उदयपुरकी छात्रा कविताको हत्यामा संलग्न युवक सार्वजनिक

काठमाडौं । प्रहरीले उदयपुरको बेलका नगरपालिकाकी १६ वर्षीया छात्रा कविता सुनुवारको हत्यामा पक्राउ परेका आरोपितलाई सार्वजनिक गरेको छ ।

बुधवार जिल्ला प्रहरी कार्यालय उदयपुरमा भएको पत्रकार सम्मेलनमा घटनामा संलग्नलाई सार्वजनिक गरिएको हो । प्रहरीले हत्यामा संलग्न बेलका ३ बस्ने १९ वर्षीय विनोद ढकाललाई सार्वजनिक गरेको हो ।

यस्तै घटनामा एक नाबालिकको संलग्नता देखिए पनि उनलाई सार्वजनिक गरेको छैन । भारतको सिक्किम राज्य बियुङ घर भएका विनोद गएको एक वर्षदेखि ती नाबालिकको घरमा बस्दै आएका थिए ।

उनीहरूले हिजो मङ्गलवार बिहान ट्युशन पढ्न जाने निहुँमा कवितालाई बोलाएर बाटोमा हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए ।

हत्याको मुख्य योजनाकार नाबालिक रहेको बताइएको छ । मृतक बालिकालाई पछाडिबाट रक्सीको खाली बोतलले टाउकोमा प्रहार गरेको र अरूले थाहा पाउँछ भन्ने डरले पछि ढुङ्गाले हानेर मारेको बयान उनीहरूले दिएका छन् ।

बालिकाको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । उदयपुर जिल्ला अदालतबाट आरोपित बालिकालाई ५ दिन र विनोद ढकाललाई ७ दिन म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार