स्वघोषित उम्मेदवारीले गठबन्धनमा अन्योल

तुलसीपुर । तुलसीपुरबाटै प्रशारणमा आएको एसटिएन च्यानलले एक पछि अर्को गरी उम्मेदवार परिचय कार्यक्रमहरु चलाएर गठबन्धनमा संलग्न दलका सम्भावित आकांक्षीहरुको अन्तर्वार्ता प्रशारण सुरु ग¥यो ।

सामाजिक सञ्जालमा उम्मेदवारहरु खुल्न थालिसकेका छन् । काठमाडौँ हेडक्वाटर भएको अनलाइन खबर राष्ट्रिय प्रशारणले धमाधम आकांक्षीका प्रोफाइलहरु प्रकाशन÷प्रशारण गर्न थालेको छ । तर यसबीचमा गठबन्धनले अहिलेसम्म पनि चुनावी तालमेलको कार्यविधि र प्रत्यासीहरुको नाम सिफारिस नगर्दा एक्लो एमाले चुनावी मैदानमा छ । गठबन्धन समर्थक मतदाता अन्योलमा छन् ।

मतदाताले मनोनयन दर्ताको समय आउन अब करिब १० दिनमात्र बाँकी रहँदा पनि उम्मेदवार टुंग्याउन नसक्नुलाई सत्तारुढ गठबन्धनको अलमल र अन्योल भनेका छन् । ‘एमालेले उम्मेदवार तोकेर प्रचार–प्रसार समेत सुरु ग¥यो, गठबन्धनले भने अझै पनि उम्मेदवार नतोक्दा हामी अन्योलमा परेका छौं’, तुलसीपुर उपमहानगरपालिका–१७ का मतदाता माधव बस्नेतले भने । यही कारण अहिले गाउँबस्तीमा एमालेको मात्रै प्रचार–प्रसार सुरु भएको छ ।

उनको भनाइमा उम्मेदवारी तोक्न ढिलाइ भइरहँदा यसको प्रतिफल पनि गठबन्धनले नै भोग्नुपर्ने छ । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेका मतदाता मनिस शर्माले पनि गठबन्धनले उम्मेदवारको नाम टुंगो लगाउन नसक्दा मतदातामा अझै उत्साह आउन नसकेको बताए । ‘स्थानीय चुनाव हो, कतिपय अवस्थामा व्यक्तिको सामाजिक हैसियतले पनि मत तान्न सक्छ, तर उम्मेदवारी नै टुंग्याउन ढिला गर्नुले कतै चुनावै सर्ने त होइन ?’, शर्माले भने । उनीहरुजस्तै थुप्रै मतदाताहरुले चाँडै उम्मेदवारी टुंग्याएर प्रचार–प्रसार अभियानलाई तीव्र पार्न ढिला गर्न नहुने बताएका छन् ।

अहिले पहिलेको जस्तो थोरै मात्र राजनीतिक दलले निर्वाचनमा भाग लिने अवस्था नभएको पनि नागरिकहरुले बताएका छन् । पचास भन्दा बढी राजनीतिक दलहरु स्थानीय निर्वाचनमा होमिँदै गर्दा धेरै उम्मेदवार र चुनाव चिन्ह हुन्छन् । यदि मतदाता शिक्षा सबै मतदातासम्म पु¥याउन नसके धेरै मत बदर हुने पनि मतदाताहरुले बताएका छन् । यद्यपि गठबन्धनमा संलग्न राजनीतिक दलको संयन्त्रले निर्वाचनमा गठबन्धनको प्रचार गर्न भन्दै बक्तव्यबाजी गर्न थालेका छन् । यसले आम मतदाताहरुको चाहनालाई सम्बोधन गर्न सकेको छैन ।

केन्द्रबाटै कहाँ कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउने भन्दै गठबन्धनका दलहरुले उम्मेदवारको नाम सिफारिसको काम समेत रोकेका छन् । कुन वडाले क–कसको नाम सिफारिस ग¥यो भन्ने पनि गठबन्धनमा संलग्न राजनीतिक दलहरुले सार्वजनिक गरेका छैनन् । यद्यपि गठबन्धनमा संलग्न दलहरुले भने मोटामोटीरुपमा उम्मेदवारको नाम सिफारिस भैसकेको र त्यसलाई माथिल्लो कमिटीले मूर्त रुप दिने बताएका छन् ।

‘जिल्लास्तरमा पनि गठबन्धन दलका नेताहरुबीच छलफल चलिरहेको छ, माथि केन्द्रमा पनि छलफल अन्तिम चरणमा पुगेको छ, हामी चाँडै उम्मेदवारको अन्तिम टुंगो लगाउने छौं’, नेपाली कांग्रेसका एक नेताले भने । सम्भवतः नयाँ बर्ष मनाएपछि उम्मेदवारको अन्तिम टुंगो लगाउने उनको भनाइ थियो । गठबन्धनले स्थानीय पालिकामा तय गरेका नाम जिल्लास्तरीय गठबन्धन कार्यदलमा पठाउने छ ।

यसलाई अन्तिम रुप दिन प्रदेशस्तरमा गठन भएको कार्यदलमा पठाइने पनि बताइएको छ । यद्यपि घोराही, तुलसीपुर, लमही तथा अन्य गाउँपालिकाको प्रमुख र उपप्रमुख कुन–कुन दलको भागवण्डामा पर्ने भन्ने विषयमा भने सबै दलहरु अन्योलमा परेका छन् । यो पटकको निर्वाचन गठबन्धनका कारण मतदाताका लागि केही जटिल हुने देखिएको छ । यसका लागि नमुना मतपत्रसहित आम मतदातामाझ मतदान कसरी गर्ने भन्ने जानकारी गराउन आवश्यक भएको नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि रमेश रोकाले बताएका छन् ।

सबै मतदातासम्म पुगेर नमुना मतपत्रसहित मतदाता शिक्षा दिन नसकेमा धेरै मत बदर हुनसक्ने पनि रोकाले बताए । त्यसका लागि कम्तीमा डेढ महिना जति समय चाहिने पनि उनको अनुमान थियो । तर गठबन्धन कार्यदलको ढिलासुस्तीका कारण मतदाता शिक्षा अभियान सबै तहसम्म पुराउन समय पर्याप्त नहुने पनि गठबन्धन समर्थकहरुले चिन्ता व्यक्त गरेका छन् ।

अहिले एमालेले आफ्नो चुनाव चिन्ह लिएर मतदाताको दैलोसम्म पुगिरहँदा गठबन्धन समर्थकहरुको भीड भने कहाँ कसले टिकट पाउनेमा मात्रै सीमित छ । चोक चौतारादेखि चिया पसलसम्म उम्मेदवारी कसले पाउने भन्ने मात्रै चर्चा हुन थालेको छ । धेरै स्थानमा भने गठबन्धनमा संलग्न दलका प्रभावशाली नेता भएको स्थानमा सोही दलले प्रमुखको पदमा उम्मेदवारी पाउने पनि चर्चा हुन थालेको छ । किनकि गठबन्धन कार्यदलले टिकट वितरणको खाका सार्वजनिक गरेको छैन ।
बालुवाटारमा गठबन्धनको बैठक

यसैबीच सत्तारूढ गठबन्धनका दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । मंगलबार साँझ बसेको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै दलका शीर्ष नेताको सहभागिता छ । बैठकमा वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन दलबीच तालमेलसहित विभिन्न विषयमा छलफल भएको छ । यद्यपि कहाँ कसलाई उम्मेदवारी तोक्ने भन्ने सन्दर्भमा भने बैठकले निर्णय गरिसकेको छैन । गठबन्धनका दलहरूले यसअघि नै देशभरि चुनावी तालमेल गर्न अपिल गरिसकेका छन् ।
-गाेरक्ष दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार