शुरु भयो थारु ग्राम निर्माणको काम

देउखुरी । थारु समुदायको आफ्नै मौलिक कला छ । त्यो कला लोप हुन थालेको छ । थारु समुदायको परम्परागत बस्ती तथा घरहरु पनि हराउँदै जान थालेका छन् । थारु बाहुल्य जिल्लामा थारु समुदायको कला, संस्कृति, परम्परा तथा सम्पदा संरक्षणका लागि सांस्कृतिक ग्राम निर्माण गर्न थालिएको छ । यो सांस्कृतिक ग्राम लुम्बिनी प्रदेशका १२ जिल्लामा बनाउन थालिएको छ । जसअन्तर्गत पहिलो चरणमा दाङ र बाँके जिल्लाका थारु बस्तीहरुमा सांस्कृतिक ग्राम र थारु परम्परासँग जोडिएका ‘ठाँटी घर’ निर्माण थालिएको हो ।

थारु जातिमा बैठक घरको रुपमा चिनिने ठाँटी घर लोप हुन थालेपछि त्यसको जगेर्ना गर्न लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक ग्रामअन्तर्गत ठाँटी घर निर्माण शुरु गरेको छ । ठाँटीघर बन्न लागेपछि विशेष गरी थारु समुदाय हर्षित भएका छन् । परम्परागत शैलीका घर पनि बन्ने र रोजगारी पनि पाइने आशा पलाएको स्थानीय अगुवा मंगलप्रसाद चौधरीले बताउनुभयो । ‘हाम्रो समुदायको परम्परागत कला संस्कृति हराउँदै जान थालेको छ । गरगहनादेखि पोशाकसम्म लोप हुन थालेका छन् । यो ठाँटीघरमा ती सामग्री संरक्षण गरेर राखिने भएपछि खुशी भएका छौं’– उहाँले भन्नुभयो– ‘पर्यटकहरु थारु घर हेर्न आउलान् अनि रोजगारी पाइएला ।’

प्रदेशका १२ जिल्लामा फरक–फरक कला, संस्कृति र जातिसँग जोडिएका ग्रामहरु निर्माण गरिदैछ । त्यसअन्तर्गत दाङको घोराही उपमहानगर पािलका वडा नं. ८ सौरी र बाँकेको राप्ती सोनारीमा सांस्कृतिक ग्रामअन्तर्गतको काम शुरु भइसकेको छ । लोपोन्मुख कला, संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रदेशका सबै जिल्लामा सांस्कृतिक ग्रामहरु बनाउन थालिएको लुम्बिनी पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभयो ।

‘हाम्रा परम्परागत कला, संस्कृति लोप हुन थालेका छन् । लोपोन्मुख कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले नयाँ कार्यक्रम बनाएका छौं’– उहाँले भन्नुभयो– ‘जहाँ जसको बाहुल्यता छ । त्यहाँ त्यही समुदायको कला संस्कृति झल्किने ग्रामहरु बनाउन थालेका हौं । यसबाट पर्यटन प्रवद्र्धन र रोजगारी दुबै सिर्जना गर्ने सरकारको लक्ष्य छ ।’ थारु समुदायको खानपान, रीतिरिवाज र परम्परालाई बचाउँदै व्यवसायीकरण गर्ने लक्ष्य प्रदेश सरकारको रहेको मन्त्री थारुले बताउनुभयो । पर्यटन डिभिजन कार्यालय बाँकेको आयोजनामा पाँच जिल्लामा सांस्कृतिक ग्राम निर्माण शुरु भएको छ । तीन वर्षमा पूरा गर्ने योजनासहित काम शुरु भएको कार्यालय प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभयो ।

‘दाङको अम्रै, जलौरा, सौंरी, सिसहनिया गरी चारवटा गाउँलाई जोडेर सात करोडको लगानीमा पूर्वाधार बन्दैछन्’– उहाँले भन्नुभयो– ‘सबै हिसावले काम सम्पन्न गर्ने दिशामा हामी पुगेका छौं ।’ यो नयाँ कार्यक्रम हो । विगतका वर्षमा यस्तो कार्यक्रम थिएन । चालु आर्थिक वर्षमा नयाँ कार्यक्रमको रुपमा सांस्कृतिक ग्राम निर्माणको योजना थपिएको हो । रोल्पा र रुकुममा मगर सांस्कृतिक ग्राम, प्युठान, गुल्मी र अर्घाखाँचीलाई खस–आर्य सांस्कृतिक ग्राम, दाङ, बाँके, बर्दियामा थारु सांस्कृतिक ग्राम, तराईमा मिश्रित सांस्कृतिक ग्राम र मधेशमा मधेस सांस्कृतिक ग्राम निर्माणको काम अघि बढेको हो । आफ्नो पुरानो संस्कृति, चालचलन र रीतिरिवाजलाई बचाएमा पर्यटक भिञ्याउने माध्यम बन्ने देखिन्छ । तर यसअघि पनि विभिन्न नाम दिएर ग्रामहरु बनाउन बजेट तथा कार्यक्रम लागु गरिएको थियो । ती कार्यक्रमहरुको प्रभावकारितामा प्रश्न उठेको थियो । यसपालि बन्दै गरेका सांस्कृतिक ग्रामहरुलाई चलायमान र आयआर्जनसँग अनिवार्य रुपमा जोड्न जरुरी छ ।
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार