दाङका गुण्डा नाइके विकास पुन सुन्धाराबाट पक्राउ

 193 पटक हेरिएको

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दाङका गुण्डा नाइके विकास पुनलाई सुन्धाराबाट पक्राउ गरेको छ।

सीआईबीका अनुसार ४० बर्षीय पुनलाई सोमबार राति ठगी मुद्दामा सुन्धाराबाट पक्राउ गरिएको हो ।

पुनविरुद्ध गत पुस २१ गते कपिलवस्तुका तिलक थापाले ५० लाख ठगेर भागेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । पुनले आफूलाई खोलाको काममा पार्टनर बनाउने भन्दै पैसा लिएर भागेको थापाको आरोप छ ।

दाङ घोराहीका ‘डन’ भनेर चिनिने पुन यसअघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आएकाे बताइन्छ । उनी पहिलोपटक २०७३ सालमा ज्यान मार्ने उद्योगमा पक्राउ परेका थिए । पुनको उक्त मुद्धा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ।

कुमार घैँटेको इन्काउन्टरपछि दाङमै चन्दा असुलीमा सक्रिय रहेका पुनलाई ज्यान मार्ने मुद्धामा जिल्ला अदालत दाङले ५ बर्षको कैद सजाय तोकेको थियो। त्यसपछि पुन सर्वोच्चमा अपिल गर्न पुगेका थिए ।

पछिल्लो समय पुनले दाङको देउखुरी क्षेत्रस्थित राप्ती नदीबाट बालुवा गिट्टी निकासीको काम गर्दै आएकाे बताइएकाे छ । पुनमाथि घोराहीलाई आधारक्षेत्र बनाएर गुण्डागर्दी, चन्दा असुली र मिटर ब्याजमा लगाएका पैसा असुल्ने गर्दै आएको समेत आरोप लाग्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार