घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा

लमजुङ । पर्यटकीय स्मार्ट भिलेज घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको छ ।

क्होँलासोथर गाउँपालिका– ३ मा पर्ने घलेगाउँलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले शुक्रबार सुखी गाउँ घोषणा गरेका हुन् । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ ।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ग्रामीण पर्यटकीय गाउँहरूले लमजुङको घलेगाउँको सिको गर्नुपर्ने बताए । घलेगाउँको संस्कार र संस्कृतिको संरक्षणमा स्थानीयले चासो दिनुपर्ने भन्दै उनले घलेगाउँको बाजासंस्कृति संरक्षणमा आफूले दुई लाख सहयोग गर्ने प्रतिबद्धता गरे ।

गाउँमा सुशासन, पर्यटकलाई आवश्यक भौतिक सुविधाको उपलब्धता, स्थानीयमा आत्मनिर्भरता, गाउँमा प्रकृति र संस्कृतिको संरक्षणलगायतका मापदण्ड पूरा भएसँगै घलेगाउँलाई नेपालकै पहिलो ‘सुखी गाउँ’ घोषणा गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । ‘ग्रामीण पर्यटनको माध्यमबाट घलेगाउँका बासिन्दाले आफूले काम गरेर, आफ्नै श्रम–पसिना बगाएर जीविकोपार्जन गरेका छन् । पर्यटन व्यवसायबाटै स्थानीयले आत्मसन्तोषको अनुभूति गरेका छन्,’ उनले भने, ‘त्यसैले घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको हो ।’

०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थिए । ०५७ देखि १२ घरबाट घलेगाउामा होमस्टे सञ्चालन गरिएको थियो । घलेगाउँका १ सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरीएको छ ।

न्यानो आतिथ्यताका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ । गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सिधै होमस्टेका लागि पुग्ने गरेका छन् । ०५७ सालबाट होमस्टे सञ्चालनमा आएको घलेगाउँमा ४२ घरले नियमित सेवा दिइरहेका छन् ।

घलेगाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिक स्तर पनि उकासिएको छ । निकै उचाईमा हिमश्रृङ्खलाको काखमा अवस्थित घलेगाउँको झ्यालबाटै मनोरम सेताम्य हिमालको टाकुरा देखिन्छ । गाउँको वरिपरि मनमोहक दृश्यावलोकनका प्राकृतिक हरियाली पहाड, फाँट र गहिँरा खोल्साखोल्सीहरु । हरिया चियाबगान, भ्यूटावर, भेडीगोठ, उत्तरकन्या मन्दिर, पोखरी र अन्य सुन्दर प्राकृतिक छटाले मन आनन्दित हुन्छ ।

माछापुच्छ्रे अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमश्रङ्खलाको मनोरम दृश्यले मोहित त्यहाँ आगन्तुक पाहुनाहरु विहानभरी क्यामेरा, मोबाइल, आइफोनमा आफ्ना तस्वीर कैद गरेरै बिताउँछन् । गाउँ नजिकै डाडाँमा भ्यूटावर निर्माण गरिएको छ । त्यहाँबाट सूर्योदय र सुर्यास्तको राम्रो अवलोकन गर्न सकिन्छ । लमजुङको सदरमुकाम बेँशीशहरबाट मोटरमा २ घण्टामा घलेगाउँ पुग्न सकिन्छ । लमजुङको क्व्होलासोँथर गाउँपालिका ३ मा पर्ने घलेगाउँ समुद्र सतहबाट दुई हजार १ सय मिटर उचाईमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार