गर्मी मौसम सुरुसँगै आगलागीका घटना बढ्न थाले

तुलसीपुर । गर्मी मौसम सुरु भएसँगै वन क्षेत्रमा आगलागीका घटनाहरू बढ्न थालेका छन् । जिल्लाका विभिन्न स्थानका राष्ट्रिय तथा सामुदायिक वनहरूमा आगलागीका घटनाहरू सुरु भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । वन क्षेत्रमा वर्षेनी हुने आगलागीका घटना हुन नदिन दाङमा लाखौँ रूपैयाँ खर्च हुँदै आए पनि आगलागीका घटना भने रोकिएको छैन ।

गर्मी मौसमसँगै हावाहुरीका बेला लाग्ने आगोले वर्षेनी सैयौँ हेक्टर वन क्षेत्र सखाप हुँदै आएको छ । यस वर्ष पनि जिल्लाका विभिन्न वन क्षेत्रमा आगलागी भइरहेको छ । दाङ जिल्लाका बस्तीहरूसँगै वन क्षेत्र पनि आगलागीको उच्च जोखिममा छन् । आगो लाग्न नदिन र लागेपछि पनि तत्कालै नियन्त्रण गर्न सरकारले लाखौँ रूपैयाँ खर्च गर्दै आएको छ । अहिले घोराही उपमहानगरपालिका केही क्षेत्रमा रहेको सामुदायिक वनमा आगलागी भइरहेको र त्यसलाई नियन्त्रमा लिने काम भइरहेको कार्यालय प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

चैत महिनामा फाटफुट मात्रामा आगालागीका घटनाहरू भए पनि बैशाख लागेपछि भने आगलागीका घटनाहरू बढेकोे श्रेष्ठले बताए । ‘अहिले म फिल्डमै छु, घोराही उपमहानगरपालिका गिठेपानी, कालिका भगवती वनलगायतका क्षेत्रमा आगलागी भएको छ’, उनले भने । त्यसलाई नियन्त्रमा लिन जिल्ला वन कार्यालय र स्थानीयको प्रयास भइरहेको उनले बताए । त्यस्तै केही दिन अघि गाधिबराह सामुदायिक वन, दुईखोलीलगायतका वनमा आगलागी भएको र त्यसलाई नियन्त्रमा लिएको उनले बताए ।

चैत महिनामा करिब २५ हेक्टर वनमा आगलागी भएको थियो । त्यस्तै देउखुरीका केही वन क्षेत्र र बाँके राष्ट्रिय निकुञ्जको दाङ खण्डमा पनि आगो लागेको छ । केही स्थानमा नियन्त्रमा आएको छ भन्ने केहीमा आउन बाँकी छ । तीव्र रूपमा हावा चलेकाले पनि आगलागी बढ्दै गएको उनले बताए । आगलागी हुँदा वन्यजन्तु मर्ने र वन मासिँदै आएको छ । आगो नियन्त्रणका लागि सचेतनामूलक तालिम, होर्डिङबोर्ड राख्ने, पर्चाहरू वितरण गर्ने र उपभोक्तालाई सचेत गराउने काम भएको उनले बताए ।

स्थानीय रेडियोहरूबाट सन्देशमूलक सूचना बजाउनुका साथै सामुदायिक वनमा कार्ययोजनाअनुसार सुकेका पातहरू र काठहरू हटाउन पनि लगाएको श्रेष्ठले बताए । अग्निरेखा निर्माणदेखि विगतका वर्षजस्तै यस वर्ष पनि विभिन्न सञ्जालहरू गठन गरेर समूह, सुरक्षाकर्मीको सहायताले आगो नियन्त्रमा लिने काम भइरहेको उनले बताए । त्यस्तै सहायक वन अधिकृतको नेतृत्वमा एउटा तुरुन्त रेसक्यूका लागि टिम बनाए पनि परिचालन गरेको श्रेष्ठको भनाइ छ । ‘आगो निणन्त्रण र थप क्षति हुन नदिन हामी लागिरहेका छौँ, हावा लागेका र लामो समयदेखि पानी नपरेकाले पनि केही समस्या भएको छ’, उनले भने ।

आजलागी हुँदा वनजंगल र जीवजन्तुको नाशसँगै गाउँहरू नै जोखिममा पार्ने आगो लगाउनेको पहिचान भने अहिलेसम्म कसैले गर्न सकेका छैनन् । वन डिभिजन र सामुदायिक वन उपभोक्ता महासंघले पनि आगो लगाउनेलाई पक्राउ गर्न नसक्दा वर्षेनी आगलागीको जोखिम बढ्दै गएको छ । आगो लगाउनमा संलग्नको पहिचान भए वन ऐन २०४९ ले क्षतिको बिगो भराउने, एक वर्ष कैद र १० हजार जरिवाना र दुवै हुनसक्ने व्यवस्था गरेको छ ।

आगलागीलाई वन अपराधका रूपमा कानुनमा उल्लेख छ तर अटेरी र सामान्य लापरबाहीले जंगल र घरहरूमा आगलागी भइरहेका छन् । यसैबीच हरेक वर्ष डढेलोका समाचार आउँछन् । कतै–कतै समुदायमा अझै पनि वनपाखामा डढेलो लगाउने चलन छ । तारन्तार लाग्ने डढेलोका दीर्घकालीन प्रभाव हुने गरेको छ ।

हजारौँ हेक्टरको वन पैदावार जल्छन् । डढेलोले वनमा भएका पशुपक्षी चराचरको पनि मृत्यु हुन्छ । डढेलोले गर्ने नोक्सानीको राम्रो अभिलेख भएमा सबैभन्दा अधिक धनमाल क्षति गर्ने प्रकोपमा आगलागी नै पर्छ । डढेलो भएको जमिनमा भूक्षय बढने समेत गरेको छ । जलाधारको जलस्रोतको सन्तुलन बिग्रन्छ, पानी मुहान मासिने गरेका छन् । वनपैदावार डढेर निस्कने धुवाँ र कार्बन ग्यासबाट जलवायु र समस्त पर्यावरणमा क्षति समेत हुने गरेको छ । वन डढेलोेबाट हुने व्यापक क्षतिबारे सरोकारवालाले यथेष्ट चासो दिएकाले पनि समस्या हुने गरेको जानकारहरू बताउँछन् ।
– गाेरक्ष दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार