मास्क पहिराउन सकस

घोराही । ‘यी मास्क लगाउनुस्’– बिनामास्क लम्किरहेका एक पुरुषलाई तुलसीपुरचोकको उत्तरी किनारामा उभिएकी टिला परियारले भन्नुभयो । जवाफमा ती पुरुषले गोजीबाट निकालेर मास्क देखाउनुभयो । ‘यी यहीं छ लैजान्न ।’

हुइँ किएर पश्चिमतर्फबाट मास्क नलगाएका मोटरसाइकल चालक मास्कका पोका समातेका महिला स्वास्थ्य स्वयंसेविका दिसा जिसी र सिसा नेपालले खटाएका स्वयंसेविका टिलाको नजिक हुँदै आए । दुबैले एकै स्वरमा ‘रोक्नस् रोक्नुस् मास्क खै ?’ तिनको मोटरसाइकल पनि अलि पर गएर साइड लाग्यो । ती चालक रिसाएको भावले हेरेर फेरि वाइक उसै गतिमा गुडाए । अर्को मोटरसाइकल पनि त्यसै गतिमा आयो । स्वयंसेवकले त्यसरी नै मास्क दिने प्रयास गरेका थिए । उनले कुनै वास्ता नगरी आफ्नो सवारी उसै गतिमा हुइँकाए । तिनले फर्केर पनि हेरेनन् । मुख्य चोकको कोलाहलले सुन्दै नसुनेको वा त्यसरी मास्क बाँड्नेलाई नपत्याएको हो, त्यो बुझ्न सकिएन ।बच्चालाई हातमा मास्क खेलाउन दिएका एक आमा नजिकै आउनुभयो ।

‘मास्क लगाउनुस् किन खेलाउन दिनुभएको छ’– स्वयंसेवकले भनेपछि ती आमा खिस्स हाँस्नुभयो । उहाँलजाएको दृश्यले स्वास्थ्यकै कारण मास्क लगाउनुपर्छ भन्ने बुझेको लाग्दैनथ्यो । अरुले केही भन्लान् भन्ने डरले मास्क साथमा थियो । कसैले सोधे देखाउँला भन्ने मानसिकता उहाँजस्ता धेरैमा छ । मयलले राङटा बसेको प्रष्ट देखिने फोहोर मास्क लगाएका पाका व्यक्ति आउनुभयो । ‘यो लगाउनुस त्यो फाल्नुस’ भनेपछि अकमकाउनुभयो ।

‘पैसा तिर्नुपर्दैन लैजानुस्’ भनेपछि मात्रै मास्क फेर्नुभयो । यसले हरेक दिन दश रुपैयाँको मास्क किन्न सबैलाई सजिलो छैन भन्ने बुझ्न सकिन्थ्यो । त्यसो गर्दा पनि पाँचजनाको परिवारमा ५० रुपैयाँ दिनहुँ मास्कका लागि मात्रै खर्च निकाल्नुपर्छ । उहाँको पहिरनले त्यसरी मास्कमा दिनहुँखर्च गर्न सक्नुहुन्छ जस्तो लाग्दैनथ्यो । चश्मा लगाउनेहरुले सासको वाफले सिसा धमिलो पार्ने बताउँछन् । साइकल हाक्ने, रनिङ गर्ने, शारीरिक श्रम गर्नेहरु छिटो छिटो सास फेर्नुपर्छ र अफ्ठेरो हुने भएकाले मास्क लगाउन चाहँदैनन् ।

बजारमा हिड्ने, धुलो खानुपर्ने र गाडीको गन्धलगायत अनेक फोहोरबाट जोगिन मास्क लगाउने धेरै छन् । मास्ककै कारण रोग छल्न सकिनेमा शतप्रतिशत विश्वास गरेको देखिन्न । उसैगरी साइकलमा खुरर्र एकजना आउनुभयो । उहाँले गम्छाले मुख छोप्नुभएको थियो । उहाँले पनि मास्क लैजान सजिलै मान्नुभएन । उहाँलाई सम्झाउँदै कर गरेरै स्वयंसेवकले मास्क दिए । यसरी कार चढेका, वसमा सवार, टिप्परका चालक हरेकलाई त्यसरी नै मास्क लगाउन भनियो ।

लाठी टेक्दै आएका एकजना बृद्धले स्वयंसेवकले दिएको मास्क बीचैबाट हातले चपक्कै समात्नुभयो । त्यसरी पसिना आएको मैलो हातले समाउन हुन्नथ्यो । लोतीमा मात्रै हात लगाउनुपर्छ । त्यसरी समात्ने तरीका पनि सिकाउनुपर्ने त्यहाँ देखिएको आनीवानीले प्रष्ट पार्दथ्यो । कतिपय अवस्थामा मास्क दिनेहरुले पनि फोहोर हुनेगरी असुरक्षित तरीकाले खुला मास्क हातले समातेका हुन्छन् । मास्क नलगाएका भन्दा बढी समात्न नजान्नेहरु सडकका मास्क अभियान चलेको बखत देखिन्छन् । मास्क समाउनै नजानेकाले वितरण गर्दा झन् भद्दा र अपत्यारिलो मानिन्छ । बजारमा बिक्रीका लागि राखिएका मास्क धुलो उड्ने ठाउँमा खुलै राख्ने गरिएको हुन्छ ।

लोती मात्रै समात्नुपर्छ भनेर जानेका न्यून छन् । थाहा पाएकाले पनि अरु कपडा जस्तै समात्छन् । त्यतातिर पनि छुट्टै अभियान चलाउनुपर्ने चिकित्सकहरुको सुझाव छ । कतिपय टाठाबाठा जस्ता देखिने लोभीहरुले अरु आठ दशवटा मास्क दिनुस् न भन्थे । तर आफूसँग भएको मास्क देखाउँदै यहीं छ लैजान्न भन्ने इमान्दारहरु पनि कैयौं थिए । निःशुल्क इन्टिजेन टेष्टमा खट्नुभएका घोराही उपमहागरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती मगरलाई समेत माग्न भ्याउँथे । प्रमुख घर्ती फिल्डमा लामै समय खट्नुभयो । तुलसीपुर चोकमा सिसा मास्क बैंक स्थापना गरेर सिसा नेपालले हजारौं मास्क बाँडेको छ । धेरैलाई लाभ हुनेगरी मास्क सहयोग कार्यक्रम चलाएको थियो । संस्थाका अध्यक्ष साजिदा सिद्धिकी आफै उपस्थित भएर पनि मास्क

बाँड्नुभयो । विभिन्न क्षेत्रका अगुवाहरु पनि अभियानमा सामेल हुनुभएको थियो । प्रहरी, रोटरी लगायत विभिन्न निकायले मास्क खै अभियान चलाउने गरेका छन् । सचेतनाका लागि उनीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको मानिन्छ ।
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार