होटलको क्षमता बढाउन अत्याउँदै सभागृह

घोराही  । नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशन चैत २५ गतेदेखि बहुउद्देश्यीय सभागृह घोराही–१४ मा हुँदैछ । ऐतिहासिक मगरात भूगोल घोराही दाङ भने तापनि स्थान छनोट विशाल सभागृहले गर्दा भयो ।

त्यसमा देश विदेशका आठसय बढी प्रतिनिधि सहभागी हुने व्यवस्थापनमा खटिनुभएका प्रेम बुढा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार सबै होटेलमा पुगेर बुकिङ लिने काम शुरु भएको छ । होटल व्यवसायीले उच्च, मध्यम र निम्न स्तरका लजको विवरण दिने गरेका छन् । अतिथिहरुलाई खानपिनको प्रबन्ध नेपाल मगर संघ दाङले मिलाउनुपर्नेछ । तीन दिन कार्यक्रम हुने र आउने जाने गरी केही अतिथिलाई करिब पाँच दिन बसाल्नुपर्नेछ । त्यसका लागि १५ देखि २० लाख लाग्ने अनुमान गरेको छ । यसरी खाना खुवाउने होटलबाट मात्रै लाखौं रुपैयाँ नगद घोराहीमा रहनेछ । यही कार्यक्रम अन्त भएको भए यहाँको रकम अन्यत्र जान्थ्यो ।

शिक्षक सेवा आयोगको परीक्षा दिन आएका एक सय ६२ जना चार दिनसम्म त्यही सभागृहमा बास बसे । त्यसको व्यवस्थापनमा खटिनुभएका दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य माधव खनालका अनुसार परीक्षा दिन आएका जति सबैलाई होटल पुगेन । संघले जिम्मेवारी लिएर बसाल्यो । बाहिरबाट आएकालाई सुरक्षित वास बसाल्नु संघले कर्तव्य ठान्यो । त्यहाँ बसेका परीक्षार्थीहरु नजिकैको होटल मनकामना र हाम्रो होटलमा खाना खाएको सदस्य खनालको भनाइ छ । उहाँका अनुसार होटल मनकामनाले लजको सुविधा पनि दिएको थियो । सभागृहमा बसेका अधिकांश सेवार खोला नयाँ बसपार्कका होटलमा खानका लागि झरेका थिए । ती दुईबाहेक सभा गृहका आसपासमा त्यति ठूला होटल छैनन् । चिया, समोसा, खाजा नास्ता खुवाउन सक्ने मात्रै छन् । खाना खानका लागि उनीहरुलाई अलिक तल वसपार्क झर्नुपर्छ । संघका विष्णुप्रसाद रिजाल र विकास ओलीलगायत राति विस्कुट चपाउँदै व्यवस्थापनमा खट्नुभयो ।

यसैगरी दाङ देउखुरी होटल व्यवसायी समितिले पनि अतिथिलाई सक्दो स्वागत गर्न बैठक बसाल्यो । समितिका वरिष्ठ उपाध्यक्ष ईश्वर बुढा मगरका अनुसार शिक्षक सेवा आयोगको परीक्षा दिन आएका बाह्य आगन्तुक परीक्षार्थीहरुलाई हाम्रो शहरमा रहेका होटल तथा लजमा बास बस्न अपुग भएको निष्कर्ष निकाल्यो । दाङ जिल्ला उद्योग वाणिज्य संघको सहकार्यमा सभाहलमा बास बस्न व्यवस्था मिलाइयो र आवश्यक परेमा सुनछहरी प्राविधिक शिक्षालयको होस्टेल र माउन्टभ्यु टेनिङ सेन्टरको होस्टलमा सहकार्य गरी राख्ने निर्णय गरियो भनेर माइन्युट भयो । यसरी संस्थागतरुपमा पहल गरेपछि सडकमै सुत्ने वातावरण बनेन । तर परीक्षा दिन आएकाहरु होटलमा एक्ला एक्लै रुम र बेड कमैले पाए । कतिपय होटलमा नास्ता खाने हलका कुर्सी हटाएर पनि सामूहिक सुत्ने व्यवस्था गरियो । बेड नभएकाले पनि टेन्टबाट लत्ताकपडा भाडामा ल्याएर सुताए । सानातिना होटलले पनि धेरै पाहुना राखे । ठूला होटल भने एक साता अघिदेखि नै बुकिङ भएका थिए । यसले पनि घोराहीमा होटल तथा लजका क्षमता बढाउन माग गरेको छ ।

अवलोकन गर्न जाने क्रममा अर्घाखा“ची र स्याङ्जामा ठूला हल देखेपछि आफूहरुलाई पनि सभाहल बनाउने योजना फुरेको संघका निर्वतमान अध्यक्ष नारायणप्रसाद भुसालको भनाइ छ । त्यसपछि जग्गा खोज्दै जाने क्रममा नगर विकास समितिले प्लटिङ गर्दैछ रे भन्ने सुईंको पाइयो । त्यही ठाउँमा हल बनाउँदा उचित हुन्छ भन्ने लाग्यो । महोत्सव चल्यो र पाँच रुपैयाँ अभियानै चलाएर रकम संकलन गरियो । त्यसले अहिले संस्थागत विकास भएको छ । घोराहीको उत्तरी बजार सुक्यो भनेर चिन्ता गरिरहेका बेला सभा गृह निर्माण भएको छ । गत फागुन २६ देखि चैत नौ गतेसम्म झिंगौरामा दाङ औद्योगिक पर्यटन तथा कृषि प्रदर्शनी २०७८ सञ्चालन भयो । त्यो रकम अण्डर ग्राउन्ड पार्किङसहितको बहुउद्देश्यीय भवन बनाउने लक्ष्य रहेको संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको भनाइ छ । यदि त्यो सम्पन्न भयो भने चहलपहल थप बढ्नेछ । सभागृहका ठूला कार्यक्रममा जति सवारी साधन ल्याए पनि सुविधा दिनेछ । त्यसले लुम्बिनी प्रदेशस्तरका कार्यक्रम गर्न थप मद्दत दिने देखिन्छ ।

‘ठूलो विकास भएको छ’– संघका अध्यक्ष टंकसिंह बुढाथोकीले भन्नुभयो ‘अहिले त गजब छ नि ।’ आठ सय कुर्सीहरु सहितको सभा हल छ । औपचारिक कार्यक्रम गर्न एक हजारजनासम्म व्यवस्थापन गर्न सकिन्छ । पार्टीका ठूला कार्यक्रमहरु हुन थालेका छन् । हिउँद वर्षा जहिले आयोजना गरेपनि घामपानीले अवरोध गर्ने टन्टा हटेको छ । अब त्यही अनुसारका होटल, खाजा घर, रेष्टुरेन्ट विकास गर्न जरुरी छ । यो सभागृहको उपलब्धि हो ।
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार