पर्वतमा हतियार बुझाउने एक जना मात्रै

पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले झन्डै २० दिनको समयावधि तोकेर इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको थियो । तर, सो अवधिमा एक जनाले मात्रै प्रहरीलाई हतियार बुझाएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले गएको चैत ७ गते सूचना जारी गरी चैत २५ गतेसम्ममा बुझाउन अनुरोध गरे पनि एक जनाले मात्रै हतियार बुझाएका जनाएको छ । द्वन्द्व व्यवस्थापनपछि गाउँ–गाउँमा रहेका अवैध हतियारलाई वैधानिकता दिन जिल्ला प्रशासन कार्यालयले विभिन्न प्रकृतिका ७५ थान हतियारलाई कानुनी दायरामा ल्याएर दर्ता गराए पनि अहिले एक जनाले मात्रै हतियार बुझाएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले इजाजत प्राप्त हातहतियारहरु चुनाव सम्पन्न भएपछि सम्बन्धितलाई नै फिर्ता गर्ने गरी हातहतियार धनीहरुलाई नजिकको प्रहरी इकाईमा बुझाउन अनुरोध गरिएको बताए ।

जिल्ला प्रशासन कार्यालयले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम जिल्लामा विभिन्न व्यक्तिहरुसंँग रहेका इजाजतपत्र प्राप्त हातहतियारहरु चैत २५ गतेभित्र स्थानीय प्रहरी कार्यालयहरुमा अनिवार्य रुपमा बुझाउन आग्रह गरेको थियो । तर, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार एक जनाले मात्रै हातहतियार बुझाएका छन् । हातहतियार नबुझाउने व्यक्तिहरुलाई ७ दिनको समयावधि तोकेर बुझाउन अनुरोध गर्ने तयारी गरिएको र तोकिएको मितिमा हतियार नबुझाएमा कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताए ।

पर्वतमा दर्ता गराएका ७५ थान हातहतियार मध्ये दुई जना जिल्ला बाहिरका व्यक्तिहरुले पर्वतमा हातहतियार दर्ता गराएका हुन् । हातहतियार दर्ता गराएर हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान रहे पनि जिल्ला प्रशासन कार्यालयमा नवीकरणको यथेष्ट भने तथ्यांक छैन । नवीकरण गर्दा जुनसुकै जिल्लाबाट पनि गर्न सकिने भएकाले नवीकरणको विवरण अद्यावधिक हुन नसकेको मुद्दा शाखाका कर्मचारी रामचन्द्र गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार