देशी फिल्म देखाउन राति १ बजे नै हल खोल्ने ३ सिनेमा घर अनुसन्धानमा तानिए

काठमाडौं । चलचित्र विकास बोर्डले तीनवटा चलचित्र हललाई कारबाहीका लागि सिफारिस गरेको छ। अनुमति नलिई तोकिएको समयभन्दा बढी हल खोलेको भन्दै विकास बोर्डले कारबाहीका लागि सिफारिस गरेको हो।

चलचित्र विकास बोर्डले बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजश्व कार्यालयलाई सिफारिस गरेको हो। बोर्डका अध्यक्ष दयाराम दाहालले मध्यरातमा अनुमति नलिई शो चलाउने तीनवटा हललाई कारबाहीका लागि सिफारिस गरिएको बताए।

तीनै हलले मध्यरातमा साउथ इन्डियन चलचित्र ‘केजीएफ च्याप्टर-२’ चलाएका थिए। तोकिएको भन्दा शो थप्न चाहेको खण्डमा चलचित्र विकास बोर्डबाट पूर्वस्वीकृति लिनुपर्छ। तर, उनीहरूले अनुमति नै नलिई हल सञ्चालनमा ल्याएका हुन्।

केजीएफ च्याप्टर-२ हेर्ने दर्शकको अत्यधिक भीड भएपछि उनीहरू राति १ बजे र ३ बजेका लागि शो थप गरेका थिए।अनुमतिबिना हल सञ्चालन गरेका उनीहरूले तोकिएकोभन्दा बढी टिकट शुल्क लिएका थिए। टिकटमा शुल्कसमेत उल्लेख नभएको पाइएको छ। बोर्डले आन्तरिक राजश्व कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारवाहीका लागि सिफारिस गरिएको अध्यक्ष दाहालले बताए।

राति खोलिएको हलमा दर्शकहरू मदिरा सेवन गरेरसमेत आएका थिए। उनीहरूले मदिरा सेवन गरेर हलमा पुग्दा पनि रोक्न नसकेको, हलहरूले बिहानको शोमा छुट दिनुपर्नेमा नदिएको, सिटभन्दा बढी दर्शकलाई प्रवेश दिएकोलगायतका गुनासा बोर्डमा आएका थिए। सोही आधारमा बोर्डले कारबाही सिफारिस गरेको हो।

बक्स अफिस सञ्चालन गर्ने सम्बन्धमा कार्यविधि २०७६ ले सिनेमा हलको नियमन गर्दै आएको छ। सो कार्यविधिअनुसार बक्स अफिस सञ्चालनमा रिर्पोटिङ गरे नगरेको, बक्स अफिसको सफ्टवेयरअनुसार टिकेटिङ गरे नगरेकोलगायतका विषय बोर्ड हेर्छ।

यसका साथै अतिरिक्त टिकट बिक्री गरेको, काटिएको बिल बराबरको भ्याट रकम बोर्डमा गणना भए नभएको विषयमा भने राजश्व विभागले छानबिन गर्छ। अनुगमनको क्रममा देखिएको गल्तीका विषयमा जिल्ला प्रशासन कार्यालयले आवश्यक कारवाही अगाडि बढाउँछ। बोर्डले थप शो चलाएको विषयमा राजश्व विभागलाई र मादक पदार्थ सेवन गरी होहल्ला गरेको विषयमा अनुसन्धानका लागि जिल्ला प्रशासनलाई सिफारिस गरिएको हो।

हलले अनियमितता गरेको पुष्टि भएमा ठाउँको ठाउँको कारबाही गर्न सक्ने, सिनेमा हल बन्द गर्न सक्ने तथा पाँच लाख रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार