दाङमा सम्बन्ध बिच्छेद बढ्दै

घोराही । दाङमा पति पत्नीबीचको सम्बन्ध बिच्छेद्का मुुद्दा बढेका छन् । दाङ जिल्ला अदालतमा दर्ता हुने मुद्दामा सम्बन्ध विच्छेदका मुद्दा धेरै भएको पाइएको हो ।

जिल्ला अदालतले कुल मुद्दाको सरदर २६ प्रतिशत मुद्दा सम्बन्ध बिच्छेदका दर्ता हुने गरेको जनाएको छ । अदालतमा अहिले तीन सय ५८ वटा सम्बन्ध बिच्छेदका मुद्दा छन् । पुस मसान्तसम्म कुल आठ सय ७० वटा मुद्दा अदालतमा रहेका थिए । तीमध्ये पाँच सय १२ जनाको जोडी अलग भएका छन् । कानुनीरुपमै सम्बन्ध बिच्छेद गर्न पाउने अधिकार स्थापित भएसँगै अदालतमा यस्ता मुद्दाको चाप बढ्दै गएको छ ।

न्यायाधीश रितेन्द्र थापाले सम्बन्ध बिच्छेदका लागि आउने जोडीलाई विदेश गएका थियांै कि नाईं ? भनेर सोध्ने प्रश्न प्रमुख बनेको छ । ‘जति पनि सम्बन्ध बिच्छेदका लागि मुद्दा लिएर आउँछन् सबैलाई मैले विदेश गएको हो कि नाईं भनेर पहिलो प्रश्न गर्छु’– न्यायाधीश थापाले भन्नुभयो– ‘अधिकांश मुद्दाहरु वैदेशिक रोजगारीका क्रममा आएको फाटोले सिर्जना गरेको छ ।’ अदालतमा जति मुद्दाहरु आउँछन् अधिकांश वैदेशिक रोजगारीमा श्रीमान वा श्रीमती गएको र त्यस बीचमा हुने बदमासी, विमति, बेमेल र अविश्वासले सम्बन्ध बिच्छेद हुने गरेको उहाँको भनाइ छ ।

घोराही–३ की एक महिलाको दुईवटा बच्चा छन् । उनका श्रीमान रोजगारीका लागि कतार गएका थिए । बालबच्चालाई लालनपालनसँगै पढाउने जिम्मेवारी दिएर श्रीमान् कतार गए । श्रीमान कतार गएको केही महिनापछि श्रीमतीले गाउँमा बच्चाहरुलाई नपढाउने र बजारको बोर्डिङ स्कुलमा पढाउने सोचले श्रीमानसँग प्रस्ताव राखिन् । श्रीमानले पनि बालबच्चाको भबिष्य सोचेर हुन्छ भने । घोराहीकै एक निजी विद्यालयमा बच्चाहरुलाई पढाउने गरी एउटा कोठा भाडामा लिएर शहर पसे ।

कोरोनाको बेला बच्चाहरुले अनलाइन पढ्ने अवस्था आएपछि श्रीमानले मोवाइल किन्ने पैसा पठाइदिए । त्यही मोबाइल अहिले श्रीमान श्रीमतीको छुटावाटा गर्ने अस्त्र भयो । फेसबुुक, भाइबर, ह्वाट्सएपमा अनेक व्यक्तिहरु सँग निकटता जोडियो । विस्तारै श्रीमानले थाहा पाउँदै गए, बुझ्दै गए । पैसा पठाउन छोड्न थालेपछि विवाद हुन थाल्यो । अन्ततः सम्बन्ध तोडेर आ–आफ्नोढंगले बस्ने निधोमा उनीहरु पुगे । यो त एउटा उदाहरण मात्रै हो जिल्ला अदालतमा कहिले काहीं दैनिक तीन वटासम्म सम्बन्ध बिच्छेदका मुद्दा दर्ता हुने गरेका छन् । किशोरीहरु पनि सम्बन्ध बिच्छेदका लागि पुग्ने गरेका छन् । सानै उमेरमा विवाह गर्ने र विवाहको अर्थ बुझ्ने समयमा सम्बन्ध तोड्ने पनि अधिक रहेको अदालतको भनाइ छ ।

‘सामान्य कुरामा विवाद भयो, त्यसले बिस्तारै ठूलो रुप लिने र सम्बन्ध तोड्ने निष्कर्षमा पुग्नेहरुको संख्या निकै धेरै छ’– न्यायाधीश थापाले भन्नुभयो । माया र विश्वास सकियो त सम्बन्ध पनि सकियो यस्तो अवस्थामा अहिलेका जोडी छन् । वैदेशिक रोजगारसँगै मादकपदार्थ सेवन गरेर कुटपिट गर्ने, लामो समय श्रीमान श्रीमती टाढा बस्ने, परपुरुष र परस्त्रीसँगको हिमचिमले पनि श्रीमान श्रीमती छुट्टिदै अलग हुने गरेको उहाँको भनाइ छ ।

यसैबीच अदालतमा बहु र बाल विवाहका मुद्दासमेत पर्न थालेका छन् । कानुनले बाल विवाह र बहुविवाहलाई मान्यता नदिएसँगै अदालतमा यस्ता मुद्दा पर्न थालेका छन् । गएको पुस मसान्तसम्म अदालतमा ५५ वटा त्यस्ता मुद्दा रहेकोमा २२ वटा किनारा लागे सँगै ३३ वटा किनारा लाग्न बाँकी रहेका छन् । अहिले समाजमा बाल विवाह हुन लागेको थाहा पाए त्यसलाई रोक्न बाल सञ्जाल र किशोरी समूह पनि लागिपरेका छन् भने बहुविवाह गर्ने श्रीमानका बिरुद्ध उजुरी गर्न महिला पनि सक्षम बन्दै गएका छन् ।

आर्थिक वर्ष २०७५÷७६ मा नौ सय १५ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए । तीमध्ये छ सय ४० वटा मुद्दा किनारा लागेको देखिएको छ । त्यस्तै २०७६÷७७ मा सात सय ८४ वटा मुद्दा रहेकामा चार सय ४९ वटा मात्रै फछ्र्यौट भएको अदालतको भनाइ छ ।

यसैगरी, २०७७÷७८ मा बढेर एक हजार ५४ वटा मुद्दा रहेकामा सात सय १३ वटा मात्रै फछ्र्यौट भएका थिए । अदालतमा आउने सम्बन्ध बिच्छेदका मुद्दाहरुको पनि समयमै फछ्र्यौट हुन नसक्ने अवस्था छ । अन्य मुद्दाहरुको पनि सुनुवाइ गर्नुपर्ने भएका कारण र न्यायाधीशहरुको संख्या पनि दरबन्दी तथा मुद्दाको चाप अनुसार नहुँदा मुद्दाहरु फछ्र्यौट नभई जिम्मेवारी सर्ने क्रम पनि उत्तिकै रहेको छ ।
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार