एमालेसँगको सम्झौतामा कमल थापाको उल्टो छाप, मिति १ बर्ष पछाडिकाे

सिङ्गै देश गणतन्त्रमय भएको बेलामा राजतन्त्र फर्काउने अभियानमा लागेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न स्थानीय चुनावमा नेकपा एमालेसँग तालमेलको सहमति गरेका छन् । पछिल्लो १५ वर्ष राजतन्त्रको मुद्दा बोकेर हिँडेका थापा माक्र्सवाद विचारधारा लिएको एमालेको सूर्य चिन्ह लिएर चुनावमा जाने निश्चित भएको छ ।

सहमतिअनुसार आउँदो चुनावमा दुवै पार्टीले एक–अर्काका उम्मेदवारलाई सघाउने छन् । राप्रपालाई भोट हाल्नेहरुले यसपटक देशभरी सूर्य चिन्हमा मतदान गर्नुपर्नेछ भने एमाले समर्थकहरुले राप्रपाका उम्मेदवारलाई भोट हाल्नुपर्नेछ ।

चुनावमा गठबन्धन र तालमेल हुने कुरालाई विश्वव्यापी रुपमै असामान्य मानिँदैन । चुनावी परिणाम अनुकूल बनाउन आधारभूत राजनीतिक एजेण्डा मिल्ने शक्तिहरुबीच गठबन्धनको अभ्यास संसारभर छ । यस हिसाबले लोकतन्त्र, गणतन्त्रको एकै डुंगामा सवार काँग्रेस, माओवादीसहितको पाँचदलीय गठबन्धन हुनु त्यति धेरै अस्वाभाविक होइन ।तर, आधारभूत रुपमै फरक विचार र आस्था बोकेका दुई दलबीचको चुनावी तालमेलको निर्णयलाई त्यति सहज मान्न नसकिने विश्लेषकहरु बताउँछन् । यस अर्थमा एमाले–राप्रपाबीच भएको सहमतिप्रति राजनीतिक वृत्तमा उठेका प्रश्न र कतिपय आलोचनालाई अन्यथा ठान्नु हुँदैन । कमल थापाले गणतन्त्र स्वीकारेको कि एमालेले गणतन्त्र त्यागेको भनेर गरिएका कटाक्षपूर्ण टिप्पणीमा ‘दम’ देखिन्छ ।

हालसालै सम्पन्न पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि पार्टी छाडेर बाहिरिएका थापाले पुरानै राप्रपा नेपाल ब्युँताएका थिए । राप्रपाको पुरानो लिगेसी राजेन्द्र लिङ्देनलाई सुम्पिएर नयाँ राजनीतिक यात्रा थालेको उनको सांगठनिक धरातल निकै कमजोर देखिन्छ ।

उनीसँग उम्मेदवार उठाउने नेता कार्यकर्ताको समेत अभाव हुने अवस्था देखिँदैछ । त्यसैले एउटा बलियो शक्तिको टेको लिएर राजनीतिमा ‘कम्ब्याक’ गर्ने उनको प्रयास जायज हो । एमालेसँग चुनावी सहकार्य गर्ने थापाको निर्णय अनपेक्षित पनि थिएन । उनले यसअघि नै भनेका थिए– यो चुनावमा हामी आफ्नो उभिने धरातल बनाउछौँ र अर्को चुनावमा बलियो शक्तिका रुपमा फेरी उदाउनेछौँ ।

तर, पाँच दलीय गठबन्धनविरुद्ध एक्लै चुनाव लड्ने सार्वजनिक घोषणा गरेको एमालेले कट्टर हिन्दुवादी पार्टीसँग तालमेल गर्ने निर्णय गर्नुका पछाडिको कारण संशयपूर्ण छ । सामान्यतयाः पार्टी एकता वा चुनावी तालमेलका दुई वटा उद्देश्यबाट प्रेरित हुन्छ । एउटा विचार, राजनीति र एजेण्डा मिल्नेहरूबीच वैचारिक–राजनीतिक सहकार्य हुन्छ । अर्को चुनाव जित्नका लागि गरिने प्राविधिक एकता ।

तर, एमाले–राप्रपा सहकार्य कुन हो भन्ने प्रष्ट छैन । किनभने यी दुवै दल विचार र राजनीतिका हिसाबले एक ठाउँमा उभिने परिस्थिति बनिसकेको देखिँदैन । सांगठनिक हैसियत गुमाइसकेका थापासँग चुनावी तालमेल पनि एमालेका लागि कदापी हितकर छैन । त्यसैले पाँचदलीय गठबन्धनलाई अप्राकृतिक गठबन्धन भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कमल थापासँगको चुनावी सहकार्यको ‘जस्टिफाई’ गर्ने आधार के हुन सक्ला ?

हुन् त, एमालेका नेताहरुले राप्रपासँगको चुनावी तालमेललाई अस्तित्व संकटमा परेका थापालाई ’रेस्क्यु’ गरिदिएको अर्थमा ब्याख्या गरेका छन् । काठमाडौँमा दुई पार्टीबीच चुनावी तालमेलको सहमतिपत्रमा हिजो दिउँसो हस्ताक्षर हुँदै गर्दा इटहरीबाट एमाले अध्यक्ष ओली एक्लै चुनाव लड्ने दाबी गर्दै हुनुहुन्थ्यो ।

त्यसो हो भने विचार–राजनीति नमिल्ने र संगठन पनि नभएका कमल थापासँग सहकार्य गर्न लालायित हुनु पछाडिको रहस्य के हुन सक्छ ? अस्तित्व संकटमा परेकाहरुलाई संरक्षण गरिदिने ओलीको विशाल हृदयले तालमेलको स्थिति मान्न सकिएला र ? त्यत्रो विशाल हृदय भएका ओलीले नेकपा हुँदै एमालेसम्म विभाजन रोक्न किन सक्नुभएन भन्दै अर्को प्रश्न तेर्साइएको छ ।

फलतः माक्र्सवादी विचारधाराबाट निर्देशित एउटा कम्युनिष्ट शक्ति र हिन्दुत्वको मुद्दा बोकेर हिँडेको राप्रपाबीचको सहकार्यलाई कुनै पनि तर्कले पुष्ट्याईं गर्न सकिँदैन । ओलीको हित्न्दुत्वप्रतिको अस्वाभाविक मोह र उहाँमाथि लाग्दै आएको गणतन्त्र विरोधीको आरोपलाई अस्वीकार गर्ने हो भने स्वयम् एमालेकै नेता–कार्यकर्ताका लागि यो आश्चर्यको विषय हो ।

किनभने ओलीमाथि जे–जे प्रश्न उठाइए पनि औपचारिक र संस्थागत रुपमा एमालेले गणतन्त्र र धर्मनिरपेक्षता छाडेको छैन । बरु, ओली र थापाबीचको पुरानो दोस्तीले भने सहकार्यको वातावरण बनाउन भूमिका खेलेको हुनसक्छ । किनभने एमालेमा अहिले ओलीले जे चाह्यो त्यहि हुने अवस्था छ ।

एमालेका एक नेता भन्छन्, ’राप्रपासँगको तालमेल गरेर ओली उल्टो बाटो हिँड्नु भयो ।’ वामपन्थी एकताको पहल लिनुपर्नेमा घोर दक्षिणपन्थी विचार बोकेर हिँड्ने शक्तिसँग ओलीको हिमचिम बढेकैले यो स्थिति बनेको उनको प्रस्तुतिबाट प्रष्टै झल्किन्थ्यो । संयोग नै मान्नुपर्छ हिजो सार्वजनिक भएको पाँच बुंदे सहमतिपत्रमा राप्रपाको छाप पनि उल्टै लगाइएको छ । अर्को रमाइलो कुरा भने यहि वैशाख ३० गतेको चुनावका लागि तालमेल गरेका उनीहरुले आउँदो चैत्र ३० गतेको मिति लेखेका छन् ।

सहमतिपत्र सार्वजनिक कार्यक्रमको दृश्य झन् उल्टो देखिन्थ्यो । आफूले आदर्श मानेको जबजका प्रतिपादक मदन भण्डारीको फोटोमुनि हँसिलो चेहरामा एमाले नेताहरुले पूर्वपन्चहरुसँग कसिलो हात मिलाइरहेको दृश्यलाई केपी ओलीले सुल्टै हो भनेर व्याख्या गर्नु होला र ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार