युवाले गरे थर र पेशा परिवर्तन

बाँके । बाँके हिरमिनियाका केलारामले थर ‘महाउत’ लेख्नुहुन्छ । उहाँको अघिल्लो पुस्ताले ‘मगन्ता’ लेख्ने गर्थे । मगन्ता भनेको मागेर खाने जात हो । केलारामका अघिल्लो पुस्ताले पनि मागेरै जीवन गुजारा गरे । केलारामको पुस्तामा आइपुग्दा पढ्न लेख्न थाले । केलाराम स्वयं एसएलसी उत्तीर्ण हुनुहुन्छ । केलाराम भन्नुहुन्छ– ‘मगन्ता लेख्दा मागेर खाने जात हो भन्दै हेला र छुवाछुतको व्यवहार हुन्थ्यो । हामीले आत्मसम्मानका साथ बाँच्न चाहेकाले थर परिवर्तन गरेका छौं ।’

हिरमिनियामा मगन्ताको एक सय १२ घर छन् । त्यो गाउँलाई मगन्ता टोल नै भनिन्थ्यो । पछिल्लो पुस्ताले मगन्ता टोललाई महाउत टोल भन्न थालेको छ । केलाराम भन्नुहुन्छ– ‘अघिल्लो पुस्ताको नागरिकतामा मगन्ता थर छ । पछिल्लो पुस्ताले महाउत लेखाइरहेका छन् । यो भनेको बाबु बाजेले जसरी मागेर खाने होइन कि आफैले काम गरेर खानुपर्छ भन्ने हो ।’ गाउँमा अझै पनि बुढापाकाले मागेर खाने गर्दछन् । छोरा पुस्ताले मागेर होइन, काम गरेर खानुपर्छ भन्ने सिकाइरहेका छन् ।

महाउत टोलमा अहिले युवा पुस्ताले अटोरिक्सा चलाउँछन् । मजदुरी गर्छन् । केलाराम विदेश (दुबई) गएर आउनुभयो । अहिलेको पुस्ताले छोराछोरीलाई पढाइरहेका छन् । केहीले निजी विद्यालय त धेरैले सामुदायिक विद्यालयमा छोराछोरीलाई पढाइरहेका छन् । महाउतमा परिवर्तन आइरहेको छ । बाँके र बर्दियाका केही ठाउँमा गरेर तीन सय घरधुरीजति छन्, महाउत । बाँकेको हिरमिनियाको अलावा चौफेरी र बर्दियाको बेलवामा मगन्ताको बसोबास छ । चौफेरी र बेलवाका बासिन्दाले मगन्ता नै लेखिरहेका छन् । ‘अरु मानिसले घृणा गर्ने भएकाले हामीले थर र पेशा परिवर्तन गरेका छौं । बाँकेको चौफेरी र बर्दियाको बेलवाका बासिन्दाले अझै पनि मगन्ता नै लेख्छन्’– केलारामले भन्नुभयो– ‘उनीहरुमा विस्तारै परिवर्तन आउला । थर उही राखेर पेशा परिवर्तन गर्ने पनि हुनसक्छ ।’

मगन्ता वा महाउत जाति सूचीकृत छैन । यो जातिलाई सूचीमा राख्ने कुरा हुँदा कतिपयले महाउत भनेको हात्ती डुलाउने मान्छेलाई भन्छन् भनेर बेवास्ता गरेको केलारामले सुनाउनुभयो । सम्मानपूर्वक बाँच्नका लागि युवा पुस्ताले थर र पेशा परिवर्तन गरे पनि अझै गाउँको अवस्था उस्तै छ । गरिबी उस्तै छ । गरिबीको फाइदा उठाउँदै धर्म परिवर्तन गराउनेहरु सक्रिय छन् । बाँकेमा गरिबलाई सहयोग गर्नेभन्दा महाउतको गाउँ सम्झिने गरिन्छ । चिसोमा गरिब विपन्नलाई न्यानो कपडा वितरण गर्दा पनि महाउत टोल छुटेन । नेपाली सेनाको भैरवप्रसाद गण, रोयल नेपालगञ्ज क्लब, जिल्ला विपत् व्यवस्थापन समितिले महाउत टोलमा कम्बल सहयोग गरे ।

गाउँका पढेका र चल्तापुर्ता युवा केलाराम आफ्नो जातिको उत्थानमा लागिपरेका छन् । गाउँमा समूह बनाएका छन् । ३२ घर समूहमा बसेका छन् । मासिक सय रुपैयाँ संकलन गर्छन् । धेरैजसोले सुंगुर पालेका छन् । विभिन्न ठाउँमा माग्न जाँदा आफूहरुलाई ‘उमेर छ । हात खुट्टा राम्रा छन् । किन मागेर खान्छौ ? भनेर प्रश्न तेस्र्याउने गरेको अघिल्लो पुस्ताले सुनाउँदा पछिल्लो पुस्ता त्यो वाक्यबाट आत्मसम्मान गिरेको महसुस गर्ने गरेका छन् । युवा पुस्ताको प्रयासलाई अघिल्लो पुस्ताका केहीले थर परिवर्तन गरे पनि पेशा जारी राखेर चुनौती भने दिइरहेका छन् ।
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार