४२ तोला अवैध सुनसहित दुईजना पक्राउ

काठमाडौं । पोखराबाट करिब ४२ तोला सुनसहित दुई जना पक्राउ परेका छन् । अवैध सुन लिएर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा ३० पावर हाउसमा चेकजाँच गर्ने क्रममा काठमाडौँबाट पोखरा आउँदै गरेको बसबाट बागलुङका २० वर्षीय अम्मर विश्वकर्मालाई पक्राउ गरेको हो ।

उनको साथबाट २० तोला ४३ लाल ८ प्वाइन्टको ३ थान सिक्री बरामद गरिएको छ । काठमाडौँबाट पोखरा नै आउँदै गरेको माइक्रो बसमा चेकजाँच गर्दा म्याग्दीको अन्नपूर्ण २ घर भएका २९ वर्षीय अङ्कित सुनारसमेत समातिएका छन् ।

सुनारको साथबाट ५ थान सिक्री, एक थान औँठी र एक जोर रिङ गरेर कूल २१ तोला ९० लाल ३ प्वाइन्ट अवैध सुन बरामद गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

उनीहरूलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार