भारतमा ‘हिजाब’ को मुद्दा चर्कियो

एजेन्सी । भारतको कर्नाटक राज्यमा धार्मिक पोशाक लगाउने अधिकारलाई लिएर धार्मिक तनाव बढेको छ । त्यहाँको उच्च अदालतले विद्यालयमा कुनै पनि धार्मिक पोशाक लगाउन नपाइने आदेश दिएपछि विद्यालयमा हिजाब लगाइएका मुस्लिम छात्राहरुलाई विद्यालय प्रवेशमा रोक लगाइएको छ ।

कर्नाटक राज्यमा देखिएको उक्त तनाव अहिले भारतका विभिन्न राज्य र शहरमा भित्रिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अदालतको आदेशको समर्थन गर्दै केही हिन्दू विद्यार्थी र पुरुषले मुस्लिम छात्राहरुलाई विद्यालयमा प्रवेश गर्न नदिएपछि उक्त तनाव बढेको हो ।

जबरजस्ती विद्यालय छिर्न खोजेका र हिजाब लगाएका छात्रालाई उनीहरुले कुटपिट गरेका छन् भने हिजाब खोल्न बाध्य बनाएको बताइन्छ । त्यसरी हिजाब लगाएका महिला र छात्रामाथि आक्रमण गर्ने भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) का कार्यकर्ता रहेको पीडितहरुले बताएको सीएनएनको समाचारमा उल्लेख छ ।पछिल्लो द्वन्द्वले कर्नाटकमा धार्मिक विभाजनको रेखालाई कोरिदिएको छ । गत जनवरीमा हिजाब लगाएका मुस्लिम छात्रालाई कक्षाकोठामा प्रवेश गर्न रोकेकोमा छात्राहरूको एउटा समूहले विद्यालय बाहिर विरोध प्रदर्शन गरेपछि उक्त घटना बाहिरिएको हो ।

कर्नाटक राज्यको उक्त विवादले राजधानी नयाँ दिल्ली,मुम्बई र कलकत्तामा हिन्दू र मुस्लिमको समर्थनमा प्रदर्शन हुन थालेको छ । केही समयदेखि सहज देखिएको धार्मिक विवादमा कर्नाटकको पछिल्लो घटनाले आगोमा घिऊ थपिदिएको पश्चिमा सञ्चारमाध्यमहरुको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार