‘प्रचण्डको परिवार भएकाले अवसर गुमाएको छु’

काठमाडौं । राष्ट्रियसभा सदस्य नारायण दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारिक सदस्य भएकै कारण आफुले अवसर गुमाएको बताएका छन् ।

प्रचण्डको परिवारिक सदस्य भएकै कारण राष्ट्रियसभा सदस्यमा मनोनित गरेको भन्दै आलोचना भइरहेका बेला दाहालले भने आफूले अवसरहरु गुमाएको दाबी गरेका हुन् ।

‘अध्यक्ष र म एकैदिन होलटाइमर भएर हिँडेको । म निरन्तर पार्टीमा छु, निरन्तर काम गरेको छु’, मंगलबार राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले भने, ‘यस्तै बाहिरका कुराले मैले जति अवसरहरु पाउनुपर्ने हो, त्यो गुमाएको छु ।’

उनले माओवादी सशस्त्र विद्रोहमा आफू मात्र होइन, परिवारका सबै सदस्य लागेको र निरन्तर पार्टीमा सक्रिय रहेको बताए ।

अहिले प्रचण्डको परिवारको सदस्य भएकै कारण अवसर पाएको भन्ने भनाइ लगत भएको उनको दाबी छ । ‘हिजो युद्धमा हिँड्दा तपाईंका छोराछोरीहरु के भन्ने प्रश्न आउँथ्यो,’ राष्ट्रयसभा सदस्य दाहालले भने, ‘म गर्वका साथ भन्छु, हाम्रो परिवारमा अध्यक्षकै छोराछोरीदेखि मेरो छोराबुहारी, श्रीमती सबै युद्धमै थियौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार