एलसीको असर : चोरी बाटो रोज्दै व्यापारी

बाँके  । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले प्रतितपत्र (एलसी) नखोलिदिएपछि भारतका विभिन्न शहरबाट ल्याइएका सामान सीमावर्ती भारतीय बजारमै अलपत्र परेका छन् ।

आफ्ना सामान भिञ्याउनका लागि व्यापारीको दौडधुप बढेको छ । बिलासिताकासहित ४७ प्रकारका सामानमा एलसी अनिवार्य गरिएको थियो । अहिले आएर बैंकले एलसी नै बन्द गरेका छन् । नेपालगञ्जका सेराज राई नेपालगञ्ज भन्सार कार्यालयमा भन्सार अधिकृतसँग सामान भिञ्याउन के गर्न सकिन्छ भन्दै अनुनय गरिरहेका थिए । राईले भारतको पञ्जाबबाट मगाएको ४८ लाखको सामान सीमावर्ती भारतीय रुपैडिहा बजारमा थन्किएको छ । ‘बैंकले एलसी हुँदैन भन्छ । एलसी नभएपछि भन्सारले आउन दिदैन । किनेको ठाउँमा सामान फिर्ता हुँदैन भन्छ’– राईले भन्नुभयो– ‘मेरो ४८ लाखको सामान एक हप्तादेखि रुपैडिहामा थन्किएको छ ।’

राईले अब रुपैडिहाकै व्यापारीलाई सस्तोमा बेच्नुको विकल्प नभएको बताउनुभयो । राईको ह्याण्ड टुल्सहरु रेन्ची, पिलास, स्क्रुड्राइभर, कपडालगायतका सामान छन् । रुपैडिहाबाट यस्ता सामान नेपालगञ्जमा कुनै न कुनै बाटोबाट सहजै आइपुग्ने गर्दछन् । भारतबाट सामान मगाउने र भन्सार आइपुगेपछि मात्रै एलसी खोज्ने व्यापारी ठूलो मारमा परेका छन् । व्यापारी राईले एलसीले गर्दा काम गर्न धेरै गाह्रो भएको र व्यापार नै डुबेको बताउनुभयो । सुर्खेतका एक होटल सञ्चालक भन्सारमै पहिला मगाएको सामान अलपत्र परेकाले राजश्व तिरेर ल्याउन दिन अनुरोध गरिरहेका थिए । भन्सार अधिकृत प्रवीण सुब्बा लिम्बुले पहिले नै टीटी गएको छ भने बैंकलाई भनेर सहजीकरण गर्न सकिने आश्वासन दिइरहनुभएको थियो । आलु, माछा, केरादेखि फलफूलमा समेत एलसी लगाइएपछि नेपालगञ्जमा राजश्व असुली खस्किने र चोरबाटोको कारोबार बढ्ने देखिएको छ ।

भारतका विभिन्न शहरबाट सीमावर्ती रुपैडिहासम्म आइपुगेको सामान छोटी नाकाबाट नेपालगञ्ज भित्रिने गर्दछन् । एकजना भन्सार कर्मचारी भन्दै थिए, ‘तीन महिनादेखि जुत्ता ल्याउन रोकिएको छ । नेपालगञ्ज बजारमा गएर हेर्ने हो भने सबै पसलमा जुत्ता टनाटन छन् । नेपालगञ्जमा सिधा भन्दा छोटी नाकाबाट धेरै सामान भित्रिन्छन् ।’ एलसी अनिवार्य गरेर बिलासिताको सामान भिञ्याउन रोक लगाइएसँगै बाँकेका छोटी नाकाहरुमा कडाई गर्न जरुरी देखिन्छ । चोरी तस्करी बढ्न थालिसकेको छ । जमुनाहा प्रहरीले बुधबार नै छ थान सोफासेट बरामद गरेको छ । पाँच दिनअघि सीमावर्ती गाउँ परसपुरबाट ठूलो मात्रामा चिनी बरामद गरिएको थियो ।

एलसीले गर्दा भन्सारको राजश्व असुलीमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । भन्सार अधिकृत सुब्बाले सामान आउन नै कमी भएपछि स्वतः राजश्व असुलीमा प्रभाव पार्ने बताउनुभयो ।
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार