कपाल झर्ने समस्याको उपचारका लागि गरिने पीआरपी विधि कस्तो हो ?

काठमाडाैं । पीआरपी (प्लेट्लेट्स रिच प्लाज्मा) इन्जेक्सन विधि मानिसको आफ्नै रगत निकाली त्यसलाई औषधिको रुपमा प्रयोग गरिने विधि हो । यसको विभिन्न प्रयोगहरू चिकित्साविज्ञानमा हुँदै आएको वर्षौं भइसकेको छ । साथै, कपाल उमार्नका लागि यसको प्रयोग पनि केही समययता निकै प्रचलित हुँदै आएको छ ।

एउटा ७० किलोको व्यक्तिमा करिब ५ लिटर जति रगत हुन्छ । त्यस रगतमा ४५ प्रतिशत रातो रगत, सेतो रगत र प्लेट्लेट्सका कोषिका हुन्छन् भने ५५ प्रतिशत प्लाज्मा हुन्छन् ।

प्लेट्लेट्स रिच प्लाज्मामा धेरैथरिका ग्रोथ फ्याक्टर हुन्छन् । जसरी रुखका जराहरूलाई बढ्नका निम्ति मलजल गर्नुपर्छ‚ त्यसरी नै हाम्रो शरीरका कोषिकाहरूलाई बढ्न र स्वस्थ रहनका लागि ‘ग्रोथ फ्याक्टर’ चाहिन्छ । पीआरपी विधिमा मानिसको आफ्नै रगत निकालेर सेन्ट्रिफ्युज गरी प्लेट्लेट्स (सेतो रगत) भएको प्लाज्मा, रातो रगतका कोषिकाबाट छुटाई मानिसको आफ्नै कपालमा, अनुहारमा खत भएको स्थानमा सुईबाट हाल्ने गरिन्छ ।

तालुमा पीआरपी लगाउँदा के हुन्छ ?
पीआरपीले कपालमा रहेका ग्रोथ फ्याक्टरको सञ्चालन बढाई कपाल बाक्लो देखाउन मद्दत गर्दछ र कपालका जराहरूलाई बलियो बनाउँछ ।

ग्रोथ फ्याक्टरहरू कपालका रौंका जराहरूमा गई तिनका रिसेप्टरमा टाँसिन्छन् र कपाल बढ्नका लागि चाहिने ग्रोथ फेजको समय बढाई कपाललाई बढ्न मद्दत गर्छन् । त्यस्तै यिनले कपालमा चाहिने रगत सञ्चालन गर्ने रगतका नलीहरू बन्न पनि मद्दत गर्छन् ।

यो सुई वंशाणुगत र हरमोनको कारणले हुने तालुपना अर्थात् एन्ड्रोजेनेटिक एलोपेसिया भएका व्यक्तिहरूको उपचारका लागि प्रयोग गरिन्छ । यो समस्या प्रायः गरेर केटा मान्छे र थोरै मात्र महिलामा हुने गर्छ । त्यस्ता व्यक्तिले पीआरपीको सुई लगाए उनीहरूको कपाल बाक्लो हुन र बढ्नलाई मद्दत पुग्छ । यस्तै यो सुई एलोपेसिया एरेएटा (जसलाई नेपालीमा ख्वैरोले खाएको कपाल पनि भनेर बुझ्ने गरिन्छ) र टाउकोमा खतको कारणले कपाल झरेको ठाउँमा पनि लगाउन सकिन्छ ।

किन पीआरपीको प्रभावकारिता हरेक मानिसमा फरक हुन्छ ?
हरेक मानिसमा प्लाज्मामा भएको प्लेट्लेट्स र त्यसमा भएको ग्रोथ फ्याक्टरको मात्रा फरक-फरक हुने गर्दछ । जुन मानिसमा ग्रोथ फ्याक्टरको मात्रा धेरै हुन्छ; त्यसमा पीआरपीको प्रभावकारिता अर्थात् कपाल उमार्ने, अनुहारको खत कम हुने सम्भावना बढी हुन्छ ।

त्यस्तै प्लेट्लेट्स रिच प्लाज्मा इन्जेक्सन (पीआरपी)लाई मिनोक्सिडिल नामक कपालमा रक्त सञ्चालन बढाई कपाल उमार्ने झोल औषधिसँगै प्रयोग गरेमा त्यसले कपालको मात्रा झनै बढाउने पाइएको छ ।

पीआरपी कसरी तयार पारिन्छ र दिइन्छ ?
पीआरपी तयार पार्नका लागि करिब १०-१५ एमएल जति रगत बिरामीको शरीरबाट झिकिन्छ र त्यसलाई सेन्ट्रिफ्युज मेसिनमा करिब ५ मिनेट जति राखिन्छ । यसरी करिब ५-१० एमएल जति प्लेट्लेट्स रिच प्लाज्मा तयार हुन्छ । यो प्लेट्लेट्स रिच प्लाज्मालाई ०.१ एमएलको दरले १ सेन्टिमिटरको दूरीमा कपालमा ५० देखि १०० पटक सुईमार्फत लगाइन्छ ।

पीआरपी उपचार कतिपटक गर्नु पर्दछ ?
प्लेट्लेट्स रिच प्लाज्मा सुई (पीआरपी) हरेक १ महिनामा गरिने गरिन्छ । यदि २ पटक पीआरपी लगाउँदा अर्थात् २ महिनामा कपालमा बाक्लोपना देखिएमा, अझ १२ पटक जति गर्न सकिन्छ । तर, यससँगै मिनोक्सिडिल नामक कपालमा लगाउने झोल औषधि प्रयोग गर्नुपर्ने हुन्छ ।

धेरै मानिसमा पीआरपी गरेको दुई महिनाभित्र राम्रो सुधार देख्न सकिन्छ । सुधार देखिएपछि करिब ६ सेसनपछि यो ३ महिनाको अन्तरालमा पनि गर्न सकिन्छ । यसरी पीआरपी र मिनोक्सिडिलसँगै लगाएका ४ व्यक्तिमा ३ जनाको कपाल बाक्लो हुने सम्भावना रहन्छ ।

यसरी पीआरपी गर्नाले करिब १ वर्ग सेन्टिमिटरमा लगभग ३५ वटा कपालहरू थपिने देखिएको छ । यदि २ देखि ४ पटक गर्दा पनि कपालमा बक्लोपना नदेखिएमा यो गरिरहनु आवश्यक छैन ।

पीआरपी सुईका अरु प्रयोगहरू के-के हुन् ?
पीआरपी र माइक्रोनिड्लिङ (सुईको माध्यमबाट छालामा स-सानो प्वाल बनाउने विधि) द्वारा अनुहारको छाला पुनर्जीवित गर्न, स्वस्थ राख्न र अनुहारका खत कम गर्न पनि मद्दत गर्दछ ।

यस्तै हाडजोर्नीमा हुने दुखाइ कम गर्न र मांसपेशीका चोटहरू छिटो निको गर्न पनि यसले मद्दत गर्दछ ।

कस्ता मानिसमा पीआरपीको प्रभावकारिता कम हुन्छ ?
सानो उमेरमै तालुपना भएका व्यक्तिहरू, पीआरपीको सुई लगाउनुअघि नै कपाल धेरै नै पातलो भएका व्यक्तिहरूमा यसको प्रभावकारिता कम हुने गर्दछ ।

पीआरपीका प्रतिकूल प्रभावहरु के-के हुन्छन् ?
सबैभन्दा बढी देखिने नकारात्मक प्रभावहरू भनेको सुई लगाउँदा दुख्ने, रगत बग्ने आदि हुन् । धेरै मानिसलाई केही समयमै दुखाइ कम हुँदै जान्छ भने कतिपयलाई १-२ दिनसम्म पनि टाउको दुख्ने समस्या रहिरहन सक्छ ।

थोरै मानिसमा सुई लगाएको स्थानमा किटाणुको संक्रमण हुने र केही महिलाहरूमा थप कपाल झर्ने समस्या पनि दुर्लभ रुपमा देखिएको छ ।

पीआरपीको सुई लगाएपछिको दुखाइ कम गर्न सुई लगाउनुअघि ५-१० मिनेट जति आइस प्याक राख्ने, भाइब्रेटर प्रयोग गर्ने र सुई दिने स्थानमा नदुख्ने औषधि वा सुई नै पनि लगाउन सकिन्छ ।

डा. पुडासैनी निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) तथा भक्तपुर स्किन एन्ड कस्मेटिक सेन्टर (बीएससीसी)मा छालारोग विशेषज्ञका रुपमा कार्यरत छन् ।
-कान्तिपुर दैनिकबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार