३० करोडको लागतमा तयार भयो शहरी खानेपानी आयोजना

देउखुरी । सिसहनियाँमा ३० करोडबढीको लगानीमा खानेपानी आयोजनाको पहिलो चरणको निर्माणको काम सकेर धारा वितरण शुरु भएको छ । शहरी खानेपानी आयोजनाबाट पहिलो चरणको निर्माणको काम सकेर खानेपानी धारा वितरण शुरु भएको छ । नेपाल सरकार, नगर विकास कोष र उपभोक्ताको संयुक्त ३० करोड २९ लाख लगानीमा तयार भएको आयोजनाबाट खानेपानीका धारा वितरण शुरु भएको हो ।

प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत खानेपानीको धारा वितरण भइरहेको र पानीलाई चौविसै घण्टा नियमित गर्ने गरी काम भइरहेको संस्थाका अध्यक्ष शान्तराज शर्मा पन्थीले जानकारी दिनुभयो । ‘नल र कुवाको अशुद्ध पानी खाँदै आएका उपभोक्तालाई शहरी खानेपानी आयोजनाबाट शुद्ध पानी पु¥याउन थालेका छौं’– उहाँले भन्नुभयो– ‘खानेपानी आयोजनाको भौतिक निर्माणको काम सकिएको छ । उपभोक्ताको घर आँगनमा खानेपानीको धारा जडान गर्ने काम चलिरहेको छ ।’

एक हजार सात सय ५० घरमा धारा जडान गरिसकिएको छ । छ सय ५६ घरमा धारा जडान गर्न बाँकी छ । आयोजनाबाट दुई हजार चार सय छ घरमा धारा जडान गर्ने लक्ष हो । आयोजना सञ्चालन गर्न नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोष र एशियाली विकास बैंकको २५ प्रतिशत ऋण र उपभोक्ताको पाँच प्रतिशत लगानी लागेको छ । खानेपानी आयोजना निर्माण गर्न नेपाल सरकारले जम्मा आयोजनामा लाग्ने लागतको ७० प्रतिशत अर्थात २१ करोड ३२ लाख ९८ हजार पाँच सय ९४ रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

उपभोक्ताले पाँच प्रतिशतअन्तर्गत एक करोड ५९ लाख ४९ हजार नौ सय ९५ रुपैयाँ र नगर विकास कोष तथा एशियाली विकास बैंकको २५ प्रतिशत ऋणअन्तर्गत सात करोड ३७ लाख ४९ हजार एक सय ७२ रुपैयाँ गरी ३० करोड २९ लाख ३६ हजार सात सय ६२ रुपैयाँको लागतमा आयोजना निर्माण भएको हो । उपभोक्तालाई खानेपानी वितरण गर्न सञ्चालन गरिएका शहरी खानेपानी आयोजना ‘महंगो’ आयोजनाभित्र पर्ने गरेका छन् । नेपाल सरकारले सञ्चालन गर्ने शहरी खानेपानी आयोजना महंगा आयोजनाभित्र पर्ने गरेका हुन् । जिल्लामा यसअघि कार्यान्वयनमा आएका पहिलो, दोस्रो साना शहरी खानेपानी आयोजना जस्तै तेस्रो साना शहरी खानेपानी आयोजना लागत र क्षमताको आधारमा ठूला आयोजनाभित्र पर्ने गरेका छन् । आयोजनाको लागत बढेसँगै उपभोक्ताले जम्मा गर्नुपर्ने दायित्व रकमसमेत बढ्ने गरेको छ । एउटा धारा जडान गर्दा उपभोक्ताले १२ हजारदेखि १५ हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ ।

संविधानमा नागरिकको स्वच्छ पानी उपभोग गर्न पाउने संवैधानिक हक सुनिश्चित छ तर खानेपानी आयोजना महंगा हुँदै जाँदा उपभोक्तालाई पानी वितरण गर्न समस्या पर्ने गरेको छ तर तीब्र शहरीकरण हुन थालेपछि सिसहनिया क्षेत्रमा पानीको माग बढ्न थालेको छ । ‘भविष्य र वर्तमानका लागि खानेपानी आयोजना आवश्यक हो । अहिले धारा जडानको चरणमा छौं’– संस्थाका कोषाध्यक्ष भरतप्रसाद पाण्डेले भन्नुभयो– ‘एक वर्षसम्म खानेपानीको धारा वितरण र पानी सञ्चालनको जिम्मा निर्माण कम्पनीभित्र रहन्छ । पानी वितरण सफल भएपछि संस्थामा आयोजना हस्तान्तरण हुन्छ ।’

सफा पानी पुर्‍याउने अभियान प्रगतिनगर शहरी खानेपानी आयोजना राप्ती गाउँपालिका वडा नं. ५ को चौथो वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष शान्तराज शर्मा पन्थीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले उपभोक्तालाई सहज रुपमा खानेपानी पु¥याउन संस्थाले खेलेको भूमिको प्रशंसा गरेका थिए । राप्ती गाउँपालिका वडा नं. ५, ७ र ८ मा खानेपानी वितरण गर्न थालिएको छ ।

यो क्रममा पानीको धारा जडान गर्ने र आयोजना परीक्षणको काम चलिरहेको जानकारी गराइएको छ । कार्यक्रममा परामर्शदाता कम्पनीका इञ्जिनियर चन्द्रकान्त झा, राप्ती गाउँपालिका वडा नं. ७ का अध्यक्ष विद्याशरण चौधरी, वडा नं. ५ का अध्यक्ष गोवद्र्धन रावत, वडा नं. ८ का अध्यक्ष गोकर्णबहादुर राना मगर, लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष जंगबहादुर चौधरी, नर्ती खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष कुलचन्द्र पोख्रेल, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकी, शिक्षक पृथ्वीपाल चौधरीलगायतका वक्ताहरुले मन्तब्य व्यक्त गर्नुभएको थियो । साधारणसभामा संस्थाका सचिव रेशमबहादुर थापा मगरले प्रगति र कोषाध्यक्ष भरतप्रसाद पाण्डेले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष तारा घिमिरेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव रेशमबहादुर थापा मगरले गर्नुभएको थियो ।
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार