माओवादीमा केन्द्रमा वडा अध्यक्ष र सदस्यबाहेकका उम्मेदवार छनौट गर्ने अधिकार केन्द्रलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट गर्ने अधिकार केन्द्रलाई रहने गरी विशेष परिपत्र जारी गरेको छ ।

वडा अध्यक्ष र सदस्यका उम्मेदवार छनौटबाहेक अन्य उम्मेदवारको छनौटदेखि स्थानीय तहमा चुनावी तालमेलसम्मको निर्णय पालिका, जिल्ला र प्रदेश समितिहरूलाई नै नदिई माओवादी केन्द्रले केन्द्रीय कार्यालयमा केन्द्रिकृत गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष परिपत्र जारी गर्दै वडा अध्यक्ष र सदस्यको उम्मेदवारी छनौटको अधिकार प्रदेश समितिलाई दिए पनि अन्य सबै केन्द्रिकृत गरी २८ चैतमा ६ बुँदे विशेष परिपत्र पठाएका हुन् ।

‘स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगरप्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम पार्टी प्रदेश समितिहरूले सर्वसम्मत भए एक/एक जना सर्वसम्मत नभए प्राथमिकतको क्रममा तीन जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्ने,’ परिपत्रमा भनिएको छ, ‘केन्द्रीय कार्यालयले उम्मेदवारको अन्तिम निर्णय गरी पठाउनेछ ।’

तर, वडा अध्यक्ष र सदस्यको हकमा भने स्थानीय तहलाई नै अधिकार प्रत्यायोजन छ । ‘वडा अध्यक्ष र सदस्यहरूको हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्ने’ भन्दै प्रदेश समितिलाई अधिकार दिएका छन् ।

५ वैशाखभित्र उम्मेदवारको सिफारिस गरिसक्नु पर्ने भन्दै विशेष परिपत्र पठाएका अध्यक्ष प्रचण्डले महानगर र उपमहानगरको मेयर र उपमेयरका उम्मेदवारी भने केन्द्रले नै तोक्ने निर्देशन पनि दिएका छन् ।

महानगरबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एसलगायतका राजनीतिक दलले सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीलाई नै अधिकार दिएको बेला माओवादीले भने केन्द्रिकृत गरेको हो ।

कांग्रेस र एमालेलगायतले औपचारिक निर्णय नै गरेर आवाश्यकताका आधारमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय कमिटीहरूलाई दिए पनि माओवादीले भने त्यो अधिकार पनि दिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार