ट्रकसँग बंगुर साटेका मस्तबहादुर

तुलसीपुर  । मानिसका हरेक रहर हुन्छन् । पछिल्लो समय दिनहुँ बढिरहने पेट्रोलियम पदार्थको मूल्यबृद्धि, मासिकरुपमा बैंकमा बुझाउनुपर्ने किस्ता र ब्याज यस्तै हैरानी बेहोरिरहेका मस्तबहादुरले चलाइरहेको ट्रकसँग बंगुर फार्म साट्नुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ पिपलडाँडामा रहेको न्यू लालीगुराँस बंगुर फार्ममा अहिले माउ, वीर (सुंगुर) का भाले र पाठापाठी ८० भन्दा बढी छन् ।

मस्तबहादुरले भन्नुभयो– ‘आफूसँग ट्रक चलाउने सीप थिएन, सवारी साधन भएर के गर्ने ? जे सीप, क्षमता छ त्यही गरौं भनेर ट्रकसँग बंगुर फार्म साटेको हुँ ।’ उहाँसँग त्यो बेला फार्ममा १४ माउ, वीर र पाठापाठी थिए, अहिले ६५ वटाभन्दा बढी पाठापाठी रहेका छन् । पाँच वर्ष पहिले डेढ लाखको लगानीबाट शुरु गरिएको फार्ममा अहिले सात लाख बढी लगानी भएको छ । मलेसियामा चार वर्ष र साउदीमा तीन वर्ष रोजगारीका सिलसिलामा बिताउनुभएका मस्तलाई यहींको काम र श्रम मूल्य प्यारो छ ।

‘त्यहाँ अर्काको देश, बिरामी पर्दा पनि काम गर्नैपथ्र्यो । त्यहाँको मासिक ७० हजारभन्दा यहाँको पचास हजार आम्दानी मलाई लाख रुपैयाँ कमाएजस्तै भएको छ’– उहाँ भन्नुहुन्छ– ‘यो व्यवसायमा घरपरिवार सबैको सहयोग छ, सबै मिलेर जहान परिवारसँग काम गर्न पाइएको छ । जीवनमा यही त रहेछ सबैभन्दा खुशी र सन्तुष्टिको कुरो ।’

अहिले स्वदेशमै आफ्नै गाउँघरमा व्यवसाय गरेर वार्षिक छ लाखसम्म आम्दानी हुने मस्त बताउनुहुन्छ । एउटा पोथीले वर्षमा १६ वटासम्म बच्चा जन्माउने गरेको र एक पाठापाठीको मूल्य ४५ सयदेखि पाँच हजारमा बिक्री गर्दै आउनुभएको छ । मासुभन्दा पाठापाठी बेचेरै बढी आम्दानी हुने गर्दछ । उहाँले घरमै दाना पिसाउनका लागि मिल राख्नुभएको छ । बजारबाट किन्दा महंगो पर्ने भएकाले घरमै व्यवस्थापन गर्नुभएको छ ।

राज्यबाट खोर सुधारका लागि सहयोग हुँदै आएको छ । खोर सुधार कार्यक्रमअन्तर्गत गत वर्ष भेटेरेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र घोराहीले सहयोग गरेको थियो । त्यसैगरी औषधि उपचारमा समेत सहयोग पु¥याउँदै आएको छ । क्रमशः फार्ममा खोर सुधार गर्दै लैजाने घर्तीले बताउनुभयो ।
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार