‘जुत्ता सधैँ घर बाहिरै छोडेको राम्रो’

सीएनएन । नेपालसहित अधिकांश एसियाली मुलुकहरूमा जुत्ता कोठा बाहिरै राख्ने चलन । तर पश्चिमी संस्कृतिमा चाहिँ यस्तो चलन छैन । यसअघि वैज्ञानिक अनुसन्धानका आधारमा यसो गर्न सुझाव दिइएको थिएन ।

तर, भित्री वातावरणसम्बन्धी दस वर्षदेखि अध्ययन गरिरहेका विज्ञहरूले घरभित्रै हामी कसरी विभिन्न हानिकारक जीवाणुको सम्पर्कमा आउछौँ भन्नेमा विस्तृत डाटा सार्वजनिक गरेका छन् । यसमा उनीहरूले भित्री वातावरणको हानीबाट जोगिन सबैभन्दा महत्वपूर्ण जुत्तालाई बाहिर फुकाल्नु भएको बताएका छन् ।

घरलाई सबैभन्दा फोहोर पार्ने कुरा के हो ?
बाहिरी वातावरणको प्रदुषण स्तरबारे धेरै अध्ययन अनुसन्धान भइसकेका छन् । पछिल्लो समय घरभित्रको हावा र धुलोको अवस्थाबारे पनि मानिसहरूमा चिन्ता बढेको छ ।

आफ्नो अधिकतम समय घरभित्रै बिताउने हुँदा यसबीच खुट्टामा जुत्ता चप्पल नलगाइ बस्न धेरैलाई असहज लाग्छ ।

तर फोहोरका रूपमा घरमा थुप्रिने भनेको धुलो मात्र नभई हाम्रै शरीर र घरपालुवा जीवजन्तुहरूको रौँ, छालालगायतबाट पनि उत्तिकै हानिकारक कुराहरू पैदा भइरहेका हुन्छन् । यसमा एक तिहाइ बढी हानिकारक जीवाणुहरू बाहिरबाट हावामार्फत या जुत्ताको पिँधबाट आएर भुइँमा, फर्निचरमा बसिरहेका हुन्छन् । तीमध्ये कतिपय सुक्ष्मजिवाणु औषधि निरोधक किटाणु हुन्छन् ।

यसबाट संक्रमण भएमा हामीलाई ठिक हुन गाह्रो पर्ने छ । किनकि यिनलाई नष्ट गर्न एन्टि–बायोटिकले काम गर्दैन । त्यस्तै अस्पतालसँग सम्बन्धित संक्रामक किटाणुहरू अझ बढी हानिकारक हुन्छन् ।

उदाहरणका लागि बाटो पिच गर्दा प्रयोग हुने एस्फाल्टबाट निस्कने विषाक्तले क्यान्सर समेत उत्पन्न गराउन सक्छ ।

उनीहरूले यसमा पाँच प्रमुख हानिकारक तत्वहरू एन्टि–बायोटिक प्रतिरोधक किटाणु, किटाणुमुक्त गराउने केमिकल, माइक्रोप्लास्टिक, उद्योग तथा घरेलु प्याकेजिङमा प्रयोग हुने रासायनिक तत्व (जुन हाम्रो शरीरमा रहिरहन सक्छन्) र रेडियोएक्टिभ तत्वको स्तर घरभित्र कति हुन्छ भन्नेमा खोज गरेका हुन् ।

यसपछि वैज्ञानिकहरूले अत्यन्तै विषाक्त मानिने ‘आर्सेनिक’, ‘केडमियम’ र ‘लिड’ को स्तर घरभित्र कतिसम्म छ भनेर ३५ वटा राष्ट्रमा अनुसन्धान गरेका थिए । यसमा पनि प्रायः सबैभन्दा खतरनाक विषाक्त ‘न्युरोटक्सिन लिड’ को कुनै गन्ध र रङ नहुने हुँदा हामीले यसको सम्पर्कमा आएको समेत थाहा पाउदैनौँ । यो हामीले टेकेर आएको माटोमा हुन सक्छ भने पानीको पाइप र कहिलेकाहीँ बैठक कोठामा पनि फेला पर्ने उनीहरूले बताए ।

यसरी माटोमा टेकेको हाम्रो जुत्ताबाट नै यो घरभित्रसम्म आइपुग्ने सम्भावना सबैभन्दा धेरै रहेको छ । यसकारण पनि जुत्ताबारे ख्याल गर्न जरुरी रहेको अध्ययनमा बताइएको छ ।

वाल स्ट्रिट जर्नलको अनुसन्धानात्मक खोजमा घरभित्र जुत्ता लगाउनु हामीले सोचेजति नराम्रो नभएको बताइएको थियो । जस्तै धेरै स्तनधारी प्राणीको आन्द्रामा बस्ने खतरनाक ब्याक्टेरिया ‘ई–कोली’ यति व्याप्त रूपमा फैलिएको हुन्छ कि यो हाम्रो जुत्ताको पिँधमा भेटिनु कुनै आश्चर्यको कुरा होइन । सो लेखमा परीक्षण गरिएका ९६ प्रतिशत जुत्तामा इकोली भेटिएको रिपोर्ट छ ।

तर यसमा हामीले भुल्न नहुने कुरा के हो भने ई–कोली वास्तवमा मलमुत्रसँग सम्बन्धित ब्याक्टेरिया हो र यसको उच्च मात्रासँग हामी सम्पर्कमा आए गम्भीर बिरामी पर्ने सम्भावना हुन्छ । यसकारण पनि किन यो रोग बोकेर घरमा हिँडिरहने र जोखिम बढाउने भन्ने तर्क गरिएको छ । यसको सट्टा जुत्ता ढोका बाहिरै फुकाल्ने बानी बसालेमा यसका फाइदैफाइदा हुनेछन् ।

के घरभित्र जुत्ता नलगाउनुका कुनै बेफाइदा छन् ?
वातावरणीय विज्ञहरूको अध्ययनका आधारमा यसका धेरै हानि देखिएनन् । यसको एक मात्र बेफाइदा भनेको बालबालिकाहरू पछि गएर किटाणुमाझ संवेदनशील हुन सक्छन् । सानैदेखि उनीहरू पूर्ण किटाणुमुक्त ठाउँमा हुर्किनाले उनीहरूको प्रतिरोधात्मक प्रणाली त्यही किसिमले विकसित हुन्छ । पछि गएर सामान्य जीवाणुले पनि तिनमा एलर्जी हुने बिरामी पर्ने समस्या पैदा हुन सक्छ ।

तर यसका पनि विकल्पहरू छन् । जस्तै उनीहरूलाई घर भित्र फोहोर जुत्ता लगाएर यताउति गर्न दिनुको सट्टा बाहिर हाइक गर्न, प्रकृतिमा डुलाउन लगिरहन सकिन्छ ।

यसैगरी जुत्ता एकदम आवश्यकतै पर्नेले भित्र लगाउने छुट्टै चप्पल राख्न सक्छन् । जुन वास्तवमा धेरै एसियाली घरको प्रचलित संस्कृति नै बनिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार