चुनाव सार्न गोप्यवार्ता जारी, को–कोबीच भयो सल्लाह ?

झण्डै १० वर्ष लगाएर संविधानसभाबाट लेखिएको २०७२ सालको संविधान जारी हुँदा सिङ्गै देश एकतावद्ध हुन सकेन । कतै दिपावली गरेर खुशियाली मनाइँदा तराई–मधेशका अधिकांश जिल्लामा विरोध भयो । देशले छिमेकबाट नाकाबन्दीसमेत झेल्नुपर्यो ।

सबै राजनीतिक दलको सहमतिमा संविधान जारी गर्न नसक्नुको परिणाम थियो त्यो । मधेशवादी दलहरु अहिले पनि सर्वस्वीकार्यता नभएको भन्दै संविधानको विरोध गर्दैछन् । तथापि आलोचनात्मक समर्थनसहित मधेसकेन्द्रित दलहरु मूलधारको राजनीतिबाट बाहिर गएका छैनन् ।

स्वतन्त्र मधेसको नारा लगाउने सिके राउतको जनमत पार्टीसमेत अहिले चुनावको तयारीमा जुटेको अवस्था छ ।

मुलुक यतिबेला संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय चुनावको संघारमा छ । आवधिक निर्वाचन यो संविधानको एउटा मूल विशेषता हो । त्यसैले सबै राजनीतिक दलको सहभागिताले नै संविधानको सर्वस्वीकार्यता बढाउने हो । संविधान र व्यवस्थाकै विरुध्द विद्रोहमा निस्किएको नेत्रविक्रम चन्द “विप्लव“ नेतृत्वको पार्टी पनि यो चुनावमार्फत राजनीतिको मूलप्रवाहमा आउने प्रयासमा छ ।

देश धेरै थरी मुद्दामा गिजोलिइसक्यो,बिथोलिइसक्यो,विभाजन पनि अनेकपटक झेलिसकियो यसर्थ पनि अबका चुनावलाई संविधानको सर्वस्वीकार्यता बढाउने र सबैखाले द्वन्द्व घटाउने अवसरको रुपमा लिएर सरकार,सबै राजनीतिक दल र सरोकारवालाहरुले गम्भीर हुनु जरुरी छ ।

चुनावमा भाग लिन चाहेको विप्लव समूह आफै भित्रभित्रै विभिन्न पक्षसंग छलफल र भेटघाटमा जुटेको छ । प्रधानमन्त्री र गृहमन्त्रीसँग दिन बिराएर भेट गरिरहेका उक्त समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा “प्रकाण्ड“ले एक चरण सबै पार्टीका नेता र निर्वाचन आयोगसँग पनि छलफल गरिसकेका छन् ।

बताइएअनुसार केही समय चुनाव सारेर आफूहरुलाई पनि सहभागी गराउनुपर्ने प्रकाण्डको मागमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मले सकारात्मक जवाफ दिएका छन् । विष्णु रिमालसहितका चार जना नेतालाई साक्षी राखेर ओलीले आफ्नै निवास बालकोटमा केही दिनअघि प्रकाण्डसँग भेटेका थिए ।

शुरुमा चुनाव सार्ने प्रकाण्डको प्रस्ताव सुनेर आक्रोशित भएका ओलीले त्यस्तो काम सोच्नै नसक्ने जवाफ दिए । सत्तारुढ गठबन्धन चुनाव सार्ने प्रयासमा रहेकाले त्यसैलाई समर्थन हुने गरी चुनाव धकेल्ने कुरा उच्चारण नगर्न ओलीको सुझाव थियो ।

तर,कुराकानी टुंगिदासम्म ओली चुनाव सार्न सकारात्मक बनेको प्रकाण्ड निकट स्रोतले जनाएको छ । ओली सरकारकै पालामा तीन बुँदेमार्फत पार्टी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको,आफ्नो पार्टीले चुनावी प्रतिष्पर्धा स्विकार्ने त्यसको मूल मर्म भएको र वातावरण बनाइदिने दायित्व ओलीले पनि लिनुपर्ने आग्रहमा ओलीबाट सकारात्मक जवाफ मिलेपछि प्रकाण्ड उत्साहित भएर बालकोटबाट निस्किएको दाबी गरिएको छ ।

त्यसअघि प्रकाण्डले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रचण्ड र माधव नेपाललाई पनि भेटेका थिए । गठबन्धनका नेताहरुले मिति केही पर सारेर भए पनि विप्लवहरुलाई चुनावमा आउन वातावरण बनाइदिने आश्वासन दिएका थिए । ती नेताहरुको सुझावकै आधारमा प्रकाण्ड बालकोट गएको बताइन्छ । सरकारले निर्वाचन आयोगसँग परामर्श गर्नुभन्दा अगाडि नै प्रतिपक्षी दल र आयोगलाई पोजिटिभ बनाउन प्रकाण्ड बालकोट र बहादुर भवन गएको बुझिएको छ ।

प्रकाण्डले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई समेत भेटेर समग्र चुनावी प्रक्रिया,हालसम्मको तयारी र नयाँ दल दर्ता गर्न मिल्ने नमिल्नेबारे चासो राखेका थिए । तर,आयोगले भने नियमअनुसार दल दर्ताको समय घर्किसकेकाले सरकारले विशेष निर्णय नगरेको अवस्थामा आयोगले केही गर्न नसक्ने जवाफ दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार