दैनिक फोहर उठाउँदै तुलसीपुर

  पहिलो पेज

 82 पटक हेरिएको

तुलसीपुर बजार क्षेत्रमा केही समय पहिले दैनिक फोहर उठाउन मुस्किल हुने गर्दथ्यो । पर्याप्त जनशक्ति तथा स्रोत साधन र डम्पिङ साइडलगायतका विभिन्न कारणले तुलसीपुर बजार क्षेत्रको फोहर दैनिक संकलन गरी व्यवस्थापन गर्न समस्या हुने गरेको थियो । तर अचेल तुलसीपुर उपमहानगरपालिकाले दैनिकरुपमा बजारमा संकलन भएको फोहर उठाउन थालेको उपमहानगरपालिका सरसफाई शाखाले जनाएको छ ।

उतिबेला फोहर नउठेपछि गुनासो पनि धेरै आउने गर्दथ्यो । तर पछिल्लो समय तुलसीपुर बजार क्षेत्रबाट दैनिक फोहर संकलन हुने गरेको छ । दीर्घकालीन डम्पिङ साइड हुन नसके पनि अहिलेसम्म तुलसीपुर बजार क्षेत्रको फोहरलाई दैनिक व्यवस्थापन हुँदै आएको तुलसीपुर उपमहानगरपालिका बातावरण तथा सरसफाई शाखा प्रमुख खेमकान्त पाण्डेले जानकारी दिएका छन् । स्थानीय सरकारमा जनप्रतिनिधि आइसकेपछि थप स्रोत साधनसहित आवश्यक जनशक्ति बृद्धि गरेपछि अहिले फोहर उठाउनलाई कुनै समस्या नभएको उनले बताए ।

‘कुनै समय सीमित स्रोत र साधन तथा जनशक्तिले काम गर्नुपर्दा गुनासो धेरै सुन्नपथ्र्यो’, उनले भने– ‘तर पछिल्लो समय त्यति गुनासो सुन्न परेको छैन ।’ उनले फोहर संकलनका लागि गाडीहरुको समयतालिका बनाएको बताए । अहिले आफूसहित गाडी ड्राईभर, सरसफाईकर्मी (स्वीपर)लगाएत ५२ जना कर्मचारी रहेको उनको भनाइ थियो । पाण्डेका अनुसार फोहर उठाउनका लागि नगरपालिकाको चारवटा टेक्टर, एउटा टेक्टर भाडामा गरी पाँचवटा टेक्टर र दुई वटा कम्प्याक्टर गरी जम्मा सात वटा साधन रहेका छन् । तुलसीपुर बजार क्षेत्रबाट अहिले दैनिक २२ देखि २४ टन फोहर उठ्ने गरेको छ ।

तुलसीपुर बजार क्षेत्रमा क, ख, ग, घ र ङ पाँच वटा लाइन रहेका छन् । विशेषगरी क लाइनअन्तर्गत तुलसीपुर–अमिलिया रोड र घोराही रोड क्षेत्रबाट बढी मात्रामा दैनिक फोहर संकलन हुने गरेको शाखा प्रमुख पाण्डेले बताए । तुलसीपुर बजार क्षेत्रसँग जोडिएका मुख्यगरी वडा नम्वर ५, ६, ७, १२ र १८ लाई बजार उन्मुख क्षेत्रका रुपमा परिचित छन् । त्यसैगरी वडा नं. ८, वडा नं. ९ बेलुवा, तुलसीपुरको शितलपुर घाटसम्म पुगेर फोहर उठाउने काम गरेको उनको भनाइ छ ।

त्यसबाहेक कारागार, १९ नं. बाहिनीबाट उत्पादन हुने फोहर नियमितरुपमा उठाउन नसकेपछि सोही क्षेत्रमा खाडल खनेर व्यवस्थापन गर्ने काम पनि आफूहरुले गरेको उनले बताए । साथै ती कार्यालयहरुमा डष्टविनहरु पनि राखिएको छ । त्यस्तै आहा अभियान तुलसीपुरको आयोजनामा भर्खरै बजार क्षेत्रका विशेषगरी तुलसीपुरको क लाइनमा अवस्थित व्यापारीहरुलाई तीन सय बढी डष्टविन वितरण गरिएको छ । अन्य क्षेत्रमा पनि ठाउँ–ठाउँमा डष्टविन राखिएकोले पैदलयात्रीहरुलाई पनि सहज हुने उनको भनाइ छ ।

एक वर्षलाई धान्ने गरी डम्पिङ साइड व्यवस्थित

तुलसीपुर उपमहानगरपालिकाले दीर्घकालीनरुपमा डम्पिङ साइट निर्माण गर्न नसके पनि अस्थायी डम्पिङ साइडलाई व्यवस्थित गरिएको बताएको छ । हाल तुलसीपुर ६ र १२ को सिमाना कुकुरे भजनास्थित लुम्बिनी प्रदेश प्रहरी कार्यालय नजिकै एयरपोट जाने चिरामा फोहर व्यवस्थापन भइरहेको छ । एक वर्षसम्म व्यवस्थापन गर्ने गरी डम्पिङ साईड निर्माण गरिएको छ । जाली तथा वाल निर्माण गरी सुरक्षित र व्यवस्थित तरिकाले बनाएको उनले बताएका छन् ।

भोलिका दिनमा उक्त फोहर बगेर दक्षिणतर्फ किसानका खेत तथा अन्यत्र नजाओस् भनेर चारैतिरबाट तारजाली गरिएको छ । त्यस्तै त्यस क्षेत्रको वरपरका बस्तीमा दुर्गन्ध फैलिन नदिनका लागि किटनाशक औषधिहरु हाल्ने र रेखदेख गर्नका लागि एकजना हेरालु परिचालन गरिएको छ । जसले गर्दा सुरक्षित र व्यवस्थित नै भएको उनको दावी छ । यस्तैगरी डम्पिङ साइडको छेउबाट नाला र कुलो समेत बनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार