देशको राजदूत : कुन देशमा कसका ज्वाईं र कसका आफन्त ?

सरकारले विभिन्न देशमा रिक्त २० राजदूत नियुक्तिको निर्णय गरेको छ । आज राती अबेरसम्म बसेको क्याबिनेट बैठकले छिमेकी चीनसहित २० देशमा राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

क्याबिनेटले राजनीतिक दलको कोटाबाट १२ जना र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । राजनीतिक कोटाबाट राजदूत सिफारिस हुनेमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका बहिनी-ज्वाईं कैलाश पोखरेलदेखि जसपाका नेता नवराज सुवेदीसम्म छन् ।

यसअघि ओमानका लागि राजदूत रहेकी शर्मिला पराजुली ढकाललाई फेरि स्पेनका लागि सिफारिस गरिएको छ । पोखरेल अष्ट्रेलिया र सुवेदी साउदी अरबका लागि सिफारिसमा परेका छन् । माओवादी केन्द्रको कोटामा परेको चीनका लागि राजदूतमा विष्णुपुकार श्रेष्ठ सिफारिस भएका छन् । उनी माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुख हुन् ।

त्यस्तै, मिलन तुलाधर रसिया र शान्ता रिजाल इजरायलका लागि राजदूत सिफारिस हुँदा परराष्ट्र सेवाबाट सहसचिव दुर्गाबहादुर सुवेदी पनि परेका छन्। उनी भर्खरै बेलायतबाट फर्किएर मन्त्रालयको प्रोटोकोल डिभिजन चीफमा कार्यरत थिए ।

क्याबिनेटले नेपाल टेलिकमको कार्यकारी निर्देशकमा दलाल दिपक भट्टनिकट सुनिल पौडेललाई नियुक्त गरेको छ । आजको क्याबिनेट बैठकले सरकारी खर्चमा २० प्रतिशत कटौती गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार