घरभित्रै काटिन्छ गाई !

बाँके । प्रहरीलाई बिहान १० बजे खजुराको चमकदारपुरमा गाई काटेको खबर आयो । इलाका प्रहरी कार्यालय, धनौलीको टोली चमकदारपुर पुग्यो । प्रहरीको गाडी देखेपछि वासिम साई भागे । वासिमको घरमा गाई काटिएको थियो ।

प्रहरीको टोली वासिमको घरभित्र पस्यो । वासिमकी श्रीमती सलमा साई गाईको मासु पोको पारेर कुनामा लुकाउन व्यस्त थिइन् । प्रहरीले वासिमको घरबाट ४० किलो गाईको मासु र हतियार बरामद ग¥यो । गाई काट्न लागिपरेका स्थानीय आलम साई र कलिमुन साईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मुख्य व्यक्ति वासिमसहित अर्का एकजना फरार रहेका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ ।

खजुराको उढरापुरमा एक महिनाअघि गाईको मासुसहित दुईजनालाई पक्राउ गरिएको थियो । पक्राउ परेका दुबैजना पटके थिए । उनीहरु अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् । खजुरा गाउँपालिकाको उढरापुर, रनियापुर, चमकदारपुरमा गाई काटेको घटना बाहिर आइरहन्छन् । स्थानीयले घरभित्रै गाई काट्ने गरेको पाइन्छ । पक्राउ परेकी सलमाले आफूहरुले खानका लागि गाई काटेको बताउनुभयो ।

एउटै घरमा ४० किलो मासु खान सम्भव देखिदैन । सलमाले खानका लागि भने पनि बिक्री वितरणका लागि गाई काटेको प्रहरीको आँकलन छ । केही वर्षअघि उढरापुरमा गाई काटेको र सुकुटी बनाएको अवस्थामा प्रहरीले ठूलो मात्रामा मासु बरामद गरेको थियो । खजुराका यी गाउँमा खानसँगै बिक्रीका लागि गाई काट्ने गरेको छ ।

बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले गाई काटिरहेको अवस्थामा मासुसहित तीनजनालाई पक्राउ गरेको जानकारी दिनुभयो । ‘४० किलो मासुसहित तीनजनालाई पक्राउ गरिएको छ । दुईजना फरार भएका छन्’– प्रवक्ता न्यौपानेले भन्नुभयो– ‘फरार रहेका दुईजनाको खोजी गरिरहेका छौं ।’ गाई नेपालको राष्ट्रिय जनावर हो । हिन्दू समुदायले गाईलाई माताको रुपमा पूज्ने गर्दछन् । गाई काट्न नेपालमा प्रतिबन्ध रहेको छ । यो अवैधानिक काम खजुरा क्षेत्रमा भइरहेको छ । खजुरा क्षेत्रमा घरभित्रै र कतिपयले खेतमा झिसमिसेमा गाई काट्ने गरेको पाइन्छ ।
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार