दाङमा एक लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन

घोराही । दाङमा उत्पादन वृद्धि भए पनि देशभर धान उत्पादनमा ह्रास आएको छ । समयमै मनसुन शुरु हुँदा राम्रै उत्पादन भएको धानबाली भित्र्याउने बेलामा परेको वर्षाले डुबाउँदा उत्पादनमा ह्रास आएको हो । यति क्षति हुँदाहुँदै पनि दाङमा गतवर्षको तुलनामा ३.३७ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र दाङले यो वर्ष दाङमा एक लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको जनाए पनि समग्र देशको उत्पादनमा कमी आएको तथ्यांकले देखाएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यसवर्ष विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७÷७८ को तुलनामा चालु आवमा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको हो । चालु आवमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको हो । गत आवमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै आव २०७६÷७७ मा ५५ लाख ५० हजार आठ सय ७८, आव २०७५÷०७६ मा ५६ लाख १० हजार र २०७४÷७५ मा ५१ लाख ५१ हजार नौ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा मन्त्रालयले यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरेता पनि धान थन्काउने बेलामा नै वर्षा र हावाहुरीका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी आएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिमका कैलाली र कञ्चनपुर तथा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, कपिलवस्तुलगायत विभिन्न जिल्लामा बैमौसमी वर्षाले किसानको धानमा क्षति पु¥याउँदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो । यस वर्षको बेमौसमी वर्षाले देशभरका एक लाख ११ हजार ६ सय ९ हेक्टरमा लगाइएको चार लाख २४ हजार १ सय १३ टन धानबालीमा क्षति पु¥याएको मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति उत्पादन ?

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा कमी आएको छ । सो प्रदेशमा चार लाख ४१ हजार ९१३ मेट्रिक टन धान उत्पादन भएको हो । गत आवको तुलनामा ३१.४९ प्रतिशतले उत्पादनमा कमी आएको छ ।

यस्तैगरी लुम्बनी प्रदेशमा १८.३८ प्रतिशत, प्रदेश नं १ मा ०.९३ प्रतिशत, मधेश प्रदेशमा ५.२४ प्रतिशत, बागमती प्रदेशमा ०.३५ प्रतिशत र कर्णालीमा ८.७६ प्रतिशतले उत्पादनमा कमी आएको छ ।

प्रदेशगत रुपमा धान उत्पादनको अवस्था हेर्दा गत आवको तुलनामा यसवर्ष गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ । चालु आ.व.मा गण्डकी प्रदेशमा मात्र २.३३ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसवर्ष धान रोप्ने समयमा नै मनसुन सक्रिय हुँदा १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । नयाँ युगबाेध दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार