कोइलावास नाकाबाट भारतीयको लस्कर

कोइलावास । माघे सक्रान्तिमा लाग्ने रिहार मेला भर्न र स्वर्गद्वारी महाप्रभुको दर्शनका लागि भन्दै कोइलावास नाकाबाट भारतीयहरु दाङ भित्रिरहेका छन् ।

भारतको उत्तरप्रदेशलगायतका विभिन्न जिल्लाबाट भारतीयहरु दाङको नाका क्षेत्र भएर निर्वाधरुपमा नेपाल पसिरहेका छन् । नाकामा सामान्य स्वास्थ्य जाँचबाहेक अरु हुँदैन ।

लक्षण देखिएका व्यक्तिको मात्रै एन्टिजेन टेष्ट गरिन्छ तर मंसिर दोस्रो हप्ताबाट स्थापना गरिएको हेल्थ डेस्कबाट अहिलेसम्म कसैको एन्टिजेन गरिएको छैन । कोइलावास नाकामा थर्मलगनले ज्वरो जाँच गर्ने, मास्क लगाएको छ छैन हेर्ने र नेपाल भित्रिएका व्यक्तिको विवरण संकलन गरिन्छ ।

गत मंसिर १४ गते कोइलावासमा हेल्थ डेस्क स्थापना गरिएको हो । भारतबाट नेपाल भित्रिनेहरुको मात्रै जाँच हुँदै आएको छ । ‘यदि ज्वरो आएको छ भने मात्रै एन्टिजेन गर्छौं । अहिलेसम्म त्यस्तो केस भेटिएको छैन’– गढवा स्वास्थ्य चौकीमा कार्यरत ल्याव असिस्टेन्ट मीना यादवले भनिन– ‘मेला महोत्सवले गर्दा नाकाबाट धेरै मानिसहरु भित्रिरहेको पाएका छौं ।’ भारतबाट दाङको कोइलावास नाका हुँदै नेपाल भित्रिनेहरुको संख्या बढेको छ । जसले गर्दा कोरोना संक्रमणको जोखिम बढाएको छ ।

माघीमा लाग्ने मेला भर्न भारत उत्तर प्रदेशका नागरिकहरु कोइलावासलगायत नाकाबाट दाङ भित्रिने गरेको नेपाल सशस्त्र प्रहरी सीमा प्रहरी चौकी कोइलावासले जनाएको छ ।

दैनिक सय, डेढ सयको हाराहारीमा नाकाबाट भारतीयहरु भित्रिने गरेका हुन् । प्युठानको स्वर्गद्वारी र लमही नगरपालिका–९ रिहारमा लाग्ने मेला भर्न भारतीयहरु आउने क्रम बढेको गढवा गाउँपालिका वडा नं. ८ का अध्यक्ष सद्दाम सिद्धिकीले जानकारी दिनुभयो । ‘कोइलावाससम्म पुग्ने पक्की सडक भएपछि यो नाका प्रयोग गरेर भित्रिनेहरुको संख्या बढेको हो’– उनले भने– ‘गाउँपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा हेल्थ डेस्क स्थापना गरेका छौं ।’

चल्तीको नाका नभएकाले यहाँ कोरोना परीक्षणको लागि कडाइ नगरिएको पाइएको छ तर दैनिक मानिस भित्रिने क्रम भने चलिरहेको छ । कोइलावास मात्रै होइन दाङका अन्य चल्तीका नाकाहरुबाट पनि भारतीयहरु मेला भर्ने उद्देश्यले आउने क्रम चलिरहेको छ । भारतमा ओमिक्रोन कोरोना भाइरसको संक्रमण तीब्र हुँदा जिल्लाको खुला सिमानामा कडाइ गरिएको छैन । बाँकेको जमुनाहा र कृष्णनगर नाकाबाट समेत मानिसहरु भित्रिने क्रम जारी छ । नाकामा भित्रिएकाहरुको परीक्षण गर्दा अधिकांशमा कोरोना संक्रमण पाइएको छ ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले मानिसहरुको भित्रिने क्रम बढेसँगै हेल्थ डेस्कको क्षमता बढाइने बताए । ‘अहिले त पालिकास्तरबाट सामग्री पु¥याउने र स्वास्थ्य कार्यालयबाट समन्वयको काम भइरहेको छ’– उनले भने– ‘नाकामा होल्डिङ सेन्टर चलाउन आवश्यक परेमा प्रदेश र केन्द्र सरकारको सहयोग आवश्यक पर्छ ।’

नेपाल प्रवेश गर्नेहरुको भने कोरोना परीक्षण उनीहरुमा देखिने लक्षणका आधारमा मात्रै गर्ने गरिएको छ । ‘ज्वरो आएको, रुघा लागेको अथवा विरामी देखिएकाहरुको एन्टिजेन गर्ने गरेका छौं’– गढवा स्वास्थ्य शाखाका प्रमुख कैलाश चौधरीले भने– ‘हेल्थ डेस्कमा स्वास्थ्य जाँच हुन्छ । अनि मात्रै नेपाल प्रवेश गर्न पाउँछन् ।’ नाकाबाट आवत जावत गर्ने हरेकलाई मास्क अनिवार्य गरिएको, स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको नेपाल सशस्त्र प्रहरी सीमा प्रहरी चौकीका प्रमुख माधव ढुंगेलले बताए । ‘खुला सिमाना हो । आवतजावत पूर्णरुपमा रोक्न सक्ने अवस्था छैन । तर स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेका छौं’– उनले भने– ‘मास्क नलगाई प्रवेश गर्न दिएका छैनौं ।’

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लामा मेला महोत्सव लगाउन रोक लगाएको बताए । प्रजिअ रेग्मीका अनुसार मेला महोत्सवको लागि भारतबाट आउनेहरुलाई दाङको नाकाबाट प्रवेशमा रोक लगाइएको छ । तर नाकाबाट मानिसहरु प्रवेश गर्ने क्रम भने रोकिएको छैन । ‘मेला महोत्सव लगाउन रोक लगाएका छौं । रिहार मेलामा आउने भारतीयहरुलाई नाकामा रोक्ने प्रयास छ’– उनले भने–‘आइसकेकाहरुको हकमा स्वास्थ्य मापदण्ड पालना अनिवार्य गर्न लगाउने भनेका छौं ।’

स्थानीय सरकारले आवश्यकताको आधारमा स्मार्ट लकडाउनको लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग गर्ने र सोही आधारमा स्मार्ट लकडाउनमा जान सक्ने बताए । ‘संक्रमणदर बढ्दै जाँदा हामीले अरु निर्णयहरु पनि लिन सक्छौं’– प्रजिअ रेग्मीले भने– ‘यसमा बढी स्थानीय सरकार जिम्मेवार हुनुपर्छ ।’ जिल्लामा माघ १५ गतेसम्म विद्यालय बन्द भने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार