जहाँबाट सुरु भयो जनयुद्ध

  पहिलो पेज

 86 पटक हेरिएको

होलेरी त्यो इतिहास हो, जसको छातीमा बन्दुक पड्काएर जनयुद्ध सुरुवात भएको थियो ।  रोल्पा, रुकुम लगायतका पहाडी जिल्लाहरूमा आधार इलाका बनाएको माओवादीले देशव्यापी रूपमा विभिन्न स्थानमा रहेका प्रहरी चौकी र सरकार संयन्त्रहरूमा आक्रमण गरेको थियो।

रोल्पा र रुकुमलाई आधार मानेर माओवादीले सुरु गरेको सशस्त्र जनयुद्ध मुलुकभर फैलियो र १० वर्ष चल्यो । राज्य र विद्रोही दुवैका निशानामा परेको तत्कालीन मध्यपश्चिमका रुकुम, रोल्पा, सल्यान, जाजरकोटका गाउँलेले अकल्पनीय ज्यादती खेपे ।

‘जनयुद्ध’ मा रोल्पामा मात्रै ७४२ माओवादी सहिद भए, कतै तिनका सालिक बनेका छन्, कतै नाम खोपिएका छन् । ती सहिदका सपना के थिए ? अहिले के भयो ? होलेरीमा त्यसकै विम्बको रूपमा शान्ति स्मारक बनेको छ । होलेरीमा बनेको शान्ति स्मारकमा राज्यबाट मारिएका ३० जना र माओवादीबाट मारिएका ९ जनाको नाम मार्बलमा कुँदिएको छ । माओवादी आक्रमणमा ध्वस्त भएको प्रहरी चौकीमाथि बनेको शान्ति स्मारकलाई ६८ लाख खर्च लागेको छ । त्यहीँ उभिएर पुनले ‘युद्धको इतिहास जीवित राख्दै सामाजिक, आर्थिक विकासमा लाग्ने’ प्रतिबद्धता व्यक्त गरेका थिए ।

माओवादीले ०५२ फागुन १ गते पुलिसचौकी हानेर ‘जनयुद्ध’ थालेपछि र दोस्रो (०५८ असार २७) आक्रमण गरेको होलेरीलाई कुनै बेला भुरेटाकुरे राजा बसेको गढी र स्वर्गद्वारी जन्मगाउँ रुन्टीलाई मिलाएर ‘रुन्टीगढी’ को रूपमा ब्रान्डिङ गरिएको छ । गढीमा लुकेर बसेको माओवादी छापामारले पहिलोपटक होलेरी प्रहरी चौकी हानेको थियो । यो गाउँपालिकाको नाम होलेरी रहेको भए सायद युद्धको झल्को दिन्थ्यो । होलेरी क्षेत्रका नेकपा नेता (पूर्वएमाले) कुमार दसौदी भन्छन्, ‘ऐतिहासिक ठाउँको आधारमा गाउँपालिकाको नाम रह्यो ।’ १० वर्षे युद्धका बेला उनी होलेरी आउजाउ गरिरहन्थे । त्योबेला होलेरी क्षेत्रमा माओवादी–एमालेबीच चर्को द्वन्द्व थियो । दसौदी २०५५ मा दुई साता माओवादीको अपहरणमा परे । भन्छन्, ‘हिजो आमनेसामने भएका हामी अहिले एउटै पार्टीमा छौं । ती तीता घटना बिस्तारै भुल्दै छौं ।’

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार