जलजला हेर्न हेलिकोप्टरको यात्रा

रोल्पा । रोल्पाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जलजला पुग्नका लागि सदरमुकाम लिबाङदेखि हेलिकप्टरबाट उडान शुरु गरिएको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुनछहरी गाउँपालिका–७ जेलबाङमा रहेको गेमी होमस्टे र पोखरास्थित फिस्टेल एयरको साझेदारीमा हेलिकोप्टर उडान शुरु गरिएको हो । लिबाङ–जलजला पर्यटन उडानको शनिबार रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले उद्घाटन गर्नुभयो । फिस्टेल एयरका पाइलट क्याप्टेन सुजल श्रेष्ठ र जलजला घुम्न जाने पहिलो उडान यात्रुहरु संगम रोका र उहाँका परिवारलाई रोल्पा नगरपालिकाका मेयर केसी र उपमेयर मनकुमारी घर्तीले फूलमाला लगाएर पर्यटन उडानको शुभारम्भ गर्नुभएको थियो ।

पहिलो दिन शनिबार पाँचवटा उडानका लागि २५ जनाले अग्रिम टिकट बुकिङ गरेका गेमी होमस्टेका अध्यक्ष पृथ्वी पुनले जानकारी दिनुभयो । लिबाङदेखि जलजला उडानका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ तोकिएको छ । पर्यटन प्रवद्र्धनका लागि जलजला पुग्न सडक यात्रा कठिन भएकाले पर्यटकहरुको माग अनुसार हेलिकप्टर उडान शुरु गरेको बताउनुभयो । सुनछहरी गाउँपालिका–२ भित्री गाममा पर्ने रोल्पा जिल्लाकै अग्लो पहाड, पर्यटकीय स्थल कोठीभिरमा पनि हेलिकोप्टरको उडान गरिने भएको छ ।

समुद्री सतहबाट तीन हजार छ सय ४० मिटरको उचाइमा रहेको कोठीभिरमा अहिले बाक्लो हिउँ जमेका कारण हेलिकोप्टर ल्याण्ड गर्न नमिल्ने भएकाले त्यहाँ उडान गर्न नसकिएको गेमी होमस्टेका अध्यक्ष पृथ्वी पुन मगरले बताउनुभयो । २०२० को नेपाल भ्रमण वर्षमा देशभरका एक सय गन्तव्यमा परेको जलजला माओवादी जनयुद्धको केन्द्रको रुपमा पनि परिचित छ । जलजला माओवादीले द्वन्द्वकालमा आफ्नो आधार इलाकाका रुपमा प्रयोग गरेको थियो । जलजला पहाडमा वैशाख, जेठ र साउने पूर्णिमामा मेला लाग्ने गर्दछ ।

पर्यटन उडानका लागि जिल्लाको तीन स्थानबाट उडानको व्यवस्था मिलाइएको छ । सुनछहरी गाउँपालिकाको पोबाङ, सुलीचौर र लिबाङबाट जलजलाका लागि हेलिकोप्टरमा हवाई यात्रा गर्न सकिनेछ । जलजला थबाङ गाउँपालिका, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिकाको सिमानामा पर्ने सु्न्दर पहाडको रुपमा अवस्थित रहेको छ । प्राकृतिकरुपमा निकै मनमोहक रहेको जलजला पहाड धार्मिकरुपमा समेत प्रसिद्ध छ । केही दिन अगाडि जलजलामा हिउँ परेकोले जलजलामा हिउँ खेल्न जानेहरुको भीड लाग्ने गरेको छ ।
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार