अमेरिकाको क्यालिफोर्नियामा नयाँ बर्षमा ‘नेपाल डे परेड’ आयोजना हुँदै

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा नेपाली नयां वर्षको उपलक्ष्यमा ‘नेपाल डे परेड’ आयोजना हुने भएको छ । एनआरएन युएस पश्चिम तटीय क्षेत्र र क्यालिफोर्निया च्याप्टरले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाली नयां वर्षको उपलक्ष्यमा क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा “नेपाल डे परेड” आयोजना गर्न लागेको हो ।

अप्रिल ९ तारीख शनिबारका दिन बिहान ११ बजे सान् फ्रान्सिस्कोको फेरी बिल्डिंगबाट सुरु भएर सिभिक सेन्टरको यु एन प्लाजामा पुगेर कोण सभामा परिणत हुनेछ। कार्यक्रममा अमेरिकाका विभिन्न राज्यहरुबाट र क्यालिफोर्नियाका विभिन्न सहरहरुबाट हजारौंको संख्यामा सहभागीहरु उपस्थित हुने मूल आयोजक समितीका संयोजक श्रीराम थापाले बताए ।

एनआरएनएले विभिन्न स्थानीय संघसंस्थाहरुसंग सहकार्य गरेर आयोजना गरेको कार्यक्रममा प्राय सबै संघसंस्थाहरुको प्रत्यक्ष संलग्नता रहने बताईएको छ । विभिन्न संस्थाहरुले आफ्नो समुदाय अनुसार विभिन्न जातजाति, भाषा, धर्म र संस्कृति झल्काउने झांकी र भेषभुषा सहित परेडमा सहभागी हुने परेडको संघ संस्था संयोजन समितीका संयोजक उत्तम कार्कीले जानकारी दिए।

कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेर, दोहोरी गायक मिलन लामा, गायिका संगिता थापा मगर, गायक उदय भट्टराई लगायत अन्य स्थानीय कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रमका संयोजक निर्मल फुयांलले जानकारी दिए ।

३० डलर प्रवेश शुल्क तोकिएको उक्त कार्यक्रमको टिकट www.thingsnepali.com बाट लिन सकिने आयोजकले जनाएको छ। मुलतः अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेपालीलाई नेपालसँग जोड्नका लागि कार्यक्रमको आयोजना गरिएको राजन कँडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार