणु र उनका बा हराउन पाण्डेलाई एमालेमा आउन वा सूर्य चिन्ह लिएर चुनाव लड्न आग्रह गरे।

भरतपुर महानगरपालिका एमालेले लिने र प्रचण्डको चुनाव क्षेत्र राप्रपालाई छाड्ने सहमति भइसकेको हो भन्ने पत्रकारको प्रश्नमा बस्नेतले त्यसबारे आफूलाई जानकारी नभएको बताए ।

उनले भने–‘त्यो तहमा वार्ता भएको मलाई जानकारी छैन। तर, मैले अघिल्लो चुनावमै विक्रम पाण्डेजीलाई एमालेमा आउनुस्, टिकट लिएर चुनाव लड्नुस् भनेको हो। त्यसरी रेणु दाहालाई र रेणुका बालाई हराउन सकिन्छ। अब रेणुको बाप्रति विक्रम पाण्डेको सहानुभूति कति छ, म जान्दिन। यदि सहानुभूति छैन र यो मुलुकमा निर्वाचित सासद भएर हिँड्ने रहर छ भने एमालेमा प्रवेश गर्ने वा एमालेको सूर्य चिन्ह लिने उहाँका लागि सबभन्दा राम्रो आधार हुन्छ।’

उनले घोषित रुपमा राजेन्द्र लिङ्देनको राप्रपासँग गठबन्धन नहुने पनि स्पष्ट पारे। उनले भने–‘एकआध ठाउँमा सहकार्य होला। गठबन्धन कति जटिल छ भन्ने सत्ता गठबन्धनबाट महसुस गरेका छौं । एमालेले गठबन्धन गर्ने भन्दा पनि चुनाव चिन्ह लिएर सहकार्य गर्न आउँछन् भने यसलाई स्वभाविक रुपमा लिन्छ। राप्रपासँग गठबन्धन होला जस्तो लाग्दैन।’

कमल थापाको राप्रपा नेपाल र परिवार दललगायत साना दलसँग भएको सहकार्यलाई गठबन्धन भन्न नमिल्ने उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार