जिउँदै मान्छेलाई भट्टामा हालेर पोल्ने पूर्व मन्त्रीको मुद्दाको आज सुनुवाई

बलिरहेको इँट्टाभट्टामा जिउँदै मजदुरहरुलाई जलाएको अभियोगमा जिल्ला अदातल रौतहटको आदेशले पुर्पक्षका लागि थुनामा रहेका काँग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दा आज सर्वोच्च अदालतमा पेशी चढेको छ । आलमको मुद्दा सुनुवाई गर्न आज न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको ७ नम्बर इजलासको पहिलो नम्बरमै पेशीमा चढेको हो ।

जिल्ला र उच्च अदालतले नै आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेपछि अदालतको उक्त निर्णयविरुद्ध गत वर्ष असोज १२ गते सर्वोच्चमा थुनामुक्त हुनुपर्ने मागसहित निवेदन दिन पुगेका आलमको मुद्दामा आज सुनुवाई हुन लागेको हो ।

७ नम्बरको संयुक्त बेञ्चको पहिलो नम्बरमै राखेर उक्त मुद्दाको आज सुनुवाई हुँदैछ । आलममाथि १४ वर्षअघि रौतहटमा इँटाभट्टाभित्र जिउँदै मान्छे जलाएको मुद्दामा उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी तीन वटा मुद्दा एक साथ चलाइएको छ ।

२०६४ फागुन २७ गते आलमको घर नजिकै बम बनाउने क्रममा विस्फोट हुँदा आठ जना घाइते भएका थिए । घाइते सबैलाई नजिकैको इँटाभट्टामा जलाएको अभियोगमा रौतहट जिल्ला अदालतका साथै उच्च अदालतले समेत आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनको पछिल्लो मुद्दा लामो समयदेखि स्थगित हुँदै आएको थियो । यसअघि आलमको मुद्दाको पेसी कहिले हेर्न नमिल्ने र कहिले हेर्न नभ्याइनेमा पर्दै आएको थियो । ७३ नम्बरको थुनुवाबाटै उनले आफूलाई थुनामा पठाउने रौतहट जिल्ला, वीरगञ्ज उच्च अदालतको आदेश खारेजीको माग गर्दै निवेदन दर्ज गरेका हुन् ।

आलमले पहिलो संविधानसभा निर्वाचनको समयमा रौतहटको राजपुरमा भएको बम विष्फोटनमा संलग्न २० जनाभन्दा धेरैलाई इँटाभट्टामा हालेर ज्यान लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार