रातमा खुल्दैनन् अस्पताल क्षेत्रका एटिएम

तुलसीपुर । बैंकिङ कारोबारमा सहजता ल्याउने एउटा माध्यम हो एटिएम । एटिएम सेवा उपलब्ध भएका स्थानमा ग्राहकलाई आफ्नो खातामा भएअनुसारको रकम निकाल्न सम्बन्धित बैंक वा निश्चित समयको आवश्यकता पर्दैन । यो सेवालाई अझ प्रभावकारी बनाउन विभिन्न बैंकहरुले धेरै सेवाग्राहीले सेवा लिने स्थानहरुको आसपासमा समेत एटिएम सेवा सञ्चालन गरेको देखिन्छ । ता कि धेरै सेवाग्राहीले बैंकिङ सेवा लिन सकून् तर दाङको तुलसीपुर र घोराहीमा हस्पिटल गेटै अगाडि राखिएका एटिएम सेवाहरु विभिन्न कारण देखाएर बेलुका ६÷७ बजे नै बन्द हुन्छन् ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर अगाडि चिया पसल सञ्चालन गर्दै आएका लालसिंह खड्कासँग एटिएम सेवा बन्द हुँदा दुःख पाउनुपरेको गुनासो सुनाउनेहरु रातिमा थुप्रै हुन्छन् । ‘मैले राति १÷२ बजेसम्म पसल खोल्छु । बिरामी ल्याएर आएकाहरु चिया खान आउँछन् । कतिपयले गुनासो पोखेर जान्छन्’– उहाँ भन्नुहुन्छ– ‘हुन पनि हो मान्छेहरु पैसा बोकेर हिंड्दैनन् । रातिको समयमा एक्कासी बिरामी भयो । पैसा कहाँबाट निकाल्नु ? एटिएम बन्द हुन्छ । अस्पतालको गेटमा एटिएम छ तर मान्छेहरु पैसा निकाल्न बजारतिर दौडिनुपर्ने बाध्यता छ । यो एटिएम यहाँ हुनुको के अर्थ ?’

सेवा विस्तार गर्ने क्रममा प्रादेशिक अस्पताल, इलाका प्रशासन कार्यालय तथा इलाका प्रहरी कार्यालय तथा त्यहाँ आउने सेवाग्राहीलाई मध्यनजर गरेर त्यस ठाउँमा स्थापना गरेका हौं तर सुरक्षाको सवालमा अस्पताल प्रशासन र प्रहरी दुबैबाट खासै चासो नभएका कारण रातको समयमा बन्द गर्नुपरेको राष्ट्रिय वाणिज्य बैंक तुलसीपुरका शाखा प्रमुख गोपाल आचार्य बताउनुहुन्छ । ‘अस्पतालभित्र प्रहरी र सेक्युरिटी गार्डको २४ घण्टा ड्युटी हुन्छ । अस्पतालको गेटमै राखिएको एटिएमको सुरक्षा गर्न अस्पताल प्रशासन र प्रहरी तयार भएनन् । रातिमा नखोलौं भन्ने जवाफ आयो’– उहाँले भन्नुभयो– ‘हामीले सेवा दिनकै लागि त्यस ठाउँमा एटिएम स्थापना गरेका हौं तर रातिमा खोल्दा त्यसको सुरक्षाको जिम्मेवारी कसले लिने ? यदि त्यहाँ जनतालाई रातको समयमा पनि आवश्यकता पर्छ भने अस्पताल पनि जिम्मेवार बन्नुप¥यो नि । अस्पताल प्रशासन र प्रहरीसँग समन्वय हुन सके चौविसै घण्टा सेवा दिन तयार छौं ।’ सेवा प्रदायक संस्थाले सेवा दिनुपर्छ तर त्यसको सुरक्षाको जिम्मा राज्यले लिन सक्नुपर्छ अनि मात्र जनताले सेवा सुविधाको अनुभूति गर्न पाउने आचार्यको धारणा छ ।

घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि राखिएको लक्ष्मी बैंकको एटिएम रातभर बन्द नै रहन्छ । रातिमा पनि एटिएम खोल्दा सुरक्षाको चुनौती छँदैछ । साथै ग्राहकलाई सेवा दिने नाममा झनै सास्ती हुने हुँदा रातमा बन्द गर्ने गरेको लक्ष्मी बैंक घोराहीका म्यानेजर पदम केसी बताउनुहुन्छ । ‘एटिएम भनेको अनलिमिटेड रकम राख्ने मेसिन होइन, निश्चित रकम राखिन्छ । बिहान राखेको पैसा बेलुका ५ बजेभित्र कम भएको म्यासेज आयो भने पुनः रिफिल गर्छौं र ८÷९ बजेसम्म खुला राख्छौं । त्यसपश्चात भने बन्द हुन्छ’– उहाँ भन्नुहुन्छ– ‘रातको समयमा एटिएममा पैसा रिफिल गर्न सकिदैन । त्यो समयमा मेसिनमा जुनसुकै बेला रकम सकिन सक्छ । बिरामी लिएर आएको मान्छेले एटिएमबाट पैसा निकाल्न खोज्ला । पैसा निस्कन्न, पैसा निकालेको म्यासेज जान्छ । यसले मान्छेमा झन तनाव बढाउने हुँदा रातको समयमा बन्द गर्ने गरेका छौं ।’

घोराहीका सबैजसो बैंकका एटिएम सेवा रातको समयमा बन्द हुन्छन् । तुलसीपुर बजार क्षेत्रमा २४ बढी ‘क’ वर्गका बैंक छन् । यीमध्ये अधिकांशले एटिएम सेवा सञ्चालन गरेका छन् । जो दिनभरका लागि मात्र सञ्चालन हुन्छन् । एनएमबी, माछापुच्छ«े र एनआइसी एशिया बैंकका एटिएम भने रातभर पनि खुला नै हुन्छन् । विभिन्न समयमा भएका गतिविधि हेर्दा तुलसीपुर क्षेत्र सुरक्षाका दृष्टिकोणले अलि संवेदनशील मानिन्छ । यसका बाबजुद पनि एनएमबी बैंकले ग्राहकको आवश्यकतालाई महसुस गर्दै चौविसै घण्टा एटिएम सेवा दिइरहेको एनएमबी बैंक तुलसीपुरका प्रमुख रमेश रेग्मीले बताउनुभयो । ‘उसो त बैंकिङ कारोबारमा विभिन्न आधुनिक प्रविधिहरु भित्रिसकेका छन् । यद्यपि सबै ग्राहकहरु यी प्रविधिसँग अभ्यस्त नहुन पनि सक्छन् । त्यसलाई मध्यनजर गर्दै हामीले एटिएम सेवालाई चुस्तदुरुस्त राखेका छौं’– उहाँले भन्नुभयो– ‘सुरक्षा चुनौती त छ तर ग्राहकले सेवा पाउनुपर्ने मुख्य कुरा हो । त्यसैले राष्ट्र बैंकको नीति र एटिएमको मर्मअनुसार नै हाम्रो सेवा सञ्चालित छ । कहिलेकाहीं प्राविधिक समस्या हुन सक्छ । अन्यथा एनएमबी बैंक तुलसीपुरको एटिएम सेवा जुनसुकै बेला पनि सेवाका लागि तयारी अवस्थामा हुन्छ ।’

हाम्रो सरोकारको विषय होइन : मेसु

त्यो वाणिज्य बैंकले सञ्चालन गरेको एटिएम हो । उनीहरुले सुरक्षा व्यवस्था मिलाउन नसकेर बन्द गर्ने गरेका छन् । यहाँनेर एटिएम सेवा सञ्चालन हुँदा अस्पतालमा आउने सेवाग्राहीलाई सुविधा त भएको छ तर सञ्चालन गर्ने नगर्ने बैंकको कुरा हो । ठीक छ यदि अस्पतालमा आएका सेवाग्राहीलाई असुविधा भएको छ भने बैंकसँग समन्वय गरेर चौविसै घण्टा सेवा दिने गरी छलफल गर्छु ।

सुरक्षा चुनौती छैन : डिएसपी

हामीले सुरक्षा दिन सक्दैनौं भनेका छैनौं । बजारका हरेक स्थानमा प्रहरीको ड्युटी हुन्छ । मोबाइल गस्ती गर्छौं । उहाँहरुले किन सेवा दिन सक्नुभएको छैन । बैंकले पनि आफ्नो गार्ड राख्नुपर्ने हो कि, त्यो उहाँहरुको कुरा हो तर सुरक्षा चुनौतीका कारण एटिएम सञ्चालन गर्न सकेनौं भन्न मिल्दैन । फेरि हस्पिटलमा त चौविसै घण्टा प्रहरी ड्युटी हुन्छ । हस्पिटलको गार्ड हुन्छ । मानिसहरुको आवतजावत चलिरहन्छ । अनि त्यस्तो ठाउँमा सुरक्षा भएन भन्न मिल्छ ? निर्धक्क सेवा प्रवाह गर्न सक्नुहुन्छ । उहाँहरुले सेवा प्रवाह गर्दा सुरक्षा चुनौती हुँदैन ।
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार