बृहत दाङ सिंचाई आयोजना: घोराही क्षेत्रमा सबैभन्दा बढी ड्याम

तुलसीपुर । जीर्ण अवस्थामा पुगेका सीमसार क्षेत्र, ताल तलैया, पोखरीको संरक्षण गर्न थालिएको छ ।प्रदेश र स्थानीय सरकारमार्फत् त्यस्ता क्षेत्रको संरक्षण गर्न थालिएको हो ।

जिल्लाको उत्तरी क्षेत्रमा त्यस्ता सीमसार क्षेत्रलाई बढी प्राथमिकता दिएर संरक्षण गर्न थालिएको छ । डिभिजन वन कार्यालयले मात्रै बबई, तुलसीपुर, घोराही, शान्तिनगर गाउँपालिकाका वन क्षेत्रमा त्यस्ता सीमसार क्षेत्रको संरक्षण गरेको छ ।

डिभिजन वन कार्यालय मार्फत् विभिन्न सामुदायिक वन क्षेत्रका पोखरी संरक्षण कार्य सम्पन्न गरिएको छ । वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जैविक विविधता कायम गर्न, वन क्षेत्रमा गर्मीयाममा डढेलो नियन्त्रण गर्न, जलचर, थलचर, वन्यजन्तुको संरक्षणका लागि पोखरी निर्माण गरिएको बताउनुभयो ।

बृहत दाङ उपत्यका सिंचाई आयोजनामार्फत् जिल्लामा १७ वटा ड्याम गत वर्ष निर्माण गरिएको थियो भने यो वर्ष नौवटा निर्माण गर्न थालिएको छ । आयोजनाका सूचना अधिकारी शान्तराज गौतमले ती ड्याम उत्तरी क्षेत्रका वन क्षेत्रमा र दक्षिणी क्षेत्रमा सीमसार क्षेत्रमा बनाइएको बताउनुभयो । पर्यावरणकर्मी डिल्लीबहादुर रावतले जिल्लामा सीमसार क्षेत्र संरक्षण अभियानकै रुपमा सञ्चालन भएपछि नयाँ–नयाँ प्रजातिका चराहरु देखिन थालेको बताउनुभयो । उहाँले उत्तरी क्षेत्रमा निर्माण गरिने ड्याम, पोखरीले जैविक विविधता कायम गर्नुका साथै गर्मीयाममा पानीका मुहान सुक्ने समस्या दीर्घकालीनरुपमा समाधान हुने बताउनुभयो ।

जिल्लामा सबैभन्दा बढी घोराही उपमहानगरपालिका क्षेत्रमा ड्याम निर्माण गरिएको छ । त्यहाँ दुई दर्जनबढी पोखरी, ड्याम निर्माण गरिएको छ । तुलसीपुर–१८ मा चारवटा पोखरी निर्माण गरिएको छ । तीमध्ये दुईवटा रानी सामुदायिक वन क्षेत्र र कात्तिके रानी सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा बनाइएको वडाध्यक्ष माधव ओलीले जानकारी दिनुभयो । चरा संरक्षणकर्मी चिरञ्जीवी खनालका अनुसार जिल्लामा सीमसार क्षेत्रको संरक्षणसँगै नदी, खोलामा जाने चराहरु त्यस्ता सीमसार क्षेत्रमा देखिन थालेका छन् । पछिल्लो समयमा खोला, नदीमा बालुवा गिट्टी उत्खनन, क्रसर उद्योग र मानवको उपस्थिति हुन थालेपछि चरा सीमसार क्षेत्रमा बढी देखिन थालेको बताउनुभयो । दाङ उपत्यकाभित्र रहेका दुई दर्जनबढी खोलाहरुमध्ये गर्मीयाममा अधिकांश खोला सुक्ने गरेका छन् । डिभिजन वन कार्यालयले सीमसार दिवसका अवसरमा कार्यक्रम समेत आयोजना गरेको थियो ।
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार