हामी त अर्कै संसारका मान्छे जस्ता भयौं

तुलसीपुर  । चुनावताका गाउँमा पुगेका विभिन्न दलका नेताले आफूले जितेपछि बिजुली, पानी, फोन नेटवर्क, बाटोलगायतका सबै क्षेत्रको विकास गर्ने प्रतिबद्धता गरेर फर्किए । चुनावपछि गाउँले मुहार फेर्ने अपेक्षा राखेका तुलसीपुर–१ का अविधारा, काठीखोली, अजिमारा, ठाँटीगाउँलगायतका गाउँका बासिन्दाहरु अहिले गुनासो मात्र पोख्छन् । किनभने उनीहरु बिजुली, बाटो, टेलीफोन नेटवर्कजस्ता कुराहरुबाट समेत बञ्चित छन् ।

दिउँसो ११ बजेको पारिलो घाम, पिठ्यूँमा एक बोरा चामल बोकेकी  तुलसीपुर–१ अविधारीकी केशरी बाँठा बाटोमा भेटिनुभयो । हिउ्ँदमा पानीको बहाव कम भएपछि काठीखोलीमा रहेको पानी मिलमा धान कुटाउन अलि अप्ठ्यारो हुँदोरहेछ । त्यसैले धान कुटाउन दुई गाउँ हिँडेर ठाँटीगाउँमा रहेको बिजुलीबाट चल्ने मिलमा आउनुपरेको उहाँले बताउनुभयो । ‘गाउँमा बिजुली छैन । बिजुली नभएर गतिलो मिल पनि छैन । कुटाउन पिसाउन एकदमै दुःख छ । हाम्रो गाउँसम्म पोल गाडेको दुई वर्ष भयो तर अहिलेसम्म पनि तार जोडिएको छैन’– उहाँले भन्नुभयो– ‘यो वर्ष बल्ल अजिमारासम्म बिजुली पुग्यो । हाम्रो गाउँसम्म पुग्ने त कहिले हो कहिले । २० वर्ष भयो सोलार बाल्न थालेको । हाम्रा समस्या जस्ताका तस्तै छन् । हाम्रो गुनासो कसले सुन्छ र ?’

तुलसीपुर–३ को भट्टे गाउँबाट उकालो लागेपछि धुलाम्य सडक शुरु हुन्छ । यो सडक ठाँटीगाउँ, अजिमारा, काठीखोली हुँदै तुलसीपुर–१ का अन्य विकट गाउँहरुमा पुग्छ तर यो सडकमा २० वर्षयता स्तरोन्नतिको काम नभएको ४८ वर्षीय दत्तबहादुर केसीले गुनासो गर्नुभयो । ‘यो पहिला वल्लो अविधारामा रहेको खानीबाट कोइला लैजान ठेकेदारले बनाएको बाटो हो । त्यसपछि राज्यको कुनै पनि निकायबाट यसलाई बनाउने काम भएको छैन’– उहाँले भन्नुभयो– ‘अहिले पनि माथि काठीखोली आसपासमा बाटो बनाउने काम हुँदैछ । त्यो पनि राज्यको बजेटबाट होइन । त्यहाँ भएका ढुंगा लैजान ठेकेदारले खन्दिन लागेको बाटो हो । स्थानीय सरकारले पनि यी गाउँहरुमा मान्छे बस्छन् भन्ने बिर्सिसक्यो ।’

ठाँटीगाउँकै टीका केसीका श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्छ । श्रीमान्सँग कुरा गर्नुपर्दा घर वारिपारिका डाँडा चाहार्नुपर्ने समस्या रहेको केसीले बताउनुभयो । ‘हामी त छुट्टै संसारमा बसे झैं भएका छौं । केही काम विशेषले कसैलाई फोन गर्नु छ भने । त्यो पनि हाम्रो लागि एउटा छुट्टै काम जस्तै हुन्छ । कुनै काम गर्दागर्दै वा घरमै बसेर फोन गर्ने हुँदैन । नेटवर्क कहाँ टिप्छ भनेर डाँडा खोज्दै हिंड्नुपर्छ’– उहाँले भन्नुभयो– ‘हाम्रै वडामा कतै वाइफाइ चलाउँछन् । हामीलाई फोन गर्ने सुविधासम्म छैन । सबैभन्दा गाह्रो त बिरामी पर्दा हुन्छ । एम्बुलेन्स बोलाउनसमेत धौ छ । न फोन लाग्छ लागे पनि बाटो गतिलो छैन ।’

थुप्रै काम भएका छन् : वडाध्यक्ष

गुनासो आएका विषयमा काम भएको र केही काम प्रक्रियामै रहेको तुलसीपुर उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष लक्ष्मण भण्डारी बताउनुहुन्छ । ‘बिजुलीको कुरा गर्दा हामीले काठीखोली पानी मिलसम्म पोल पु¥याइसकेका छौं । तारको लागि स्टिमेट भइसकेको छ । छिट्टै तार जडानको काम हुन्छ । साथै हामीले नयाँ स्टिमेट पनि पठाएका छौं, त्यो पास भइसक्दा अविधारा, सुन्धाराटोल, शिवशक्तिटोल र झरनाटोलमा पनि विद्युत तार पु¥याउँछौं । सडकको स्तरोन्नति नभएको होइन, हामी निर्वाचित भएपश्चात ०७५÷०७६ र ०७७÷०७८ मा त्यस क्षेत्रमा सडक मर्मत र नयाँ ट्रयाक खोल्ने काम पनि गरेका छौं’– उहाँले भन्नुभयो– ‘नेटवर्कको समस्या समाधान गर्न हामीले बाघखोरमा नेपाल टेलिकमको टावर राख्यौं । हामीले भनेकै स्थानमा राख्न नमिल्ने रहेछ । हामीले अविधारामा राख्न खोजेका थियौं तर सर्भे गर्दा बाघखोरमा राख्नुपर्ने भयो । अब एनसेलको टावर राख्ने प्रक्रियामा छौं । सकेसम्म त्यस क्षेत्रलाई पायक पर्ने गरी स्थापना गर्नेछौं ।’
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार