राप्तीमा छैन लोभीपापी गरुड

 69 पटक हेरिएको

तुलसीपुर । सदाको वर्षजस्तै जाडोयाममा देउखुरीको राप्ती नदी क्षेत्रमा देखापर्ने लोभीपापी गरुड यस वर्ष भने देखापरेको छैन ।

विश्वमै दुर्लभ ठानिएको गरुड प्रत्येक वर्ष जाडोयाममा राप्ती नदी क्षेत्रमा देखापर्दै आएको थियो । लोभीपापी गरुड नेपाल, भारत, इन्डोनेसियाको रैथाने चरा हो । नेपालमा लोभीपापीको सुर्खेत, जाजरकोट, चितवन, दाङ जिल्लामा बसोबास रहँदै आएको थियो । पाँच वर्षदेखि यस क्षेत्रमा जलपंक्षी गणना गर्दै आउनुभएका चिरञ्जीवी खनालले जलपंक्षी गणनाका क्रममा उक्त गरुड नभेटिएको बताउनुभयो ।

लोभीपापी गरुड लोपोन्मुख अवस्थामा सूचीकृत पंक्षी हो । गतवर्ष राप्ती नदी क्षेत्रमा चारवटा भेटिएका थिए । गणनाका क्रममा १४ प्रजातिका चरा भेटिएका थिए । यो वर्ष गणनाका क्रममा सबैभन्दा चखेवा तीन सय ४० वटा र सबैभन्दा कम कालो गरुड एउटामात्रै भेटिएको खनालले बताउनुभयो । गत वर्ष देखिएको जुरे हुटिट्याउँ र खोया हाँस पनि यो वर्ष देखिएनन् । वेटल्याण्ड इन्टरनेशनलको संयोजन तथा हिमाली प्रकृतिको समन्वयमा देशभर पानीचरा गणनाको काम भएको थियो । देउखुरी क्षेत्रमा संयोजन गर्दै आउनुभएका खनालले राप्ती नदीमा भालुबाङबाट शुरु गरिएको पहिलो चरणको गणना महदेवा पुलसम्म गरिएको बताउनुभयो ।

दोस्रो चरणमा लमहीको मध्यनगर घाटदेखि, लमही गढवा जोड्ने राप्ती पुलसम्म गरिएको हो । उहाँले यो पटकको गणनामा रिहारमा बनेको नयाँ तालमा समेत केही चरा देखिएको बताउनुभयो । जखेरा ताल, चरचरे तालमा भने चरा देखिएनन् । गणनाका क्रममा चखेवापछि मणितुण्डक र कर्रा सावरीको संख्या बढी छ । गणनामा खोले हुटिट्याउँ, जलेवा, डुबुल्की चरा, सिलसिले र सुनजुरे हाँस चरा पनि भेटिएका छन् ।

पछिल्ला समयमा नदीजन्य पदार्थको संकलन र नदी तटमा तटबन्धनको काम भइरहेको हुँदा चरा नआएको हुन सक्ने संयोजक खनालले बताउनुभयो । ‘चरा शान्त वातावरणमा रमाउन चाहन्छन्’– खनालले भन्नुभयो– ‘तर पछिल्लो समयमा नदीलगायतका क्षेत्रमा मानिसको उपस्थिति बढ्दा नआएको हुन सक्छन् । रिहारमा बनेको नयाँ सिमसारमा चरा देखिनु पर्यापर्यटन र अनुसन्धानकर्ताहरुका लागि सुखद कुरा भएको संयोजक खनालले बताउनुभयो । गणना टोलीमा प्रतीक पाण्डे, राजीव डिसी, विशाल गैरे हुनुहुन्थ्यो ।

गत वर्ष दाङ उपत्यकामा चरा गणना गरिएको थियो । यो वर्ष भने गरिएको छैन । पछिल्लो समय दाङ उपत्यकामा कृत्रिम ताल बन्न थालेपछि चराहरुको आकर्षण बढ्न थालेको चरा गणना गर्दै आउनुभएका पर्यावरणकर्मी डिल्लीबहादुर रावतले बताउनुभयो । गतवर्ष नेपाल पंक्षी संरक्षण संघको प्राविधिक सहयोगमा पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रले दाङ उपत्यकाभित्र रहेका ताल, पोखरीमा चरा गणना गरेको थियो । सो क्रममा दाङमा लोभीपापी गरुड भेटिएको थियो ।
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार